मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल-चखेवाभञ्ज्याङ खण्डमा माथिबाट झरेको पहिरोसहितको बाढीले सडक बगाएपछि तीन दिनदेखि यातायात आवागमन अवरुद्ध भएको छ।
खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-८ बुवालुङस्थित पंखुखोलामा बुधबार राति आएको बाढीले सडक बगाउँदा दिक्तेल-चखेवाभञ्ज्याङ सडक तीन दिनदेखि अवरुद्ध भएको छ। मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल-चखेवाभञ्ज्याङ खण्डमा माथिबाट झरेको पहिरोसहितको बाढीले करिब ५० मिटर सडक बगाएपछि तीन दिनदेखि यातायात आवागमन अवरुद्ध भएको हो।
मोटरेबल पक्की पुल निर्माणाधीन अवस्थामा रहेको पंखुखोलामा सडकमाथिबाट आएको बाढीले खोलेर ठूलो खाडल बनाएपछि पैदलयात्रुसमेत वारपार गर्न सक्ने अवस्था नभएको स्थानीय बताउँछन्। लेदोसहितको बाढीले सडक बन्नुअघि नै क्षति पुर्याएपछि यातायात अवरुद्ध बनेको थियो। पहिरो पन्छाएर सडक पुनः सञ्चालनमा ल्याउन समय लाग्ने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजु विष्टले जानकारी दिए।
सडक अवरुद्ध भएपछि भोजपुरबाट दिक्तेल हुँदै काठमाडौँ तथा काठमाडौँबाट दिक्तेल हुँदै भोजपुरतर्फ जाने सवारीसाधन र यात्रुलाई समस्या भएको छ। अवरुद्ध सडक सञ्चालनमा ल्याउन मध्यपहाडी लोकमार्ग र सडक विभागका प्राविधिक टोली बिहीबार घटनास्थल पुगेर फर्किएको प्रहरी निरीक्षक विष्टले बताए। सडकमाथिबाट लेदोसहित आएको बाढीले बगाएर सडक बन्नुअघि जस्तो थियो, त्यस्तै अवस्थामा पुर्याएको उनको भनाइ छ।
बाढीले खोलेर चट्टानसहितको भीर बनाएकाले निर्माण गर्न ‘ब्रेकर’ ले पनि सम्भव नहुने देखिएको स्थानीयले बताएका छन्। “ग्याबिन जाली भरेर तलैदेखि निकालियो भने मात्र केही दिनमा सडक बन्न सक्ने सम्भावना छ”, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-९ निर्मलीडाँडाका वडाध्यक्ष दिनेश कठेतले भने।
पंखुखोलामा विसं २०७३ मा मोटरेबल पक्की पुल निर्माण गरेर सञ्चालनमा ल्याउनुपर्ने सम्झौतामा उल्लेख भए पनि ठेकेदारको लापरबाहीका कारण अहिलेसम्म बन्न नसकेको हो। कालोपत्रको काम सम्पन्न भएको लामो समय बितिसक्दा पनि ठेकेदारको लापरबाहीका कारण पक्की पुल निर्माण नहुँदा खोलाबाटै यातायातका सवारीसाधन वारपार गर्नुपर्ने बाध्यता थियो।
पंखुखोलाको निर्माणाधीन मोटरेबल पक्की पुल ठेकेदारका कारण अलपत्र बनेपछि श्रमदानमार्फत यही जेठ १७ गते काठको पुल निर्माण गरेर सञ्चालनमा ल्याइएको थियो। श्रमदान गरेर निर्माण गरिएको काठे पुल यही जेठ २२ गते राति आएको बाढीले बगाएपछि समस्या भएको वडाध्यक्ष कठेतले बताए। अटो तथा मोटरसाइकल वारपार गराउन मिल्ने गरी श्रम संस्कृति पार्टीनिकट श्रमदाताले तीन दिन लगाएर काठे पुल निर्माण गरेका थिए।
यही जेठ २२ गते राति आएको वर्षापछिको बाढीले जिल्लाका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले जानकारी दिए। उनका अनुसार ग्रामीण सडकमा यातायात सेवा अवरुद्ध हुँदा यात्रुलाई गन्तव्यमा पुग्न पैदल यात्रा गर्नुपर्ने बाध्यता छ।
विसं २०६४ मा नेपाली सेनाको हेलिकोप्टरमार्फत बोकेर ल्याएको गाडीबाट यातायात सुरु भएको जिल्लामा अहिले सबै ठाउँमा सेवा विस्तार भएको छ। सेवा सुरु भएको लामो समय बितिसक्दा पनि मध्यपहाडी लोकमार्गबाहेक अन्य सबै ग्रामीण सडक कच्ची अवस्थामै सञ्चालन हुँदै आएका छन्।
दश स्थानीय तह रहेको जिल्लाका अधिकांश ग्रामीण सडक करिब छ महिना मात्रै सञ्चालन हुने अवस्था रहेको वडाध्यक्ष कठेतले जानकारी दिए। हिउँदको समयमा मात्र सञ्चालन हुँदै आएका ग्रामीण सडक हरेक वर्षको जेठदेखि कात्तिक अन्तिमसम्म अवरुद्ध हुने गर्दछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
