हामीलाई हाम्रो मातृभूमि देऊ

ट्रम्पका शुभचिन्तकले अपेक्षा गरेझैँ उनको ‘मास डिपोर्टेसन’को नीति नै अलोकप्रिय छ भने ज्यादा ट्याक्सका कारण मूल्यवृद्धि आकासिँदो छ र रोजगारी उनको अपेक्षा विपरीत घटिरहेको छ।

'अमेरिका फस्ट' को नारा बोकेर दोस्रो पटक राष्ट्रपति बनेका डोनल्ड ट्रम्पको साम्राज्यवादी हैकम अहिले मैमत्त अवस्थामा छ। भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नीको नाटकीय अपहरणपछि मूकदर्शक बनेर हेरिरहेको विश्व जगतलाई धम्क्याउने ट्रम्पको रवैया प्रतिदिन अझै चिन्तालाग्दो अवस्थातर्फ बढिरहेको छ। उनको अन्तिम बिसौनी कहाँ हो, कुनै टुङ्गो छैन। ट्रम्प आफ्नो अहंकारी साम्राज्य बिस्तारको यस्तो ड्राइभिङ सिटमा बसिरहेका छन्, जसको कुनै ब्याक गियर छैन।

उनको यो उक्साहटलाई थप प्रोत्साहित गरिरहेकी छन्, भेनेजुएलाकि विपक्षी नेता एवम् नोबेल शान्ति पुरस्कार विजेता 'मारिया कोरिना मचाडो'। हुन त उनले नोबेल पुरस्कार पाएपछि नै कतिपय टिप्पणीकारले शान्ति पुरस्कारलाई 'युद्ध पुरस्कार' नामकरण गरिनु उचित हुन्छ भन्दै व्यङ्ग्य नकसेका होइनन्। उक्त व्यङ्ग्यको पुष्टि अहिले आएर स्वयं विजेता मारियाले गरिदिएकी छन्। आफ्नो कथित नोबल शान्ति पुरस्कार ट्रम्पलाई हस्तान्तरण गर्दै उनले भनेकी छन्, "यो पदक भेनेजुएलाका जनताका तर्फबाट हाम्रो स्वतन्त्रताका लागी ट्रम्पले गरेको प्रतिबद्धता र साहसिक कदमका लागि प्रदान गरेकी हुँ।" नोबेल शान्ति नामको पुरस्कारमा विगत केही वर्षदेखि आँखा गाडिरहेका ट्रम्प अवैधानिक पुरस्कार हस्तान्तरणबाट अझै हौसिएका छन्। उनै अधैर्य ट्रम्प यति बेला ग्रिनल्यान्ड कब्जा गर्न आफ्नो सम्पूर्ण सामर्थ्य खर्च गरिरहेका छन्। 

एउटा यस्तो अर्ध-सार्वभौमिक देश, जसको जनसंख्या ५७ हजार आसपास छ, जुन देशको ८० प्रतिशत भूभाग बरफका ठुलाठुला डल्लाले ओगटेको छ, जहाँ उब्जाउयोग्य जमिन छैन, पेट्रोलियम पदार्थको सम्भावना खुलेर आइसकेको छैन। त्यहाँ के खोजिरहेको छ त अमेरिका? ट्रम्प र विश्वका शक्तिशाली राष्ट्रहरूको वक्रदृष्टि ग्रिन ल्यान्डमाथि पर्नुको एउटा कारण हो-ग्रिन ल्यान्डको भू-अवस्थिति, जसले विश्व राजनीतिलाई तरंगित गरिरहेको छ।

