रासायनिक मलको अभाव र चर्को मूल्यपछि पाल्पाका किसान ढैँचाखेतीतर्फ आकर्षित

समयमै रासायनिक मल नपाउने र माटोको उर्वराशक्ति घट्दै जाने समस्या बढेपछि पाल्पाका माडी फाँट क्षेत्रका किसानहरूले हरियो मल (ढैँचा) को प्रयोगलाई तीव्रता दिएका छन्।

पाल्पा– माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको विकल्पमा ढैँचा मलको प्रयोग गरी धान रोपाइँ गर्न थालेको तीन वर्ष पुग्यो।

समयमा मल नपाउने, पाए पनि ढुवानीको समस्या र चर्को मूल्य तिर्नुपरेपछि उनले खेतमा नै ढैँचा रोप्न र बाली लगाउने बेला यसैलाई मलका रूपमा प्रयोग गर्न थालेका हुन्। किसान विश्वकर्माले रासायनिक मलको विकल्पमा ढैँचा मल उत्तम रहेको बताए। उनले धान उत्पादनका लागि माटोमा चाहिने सम्पूर्ण पोषक तत्त्व ढैँचाले पूर्ति गर्ने भएकाले आफूले यसको नियमित प्रयोग गर्दै आएको जानकारी दिए।

माथागढी गाउँपालिका रुप्सेका किसान छवि थापाले पनि यस वर्ष ढैँचा लगाएको खेत जोतेर धान रोपाइँ गर्दैछन्। उनले रासायनिक मलको विकल्पमा केही वर्षयता हरियो मल अर्थात् ढैँचा प्रयोग गर्दै आएको सुनाए। ढैँचाबाट माटोको गुणस्तर सुध्रिन्छ भन्ने थाहा पाएपछि अन्नबाली लगाएका स्थानमा रासायनिक मल छर्न छोडेको उनले उल्लेख गरे।

“रासायनिक मलको विकल्पमा माटोको स्वास्थ्यका लागि ढैँचा लगाउँदै आएको छु”, उनले भने, “धान उत्पादनका लागि माटोमा चाहिने आवश्यक शक्ति यसैबाट पूरा हुँदो रहेछ।”

पूर्वखोलाका पुराना किसान ईश्वरी खनालले पनि रासायनिक मलको सट्टा हरियो मल ढैँचा नै प्रयोग गर्दै आएका छन्। उनी भन्छन्, “आफ्नो हातपाखुरामा बल हुँदासम्म बोरामा आउने रासायनिक मलको प्रयोग गर्दिनँ। अहिलेसम्म हरियो मलकै भरमा धानखेती गर्दै आएको छु, यसबाट उत्पादन पनि राम्रो हुन्छ।” उनले थपे, “यो कुनै नयाँ प्रयोग होइन। बाबुबाजेले ढैँचा मलकै प्रयोग गरेर अन्नपात उब्जाउँथे। रासायनिक मलको प्रवेश भएपछि यो विधि हराउँदै गएको थियो, अहिले पुनः प्रयोगमा ल्याउन थालिएको हो।”

बीउ छरेको २० देखि २५ दिनपछि तयार हुने ढैँचाको बोटलाई खेत हिल्याउने (हिलो बनाउने) क्रममै माटोमा मिसाइन्छ। यसरी मिसाइएको ढैँचाको बोट चारदेखि सात दिनमा कुहिएर उत्कृष्ट मल बन्दछ।

विश्वकर्मा, थापा र खनाल मात्र होइन, पछिल्लो समय जिल्लाका माडी फाँट क्षेत्रमा पर्ने केसेनी, रुप्से, माडीपोखराथोक, मदनपोखरा तथा तिनाउ गाउँपालिकाको दोभान र झुम्साका किसानले रैथाने हरियो मल ढैँचाको प्रयोग बढाएका छन्। रासायनिक मलको अभाव, माटोको उर्वराशक्ति संरक्षणको आवश्यकता तथा उत्पादन लागत घटाउने उद्देश्यले यहाँका किसान यो खेतीतर्फ आकर्षित भएका हुन्।

कृषि ज्ञान केन्द्र पाल्पाका कृषि अर्थविज्ञ मातिवर यादवका अनुसार ढैँचाखेतीले माटोमा जैविक पदार्थको मात्रा बढाउनुका साथै नाइट्रोजनको आपूर्ति गर्न मद्दत पुग्छ। "ढैँचाखेतीले वातावरण संरक्षणमा समेत योगदान पुर्‍याउने भएकाले यसको प्रयोग विस्तार गर्न आवश्यक छ," यादवले भने, "माटोको पीएच, नाइट्रोजन, फस्फोरस र पोटासको मात्रालाई ठीक ठाउँमा ल्याउनसमेत ढैँचाले मद्दत गर्छ।"

धान रोपाइँअघि खेतमा ढैँचा लगाई केही समयपछि जोतेर माटोमा मिसाउँदा माटोको गुणस्तर सुधार हुने र बाली उत्पादनमा सकारात्मक प्रभाव पार्ने भएकाले किसानहरू सजिलै यसतर्फ आकर्षित भएका हुन्।

दोभानका किसान शिशिर खनालका अनुसार रासायनिक मलको बढ्दो मूल्य र समयमै उपलब्ध नहुने समस्याका कारण वैकल्पिक उपायका रूपमा ढैँचाखेती प्रभावकारी बन्दै गएको छ। “ढैँचा प्रयोग गरेपछि माटो खुकुलो हुने र धानको उत्पादन राम्रो भएको अनुभव हामीले गरेका छौँ”, उनले भने।

हाल कृषि ज्ञान केन्द्रका प्राविधिकहरूले माटो परीक्षण, ढैँचाखेतीको महत्त्वबारे किसानलाई स्थलगत प्रशिक्षण तथा प्रोत्साहन कार्यक्रम सञ्चालन गरिरहेका छन्।