हाम्रा ज्येष्ठ नागरिकको खुशी र समृद्धि

ज्येष्ठ नागरिकको सम्मान र सुरक्षा आजको राज्य र समाजको उत्तरदायित्व र सभ्यता नाप्ने सूचक हो। ज्येष्ठ नागरिक दुर्व्यवहारविरुद्ध विश्वभर चेतना दिवस मनाइरहँदा एकपल्ट हामी यसमै घोत्लिने कि?

हरेक वर्ष जुन १५ (असार १) मा  विश्वभर ज्येष्ठ नागरिक दुर्व्यवहार विरुद्ध चेतना दिवस मनाइन्छ। यस वर्ष, सन् २०२६ का लागि अन्तर्राष्ट्रिय नारा ‘बियोन्ड अवेरनेसः मेकिङ एल्डर अब्युज प्रिभेन्सन वर्क’ र नेपालले तय गरेको राष्ट्रिय नारा ‘दुर्व्यवहार विरुद्ध सचेतनाको अभिवृद्धि: ज्येष्ठ नागरिकका लागि खुशी र समृद्धि’ रहेको छ। यो दिवस औपचारिक कार्यक्रम गर्ने अवसर मात्र नभई समाजमा बढ्दो ज्येष्ठ नागरिक दुर्व्यवहार, उपेक्षा र असुरक्षाका विषयमा गम्भीर समीक्षा गर्ने अवसर पनि हो।

नेपालमा ज्येष्ठ नागरिकको संख्या तीव्र गतिमा बढिरहेको छ। राष्ट्रिय जनगणना २०७८ अनुसार ६० वर्ष वा सोभन्दा माथिका नागरिकको संख्या करिब २९ लाख पुगेको छ। यो कुल जनसंख्याको झन्डै १० प्रतिशत हो। औसत आयु वृद्धि, स्वास्थ्य सेवामा सुधार तथा जनसंख्याको संरचनागत परिवर्तनका कारण आगामी दशकहरूमा यो अनुपात अझ बढ्ने अनुमान गरिएको छ। यसले नेपाललाई क्रमशः वृद्ध समाजतर्फ उन्मुख गरिरहेको संकेत गर्छ।

चुनौतीपूर्ण जीवन बाँचिरहेका ज्येष्ठ नागरिक
ज्येष्ठ नागरिक समाजका अनुभव, ज्ञान र संस्कृतिका जीवित भण्डार हुन्। उनीहरूले परिवार, समाज र राष्ट्र निर्माणमा महत्त्वपूर्ण योगदान दिएका हुन्छन्। विडम्बना, जीवनको उत्तरार्धमा धेरै ज्येष्ठ नागरिकहरू आर्थिक, सामाजिक र मनोवैज्ञानिक समस्यासँग जुध्न बाध्य छन्। परम्परागत संयुक्त परिवार प्रणाली कमजोर हुँदै जानु, वैदेशिक रोजगारी र शहरीकरणका कारण परिवारका सदस्यहरू टाढिनु तथा सामाजिक मूल्य–मान्यतामा आएको परिवर्तनले ज्येष्ठ नागरिकको जीवनमा नयाँ चुनौती थपेको छ।

नेपालका धेरै ज्येष्ठ नागरिक एक्लोपन, स्वास्थ्य समस्या, आर्थिक असुरक्षा र पारिवारिक उपेक्षाबाट पीडित छन्। कतिपय अवस्थामा उनीहरू शारीरिक, मानसिक, भावनात्मक तथा आर्थिक दुर्व्यवहारको शिकार भइरहेका छन्। सम्पत्तिका विषयमा दबाब, अपमानजनक व्यवहार, हेरचाहको अभाव, सामाजिक बहिष्करण र निर्णय प्रक्रियाबाट अलग गरिनु पनि दुर्व्यवहारकै स्वरूप हुन्। यस्ता घटना प्रायः सार्वजनिक हुँदैनन्, किनभने पीडितहरू आफ्नै परिवार वा नजिकका व्यक्तिसँग सम्बन्धित विषय उजागर गर्न हिचकिचाउँछन्।