ग्रिनल्यान्ड आर्कटिक महासागर र उत्तरी एट्लान्टिक महासागरको बीचमा अवस्थित विश्वको सबैभन्दा ठूलो द्वीप हो।  भौगोलिक अवस्थितिले अमेरिकी महादेशमा यो अवस्थित भए पनि युरोपेली देश डेनमार्कको स्वायत्त राज्यको रूपमा रहेको छ ग्रिनल्यान्ड।  यसको उत्तरी भाग आर्कटिक महासागरले घेरिएको छ, जहाँ वर्षको अधिकांश समय समुद्री बरफ जमेको हुन्छ। यसको पूर्वी भागमा ग्रिनल्यान्ड छ, जसले आर्कटिक महासागरलाई उत्तर एटलान्टिक महासागरसँग जोड्छ र यो नर्वेको स्वालबर्डसम्म फैलिएको छ। स्लाबर्ड सन्धि १९२० ले सन्धिमा हस्ताक्षर गरेका (हालसम्म ४८ देशले हस्ताक्षर गरेका छन्) राष्ट्रहरूको स्लाबर्डको भूगोल र यसको पानीमा सबै राष्ट्रको समान हक र अधिकारको व्यवस्था गरेको छ।

उक्त सन्धिको अनुच्छेद २ ले यो सन्धिमा हस्ताक्षर गर्ने राज्यका जनता र जहाजहरूको स्लाबर्डमा स्वतन्त्र आवागमन सुनिश्चित गरेको छ भने माछा मार्ने र सिकार गर्ने अधिकार पनि सबैलाई  समान दिएको छ। नर्वेले वातावरण र जङ्गली जनावरहरूको संरक्षण गर्नका लागि नियमहरू लागू गर्न सक्छ, तर यी नियमहरू सबै राष्ट्रमा समान रूपले लागू हुनुपर्छ। अनुच्छेद ३ ले सन्धिमा सम्बद्ध सबै राष्ट्रहरूको बराबरको अधिकारमाथि प्रकाश पार्दै भनेको छ-सन्धि का सबै देशका नागरिकहरूले स्लाबर्डको पानी, खाडी र बन्दरगाहहरूमा पहुँच र प्रवेश पाउनेछन्, त्यस्तै भू र जल, खानी र उत्खननमा पनि सबैलाई  समान अधिकार दिएको छ, कसैलाई विशेषाधिकार दिएको छैन। यसैले स्लाबर्ड क्षेत्र वैज्ञानिक अनुसन्धान तथा रणनीतिक निगरानीका लागि महत्त्वपूर्ण क्षेत्रको रूपमा प्रयोग भइरहेको छ।

ग्रिनल्यान्डको  पश्चिमी भागमा बाफिन खाडी छ, जसले ग्रिनल्यान्डलाई क्यानडाको बाफिन क्षेत्रसँग जोड्छ। यही बाफिन खाडी दक्षिणतर्फ डेभिस स्ट्रेटमार्फत लाब्राडोर सागरमा मिसिन्छ। बाफिन खाडी नर्थवेस्ट प्यासेजको 'प्रवेशद्वार' हो,  जसले एटलान्टिक महासागरसँग प्यासिफिक महासागरको प्रत्यक्ष सम्बन्ध स्थापित गर्छ। अमेरिका, युरोप र एसियाबीचको व्यापारका लागि यो क्षेत्र एकदमै महत्त्वपूर्ण छ। यसले पानामा वा सुएज नहरहरूको तुलनामा युरोप/उत्तरी अमेरिका र एसिया बीच छोटो आर्कटिक मार्ग प्रदान गर्छ। यो मार्ग ग्रिनल्यान्डको बाफिन खाडी हुँदै जाने भएकाले ग्रिनल्यान्ड सामुन्द्रिक व्यापारका लागि महत्त्वपूर्ण स्थान बनेको छ। 

ग्रिनल्यान्डको अधिकांश क्षेत्र र अधिकांश समुन्द्री मार्ग बरफले ढाकेको छ। तर मौसम परिवर्तनसँगै तीव्र गतिमा यी बरफका ढिक्का पग्लिन थालेका छन्। संयुक्त राष्ट्रसंघको २०२४ मा प्रकाशित रिपोर्ट अनुसार ग्रिनल्यान्डमा प्रति सेकेन्ड २.५ मिलियन लिटर बरफ पानी बनेर बग्छ। अर्थात् प्रति मिनेट १५ मिलियन लिटर, प्रति घण्टा ९ हजार मिलियन लिटर र प्रति दिन २१६ मिलियन लिटर बरफ पानी बनेर बगिरहेको छ। मौसम परिवर्तनको असर हो यो। तैपनि भविष्यमा पुँजीवादी विकसित देशहरूलाई नयाँ समुन्द्री मार्ग र सुलभ व्यापारिक स्थान प्रदान गर्ने  र व्यापारिक मुनाफा कमाउने सम्भावित व्यापारिक केन्द्रका रूपमा ग्रिनल्यान्ड उभिएको छ। र, भविष्यको यही फाइदाको लागि अमेरिका ग्रिनल्यान्डलाई कब्जा गर्न चाहन्छ। 