विशेषगरी ग्रामीण क्षेत्रका ज्येष्ठ नागरिकले स्वास्थ्य सेवा प्राप्त गर्न कठिनाइ भोगिरहेका छन्। उमेरजन्य रोगहरूको उपचार, नियमित स्वास्थ्य परीक्षण, मानसिक स्वास्थ्य सेवा तथा दीर्घकालीन स्याहार केन्द्रहरूको अभाव अझै गम्भीर समस्या बनेको छ। अर्कोतर्फ, सामाजिक सुरक्षा भत्ता ज्येष्ठ नागरिकको जीवनयापनमा महत्त्वपूर्ण आधार बनेको भए पनि बढ्दो महँगीका कारण यसको प्रभावकारितामाथि प्रश्न उठ्ने गरेको छ।

नेपाल सरकारले ज्येष्ठ नागरिक ऐन, २०६३ तथा विभिन्न नीतिहरूमार्फत ज्येष्ठ नागरिकको अधिकार संरक्षण गर्ने प्रयास गरेको छ। संविधानले पनि सामाजिक सुरक्षाको हक सुनिश्चित गरेको छ। तथापि कानूनी व्यवस्था र व्यवहारिक कार्यान्वयनबीच अझै ठूलो दूरी देखिन्छ। धेरै स्थानीय तहमा ज्येष्ठ नागरिकमैत्री पूर्वाधार, सेवा तथा कार्यक्रमहरू पर्याप्त रूपमा विकास हुन सकेका छैनन्।

विशेष ध्यान दिनुपर्ने अर्को पक्ष भनेको सबै ज्येष्ठ नागरिकको अवस्था समान छैन भन्ने यथार्थ हो। दलित, महिला, अपाङ्गता भएका व्यक्ति, आदिवासी जनजाति, मधेशी, थारु, मुस्लिम तथा अन्य सीमान्तकृत समुदायका ज्येष्ठ नागरिकले उमेरजन्य समस्यासँगै सामाजिक, आर्थिक तथा सांस्कृतिक विभेदका कारण थप चुनौती सामना गरिरहेका छन्। जीवनभर भोगेको गरिबी, भूमिहीनता, शैक्षिक अवसरको अभाव, सामाजिक बहिष्करण तथा सेवामा पहुँचको प्रभाव वृद्धावस्थामा अझ गम्भीर रूपमा देखिने गर्दछ।

विशेषगरी ज्येष्ठ महिलाको अवस्था धेरै संवेदनशील छ। नेपालको सामाजिक संरचनामा महिलाले जीवनभर पारिवारिक जिम्मेवारी निर्वाह गरे पनि वृद्धावस्थामा आर्थिक स्रोतमा सीमित पहुँच, सम्पत्तिमाथिको कमजोर अधिकार, एकल जीवन, विधवापन तथा स्वास्थ्य समस्याका कारण बहुआयामिक असुरक्षा भोग्नुपरेको छ। धेरै ज्येष्ठ महिलाले पारिवारिक निर्णय प्रक्रियाबाट अलग गरिनु, भावनात्मक उपेक्षा तथा आर्थिक निर्भरताको अवस्था सामना गरिरहेका छन्।

त्यसैगरी दलित ज्येष्ठ नागरिकले उमेरजन्य कठिनाइसँगै सामाजिक विभेद र बहिष्करणको दोहोरो मार खेपिरहेका छन्। स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा तथा न्यायमा पहुँचका अवसरहरू समान रूपमा प्राप्त नहुँदा उनीहरूको जीवनस्तरमा प्रत्यक्ष असर परेको देखिन्छ। आदिवासी जनजाति तथा दुर्गम क्षेत्रमा बसोबास गर्ने ज्येष्ठ नागरिकहरू भाषिक, भौगोलिक तथा सांस्कृतिक कारणले पनि राज्यका सेवाबाट पूर्ण लाभ लिन नसक्ने अवस्थामा रहेका छन्।

अपाङ्गता भएका ज्येष्ठ नागरिकको अवस्था अझ चुनौतीपूर्ण छ। उमेरसँगै बढ्ने शारीरिक कमजोरी र अपाङ्गताका कारण उनीहरूलाई स्वास्थ्य सेवा, सार्वजनिक यातायात, सूचना तथा सार्वजनिक पूर्वाधारमा पहुँच प्राप्त गर्न कठिनाइ हुने गर्दछ। यस्तो अवस्थामा ज्येष्ठ नागरिकमैत्री तथा अपाङ्गतामैत्री नीति र संरचनाको एकीकृत विकास अपरिहार्य देखिन्छ।

केही महत्त्वपूर्ण नीतिगत सवाल 
पहिलो, नेपालले तीव्र रूपमा बढिरहेको वृद्ध जनसंख्यालाई ध्यानमा राखी राष्ट्रिय ज्येष्ठ नागरिक नीतिलाई समयानुकूल पुनरवलोकन गर्नुपर्छ। वृद्धजनको संख्या, अवस्था र आवश्यकताबारे नियमित तथ्यांक संकलन तथा अनुसन्धानलाई प्राथमिकता दिनु जरुरी भइसकेको छ।

दोस्रो, ज्येष्ठ नागरिकमैत्री स्वास्थ्य प्रणाली विकास गर्न आवश्यक छ। प्रत्येक स्थानीय तहमा जेरियाट्रिक (ज्येष्ठ नागरिक) स्वास्थ्य सेवा, घरमै पुग्ने स्वास्थ्य सेवा तथा मानसिक स्वास्थ्य परामर्शको व्यवस्था बिस्तार गर्नुपर्छ।

तेस्रो, सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरण आवश्यक छ। सामाजिक सुरक्षा भत्तालाई जीवनयापनको वास्तविक लागतसँग जोडेर समयानुकूल पुनरवलोकन गर्नुपर्छ। साथै, पेन्सनविहीन तथा आर्थिक रूपमा कमजोर ज्येष्ठ नागरिकका लागि अतिरिक्त सहयोग कार्यक्रम सञ्चालन गर्नुपर्छ।

चौथो, दुर्व्यवहार रोकथाम र न्यायमा पहुँच सुनिश्चित गर्नुपर्छ। प्रत्येक स्थानीय तहमा उजुरी तथा परामर्श संयन्त्र स्थापना गरी ज्येष्ठ नागरिकमाथि हुने हिंसा र दुर्व्यवहारका घटनाको प्रभावकारी सुनुवाइ गर्नुपर्छ। प्रहरी, न्यायिक निकाय तथा सामाजिक कार्यकर्तालाई यस विषयमा विशेष प्रशिक्षण दिनु आवश्यक छ।

पाँचौँ, सक्रिय वृद्धावस्थालाई प्रोत्साहन गर्नुपर्छ। ज्येष्ठ नागरिकलाई समाजका निष्क्रिय सदस्यका रूपमा होइन, अनुभव र ज्ञानका स्रोतका रूपमा हेर्ने दृष्टिकोण विकास गर्नुपर्छ। स्वयंसेवा, सामाजिक सहभागिता, सीप हस्तान्तरण र अन्तर पुस्ता संवादका कार्यक्रम बिस्तार गरिनुपर्छ।

छैटौँ, ज्येष्ठ नागरिकमैत्री सार्वजनिक पूर्वाधार निर्माणमा विशेष ध्यान दिनुपर्छ। सडक, यातायात, स्वास्थ्य संस्था, सार्वजनिक कार्यालय र सार्वजनिक स्थलहरू पहुँचयुक्त तथा सुरक्षित बनाइनुपर्छ।

सातौँ, समावेशी वृद्धावस्थाको अवधारणालाई व्यवहारमा कार्यान्वयन गर्नुपर्छ। दलित, महिला, अपाङ्गता भएका, आदिवासी जनजाति, मधेशी, थारु, मुस्लिम तथा अन्य सीमान्तकृत समुदायका ज्येष्ठ नागरिकहरूको विशिष्ट आवश्यकता पहिचान गरी लक्षित कार्यक्रम सञ्चालन गर्नुपर्छ। नीति निर्माण, योजना तर्जुमा तथा सेवा प्रवाहमा उनीहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गरिनुपर्छ।

आठौँ, ज्येष्ठ नागरिक अधिकारको पैरवी र प्रतिनिधित्वलाई सुदृढ बनाउन आवश्यक छ। स्थानीय, प्रदेश तथा संघीय तहमा ज्येष्ठ नागरिकका संगठन तथा सञ्जालहरूको क्षमता अभिवृद्धि गरी नीति निर्माण प्रक्रियामा उनीहरूको आवाजलाई संस्थागत रूपमा समावेश गर्नुपर्छ। विशेष गरी सीमान्तकृत समुदायका ज्येष्ठ नागरिकहरूको प्रतिनिधित्व सुनिश्चित गर्दै उनीहरूका सरोकारलाई सार्वजनिक बहस र सरकारी प्राथमिकतामा स्थान दिनुपर्छ।