ट्रम्पको ग्रिनल्यान्ड कब्जा गर्ने अधैर्यताको दोस्रो कारण हो, ग्रिनल्यान्डमा रहेका तेल तथा खनिज पदार्थहरूको सम्भाव्यता। युएस ज्योलोजिकल सर्भे २०१९ ले पूर्वी ग्रिनल्यान्डको रिफ्ट बेसिन प्रान्तमा ३१.४ बिलियन बराबरको तेल तथा प्राकृतिक ग्याँसका तरल पदार्थ रहेको अनुमान गरेको छ। ग्रिन ल्यान्डमाथि अमेरिकी आँखा पर्नुको अर्को कारण हो यो सम्भाव्यता।अमेरिकाको ‘पेट्रो पोलिटिक्स’सँग विश्व परिचित छँदैछ। यति मात्र होइन, रेअर अर्थ एलिमेन्ट्स (आरइइ) को ठुलो भन्डार ग्रिनल्यान्डको बरफमुनि रहेको छ। छत्तीस मिलियन टन आरइइको सम्भाव्य भन्डारको अनुमान छ यहाँ।

युरेनियम, यट्रियम, स्क्यान्डियम, नियोडिमियम र डिसप्रोसियम सहितको भन्डार ग्रिनल्यान्डमा रहेको भएता पनि यिनीहरू उत्खनन हुन पाएका छैनन्। हाइ टेक इन्डस्ट्रीका लागि नभै नहुने यस्ता दुर्लभ खनिज पदार्थहरू चीनले निर्यात गर्दै आएको छ। 'ग्लोबल क्यापिटलिस्ट मार्केट’मा चीनसँग  प्रतिस्पर्धी रहेको अमेरिका यस्ता दुर्लभ खनिज पदार्थले भरिपूर्ण छैन। यसर्थ, आफ्नो भूमिबाट नजिक, एउटै महादेशमा अवस्थित, न्यून जनसंख्या, ठुलो भूभाग, आफ्नो सेना नभएको र विश्व राजनीतिमा शून्यजस्तै उपस्थिति रहेको, खनिज र तेलजन्य पदार्थको प्रचुर सम्भाव्यता बोकेको ग्रिनल्यान्डमा आफ्नो पकड चाहन्छ अमेरिका। 

अमेरिकाले ग्रिनल्यान्ड चाहनुको तेस्रो कारण, जसलाई ट्रम्पले एक मात्र कारणका रूपमा सयौँ पटक दाबी गरिरहेका छन्–ग्रिनल्यान्डमा बढ्दो चिनियाँ र रुसी प्रभाव। उनी भन्छन्, "हामीलाई राष्ट्रिय सुरक्षा र अन्तर्राष्ट्रिय सुरक्षाको लागि पनि ग्रिनल्यान्ड चाहिन्छ। यदि हामीले ग्रिनल्यान्ड लिएनौ भनेँ चीन र रुसले ग्रिनल्यान्ड लिनेछन्, जुन म हुन दिने छैन।" करिब ५३ प्रतिशत आर्कटिक कोस्टलाइनको हिस्सा रुससँग जोडिएको छ। रुसको आर्कटिक क्षेत्रमा ४० प्रतिसतभन्दा बढी मुख्य सैन्य क्षेत्र छन्, जसमा हवाई अड्डा, राडार स्टेसन, नौसैनिक बन्दरगाह र सैन्य टुकडीहरू समावेश छन्।