विश्व ज्येष्ठ नागरिक दुर्व्यवहार विरुद्ध चेतना दिवसले हामी सबैलाई एउटा महत्त्वपूर्ण प्रश्न सोधिरहेको छ। के हामीले आफ्ना ज्येष्ठ नागरिकलाई सम्मानित, सुरक्षित र मर्यादित जीवन बाँच्ने वातावरण दिन सकेका छौं? यदि छैनौं भने अब समय केवल सचेतना फैलाउने मात्र होइन, त्यसलाई व्यवहार र नीतिमा रूपान्तरण गर्ने हो।

ज्येष्ठ नागरिकप्रति सम्मान हाम्रो संस्कृतिको आधारभूत मूल्य हो। तर सम्मान केवल शब्दमा होइन, व्यवहार, नीति र कार्यक्रममार्फत अनुभूत हुनुपर्छ। यो परिवार, समुदाय, नागरिक समाज, सञ्चार माध्यम र राज्य सबैको साझा दायित्व हो। ज्येष्ठ नागरिकमाथि हुने हरेक प्रकारका दुर्व्यवहार अन्त्य गर्दै उनीहरूलाई सुरक्षित, स्वस्थ, सम्मानित र सक्रिय जीवन सुनिश्चित गर्नुपर्छ।

‘दुर्व्यवहार विरुद्ध सचेतनाको अभिवृद्धि : ज्येष्ठ नागरिकका लागि खुशी र समृद्धि’ भन्ने राष्ट्रिय नारालाई सार्थक बनाउन हामी सबैले आ–आफ्नो तहबाट जिम्मेवारी निर्वाह गर्नुपर्छ। सचेतना, संवेदनशीलता र प्रभावकारी कार्यान्वयनको माध्यमबाट मात्र ज्येष्ठ नागरिकमैत्री समाज निर्माण सम्भव छ। यही नै विश्व ज्येष्ठ नागरिक दुर्व्यवहार विरुद्ध चेतना दिवस २०८३ को मुख्य सन्देश हो।

आजको युग सूचना तथा सञ्चार प्रविधिको युग हो। प्रविधिको तीव्र विकासले मानव जीवनलाई सहज, सरल र प्रभावकारी बनाएको छ। यस्तो अवस्थामा ज्येष्ठ नागरिकले पनि आधुनिक प्रविधिबाट टाढा रहने होइन, बरु यसलाई आत्मसात् गर्दै नयाँ ज्ञान हासिल गर्ने र आफ्नो जीवनलाई थप सक्रिय, सुरक्षित तथा अर्थपूर्ण बनाउने अवसर प्राप्त गर्न सक्छन्।

आधुनिक प्रविधि, जस्तै स्मार्टफोन, कम्प्युटर, इन्टरनेट, सामाजिक सञ्जाल, भिडियो कल, अनलाइन बैंकिङ तथा डिजिटल स्वास्थ्य सेवाले ज्येष्ठ नागरिकको दैनिक जीवनलाई सहज बनाएको छ। यी माध्यमहरूको प्रयोगबाट उनीहरूले देश–विदेशमा रहेका आफ्ना परिवारजन र साथीभाइसँग नियमित सम्पर्क राख्न सक्छन्, समाचार तथा जानकारी प्राप्त गर्न सक्छन्, नयाँ सीप सिक्न सक्छन् र आफ्नो अनुभव तथा ज्ञान अरूसँग बाँड्न सक्छन्।

सक्रिय जीवनका लागि शारीरिक र मानसिक दुवै पक्षको सन्तुलन आवश्यक हुन्छ। स्वास्थ्य निगरानी गर्ने मोबाइल एप, अनलाइन चिकित्सक परामर्श, व्यायाम तथा योगसम्बन्धी डिजिटल सामग्रीले ज्येष्ठ नागरिकलाई स्वस्थ र सक्रिय रहन प्रेरित गर्दछ। यसले उनीहरूलाई आत्मनिर्भर, सचेत र समयानुकूल बनाउँछ।