रुसको आर्क्टिक तटीय क्षेत्रलाई सशस्त्र र संरक्षित रणनीतिक क्षेत्र बनाएको छ। एस-४०० हवाई रक्षा प्रणाली, ओनिक्स मिसाइल र हाइपरसोनिक जिरकोन मिसाइलले हवाई, नौसैनिक र तटीय सुरक्षा सुनिश्चित गर्दै अमेरिकालाई रणनीतिक चुनौती थपिरहेको छ। त्यस्तै, प्रत्यक्ष रूपमा आर्क्टिक कोस्टलाइनसँग नजोडिएको चीनले पनि आर्थिक लगानी, खानी उत्खनन तथा पूर्वाधार विकासमा लगानी गर्न खोज्दै ग्रिन ल्यान्डमाथि आफ्नो दबदबा बनाउन खोजिरहेको छ। दुर्लभ खनिज पदार्थले धनी, आर्क्टिक समुन्द्री मार्गको मुख्य क्षेत्रलाई आफ्नो प्रभावमा पारी चीनले पोलर सिल्क रूटमार्फत् एसिया, युरोप र अमेरिकासँग व्यापार मात्र नगरी यी देशहरूमा आफ्नो दबदबा बढाउने र निगरानी राख्ने खतरालाई अमेरिकाले चुनौतीको रूपमा हेरिरहेको छ। जसको सामना गर्न पनि ग्रिनल्यान्डलाई आफ्नो बनाउन अमेरिकाले आवश्यक देखेको हुन सक्छ। 

ग्रिनल्यान्डको भूराजनीतिक अवस्थितिले यो क्षेत्र हात पर्नेहरूलाई पुँजीवादी विश्वको केन्द्रमा पुनः स्थापित गराउन मद्दत पुग्नेछ। यसको भूगोल, बढ्दो तापक्रममा पग्लिँदो हिउँ, साधन स्रोतको उपलब्धता र कमजोर राजनीतिक स्थितिले विश्वका पुँजीवादी राष्ट्रहरूलाई ग्रिनल्यान्ड भूमि आफ्नो  शक्ति प्रदर्शन गर्ने स्थलको रूपमा परिणत हुने जोखिम बढिरहेको छ। एकातिर ट्रम्पले हर हालतमा ग्रिनल्यान्ड हत्याउने अडान र नेटो आबद्ध राष्ट्रहरूलाई धम्कीको भाषा बोलिरहेका छन् भने डेनमार्कलगायत युरोपियन देशका नागरिक ग्रिनल्यान्डको पक्षमा- ग्रिनल्यान्ड बिक्रीमा छैन भन्दै प्रदर्शनमा ओर्लिएका छन्। यही विषयलाई लिएर ट्रम्पले युरोपेली मुलुकलाई १० प्रतिशत कर लगाएका छन्, जुन बढेर केही महिनाभित्रै २५ प्रतिशत पुग्नेछ। युरोपले प्रतिवादमा यसअघि नै सैन्य जहाजहरू संयुक्त रूपले ग्रिनल्यान्ड पठाइसकेका छन्। 

"हामी अमेरिकी बन्न चाहँदैनौँ, हामी डेन (डेनमार्कका नागरिक) बन्न चाहँदैनौँ, हामी ग्रीनल्यान्डवासी बन्न चाहन्छौँ। ग्रीनल्यान्डको भविष्यको निर्णय ग्रीनल्यान्डकै जनताले गर्नुपर्छ।," ग्रिनल्यान्ड सरकार र राजनीतिक पार्टीहरूले संयुक्त रूपमा यसो भनिरहँदा भूराजनीतिको महत्त्वपूर्ण भूभाग बनेको ग्रिनल्यान्डमा युद्धको सन्त्रास बढ्दो छ। 

अबको विश्व राजनीतिको शक्तिकेन्द्रमा को आउँछ?
के ग्रिनल्यान्डको स्वायत्तताका लागि नेटो राष्ट्रहरू एक हुन्छन् वा ग्रिनल्यान्डका लागि नेटो राष्ट्रभित्रै ‘फुट र लुट’ को अभ्यास सुरु होला, जसले सम्भावित परिणतिका रूपमा तेस्रो विश्वयुद्धलाई जन्म दिनेछ। अमेरिकाले जबरजस्ती ग्रिन ल्यान्डमाथि आफ्नो आधिपत्य कायम गरेमा लामो आर्क्टिक कोस्टलाइन भएको र भावी आर्क्टिक समुन्द्री व्यापारमा बलियो पकड बनाउन सक्ने रुस र यसको खनिजमाथि लगानी गर्न खोजिरहेको चीनले कसरी ‘रियाक्ट’ गर्लान्?

के पुनः नष्ट हुनेछ एउटा आदिवासी इनुइट सभ्यता? यी प्रश्नहरू अझै अनुत्तरित छन्। आफ्नो चरम अराजनीतिक, सन्काहा र अविश्वसनीय छविका साथ मिनियापोलिस र मिनिसोटामा झन्डै आन्तरिक गृहयुद्ध चर्काइरहेका ट्रम्प हिट्लरको फासिवादी सेनाजस्तो मखुन्डोधारी अध्यागमन तथा भन्सार प्रवर्तन (आइस) मार्फत आफ्ना विरोधी राज्यमा परिचालन गरिरहेका छन्। भर्खरै आइसको गोली प्रहारबाट एक अमेरिकी नागरिक श्वेत महिलाको मृत्यु भएपछि ट्रम्पलाई आलोचकहरू मात्रै होइन, उनका अति प्रिय र कन्जरभेटिभमाझ अत्यन्त लोकप्रिय पोडकास्टर जो रोगन समेतले कडा आलोचना गरिरहेका छन्।

आइसको गतिविधि हिट्लरको गेस्टापो जस्तै भएको उनको टिप्पणीले अब डेमोक्र्याटमात्रै होइन, कन्जरभेटिभ र रिपब्लिकन खेमामै उनीमाथि आलोचना बढ्ने निश्चित छ। भर्खरैका पोलिङहरूमा ट्रम्प अलोकप्रिय देखिएका मात्रै छैनन्, उनी र उनका शुभचिन्तकले अपेक्षा गरेजस्तो उनको 'मास डिपोर्टेसन'को नीति नै अलोकप्रिय छ भने धेरै ट्याक्सका कारण मूल्यवृद्धि  आकासिँदो छ र रोजगारी उनको अपेक्षा विपरीत घटिरहेको छ।

उता न्युयोर्कजस्तो राज्यमा जोह्रान ममदानी र अरू  केही राज्यमा भएको जितबाट उत्साहित डेमोक्र्याटहरूले आगामी नोभेम्बरमा हुने मिडटर्म इलेक्सनमा ट्रम्पलाई पराजित गर्दै काङ्ग्रेसले आफ्नो बहुमत सिद्ध गरेर उनलाई महाभियोग लगाउने र बिथोलिएको लोकतान्त्रिक संरचनालाई पुनः ट्र्याकमा फर्काएर २०२८ को  राष्ट्रपतीय चुनाव जित्ने लक्ष्य राखेका छन्। तिनले सोचे अनुसार नै भए सम्भवतः क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसम अमेरिकाको भावी राष्ट्रपति हुनेछन् र ट्रम्पले बिथोलिदिएको अमेरिका ट्र्याकमा आउनेछ। तर ट्रम्पभन्दा अझ कठोर तर कूटनीतिक र चतुर मानिएका जेडी भान्स राष्ट्रपति छानिए भने हालत के होला?  त्यस दुर्दशाको क्षति कति हुने  हो, अहिलेसम्म कसैले कल्पना गर्न सकिरहेको छैन।

ग्रिनल्यान्डको बाटो ट्याङ्क र मिसाइलको मैमत्त सवारीमा रहेको अमेरिकी सत्ता राजनीति  उन्नाइसौँ र बिसौँ शताब्दीजस्तै बर्बर साम्राज्यवादी युग फर्काउँदै बाँकी विश्वमा मडारिन्छ वा हामी कतैका होइनौँ भन्ने ग्रिनल्यान्डका जनताको पुकारलाई स्वागत गर्दै एक्काइसौँ शताब्दीको नयाँ लोकतान्त्रिक गन्तव्यतर्फ मोडिन्छ, त्यो हेर्न बाकी छ।

(उकोलोको विचार खण्डमा छापिएका सामग्री लेखकका निजी हुन्।)