आधुनिक प्रविधि केवल सुविधा प्राप्त गर्ने माध्यम मात्र नभई जीवनभर सिकाइ, ज्ञान अभिवृद्धि, सामाजिक सहभागिता र सक्रिय वृद्धावस्थाको महत्त्वपूर्ण आधार हो। ज्येष्ठ नागरिकले प्रविधिसँग मित्रता गर्दै नयाँ ज्ञान हासिल गर्ने, समाजसँग जोडिइरहने र सक्रिय जीवनयापनका लागि सधैँ तत्पर रहने हो भने उनीहरूको जीवन अझ सुखी, सम्मानित र गरिमामय बन्न सक्छ।

ज्येष्ठ नागरिकसम्बन्धी कुनै पनि नीति वा कार्यक्रम सफल हुनका लागि ‘एकै उपाय सबैका लागि’ भन्ने सोच पर्याप्त हुँदैन। विभिन्न सामाजिक, आर्थिक, लैङ्गिक, जातीय तथा भौगोलिक पृष्ठभूमिका ज्येष्ठ नागरिकहरूको आवश्यकता फरक–फरक हुने भएकाले समावेशी दृष्टिकोण अवलम्बन गर्न आवश्यक छ। सम्मानित वृद्धावस्था सुनिश्चित गर्ने अभियान तब मात्र सफल हुन्छ जब समाजका सबै वर्गका ज्येष्ठ नागरिकहरू— विशेषगरी दलित, महिला, अपाङ्गता भएका, आदिवासी जनजाति तथा अन्य सीमान्तकृत समुदायका ज्येष्ठ नागरिकहरूले समान अवसर, समान पहुँच र समान सम्मानको अनुभूति गर्न सक्ने अवस्था सिर्जना हुन्छ।

नेपालमा हाल मन्त्रालयगत संरचनाको नामबाट ज्येष्ठ नागरिक शब्द हटाइएको विषयमा पनि ज्येष्ठ नागरिक समुदायमा व्यापक चासो र बहस देखिएको छ। देशको जनसंख्याको करिब १० प्रतिशत हिस्सा ओगट्ने ज्येष्ठ नागरिक वर्गका समस्या, अधिकार र आवश्यकताहरू बहुआयामिक तथा विशिष्ट प्रकृतिका भएकाले उनीहरूको विषयलाई अझ सुदृढ संस्थागत संरचनामार्फत सम्बोधन गर्नुपर्ने आवश्यकता महसुस गरिएको छ। यस सन्दर्भमा ज्येष्ठ नागरिक समुदायबाट उठाइएको महत्त्वपूर्ण सरोकार यस्तो छ, “यदि जनसंख्याका विभिन्न वर्गका लागि छुट्टाछुट्टै मन्त्रालयको अवधारणा अपनाइन्छ भने ज्येष्ठ नागरिकका लागि पनि छुट्टै मन्त्रालय आवश्यक छ। अन्यथा सबै उमेर, जात, लिंग र समुदायलाई समेट्ने गरी एकीकृत सामाजिक मन्त्रालय स्थापना गरी त्यसअन्तर्गत उमेरगत, लैङ्गिक तथा सामाजिक समावेशी आधारमा विभागीय संरचना बनाई स्पष्ट कार्यादेश र परिणाममुखी कार्यक्रम लागू गरिनुपर्छ।”

अन्ततः, ज्येष्ठ नागरिकको सम्मान, सुरक्षा, सहभागिता र अधिकार सुनिश्चित गर्नु केवल राज्यको दायित्व मात्र होइन, समग्र समाजको सभ्यता र उत्तरदायित्वको सूचक पनि हो। दुर्व्यवहारमुक्त, समावेशी र ज्येष्ठ नागरिकमैत्री समाज निर्माणका लागि सरकार, नागरिक समाज, निजी क्षेत्र, सञ्चार माध्यम, परिवार र स्वयं ज्येष्ठ नागरिकहरूबीचको सहकार्य अपरिहार्य छ। यही सहकार्य र प्रतिबद्धतामार्फत मात्र ‘खुशी र समृद्ध ज्येष्ठ नागरिक’ को परिकल्पना साकार हुन सक्छ।

(उपाध्याय ज्येष्ठ नागरिक सवालका अध्येता हुन्)