सल्यान र सुर्खेतको सीमामा एक हप्तामा तीनजनाको ज्यान लिने बाघ बाँके वा बर्दिया निकुञ्जबाट निस्किएको अनुमान छ। सन् २००९ पछि संख्या बढिरहेका बाघलाई अब नेपालका वनले नधान्ने मध्यवर्ती क्षेत्रका बासिन्दा बताउँछन्।
काठमाडौँ– सल्यानको कालिमाटी गाउँपालिका—७ का मानबहादुर रावत पुस २६ गते कोहलपुरबाट घर फर्कंदै थिए। बाटोमै मोबाइलको घण्टी बज्यो। उताबाट बुहारीले भनिन्, “आमा त बेपत्ता हुनुहुन्छ। धेरैबेर भैसक्यो खोजेको, कतै हुनुहुन्न।”
मानबहादुरको मनमा चिसो पस्यो। उनले धेरैतिर फोन घुमाए, तर श्रीमती धनसरीको पत्तो लागेन। केही समयपछि गाउँलेले जंगलछेउ रगत भेटिएको खबर गरे। “गाउँलेले त्यसो भनेपछि त म बेहोसैजस्तो भएँ। सबैले बाघले लगेको शंका गरे। मलाई पनि उनी भेटिन्नन् कि भन्ने डर भयो,” उनले सुनाए।
उनको छटपटी झनै बढ्यो। कति बेला घर पुग्नुजस्तो भयो। तर गाडी आफ्नै गतिमा थियो। अत्तालिएका उनी घर पुग्ने बित्तिकै श्रीमती खोज्न जंगलतिर निस्किए। “त्यस बेलासम्म बाघले नै लग्यो भन्ने सबैलाई भइसकेको थियो। मलाई आफ्नै ज्यानको पनि चिन्ता लागेन। उनलाई खोज्न जंगल पसेँ। पछि आर्मीले शव भेट्टायो। मैले हेर्नै सकिनँ,” उनी भन्छन्।
त्यस दिन बिहान मात्रै धनसराले उनलाई फोन गरेर जुत्ता ल्याइदिन भनेकी थिइन्। उनले भावुक हुँदै भने, “जुत्ता ल्याइदिएको थिएँ। लगाउने मान्छे नै रहिनन्।”
रावत परिवारको मुख्य पेसा खेतीपाती हो। खेतबारी नजिकै सामुदायिक वन जोडिएको छ र त्यसैमा घाँसदाउरा निर्भर छ। धनसरी त्यस दिन दाउरा काट्न गएकी थिइन्। त्यहीबेला उनलाई बाघले आक्रमण गरेको थियो।
“त्यहाँ त हाम्रो दिसापिसाब गर्न जाने ठाउँ हो। घाँस दाउरा गर्ने ठाउँ हो। घटना भएको ठाउँ लगभग बारीकै छेउमा पर्छ,” मानबहादुरले भने, “कताबाट भागेर आएको बाघ रहेछ, त्यसैले मार्यो। आफ्नै बारी जान पनि डराउने अवस्था भयो।”
बाँके र बर्दियाको मध्यवर्ती वन नजिकका घरगाउँमा बाघको त्रास छ। गोठकै गाईवस्तु पनि सद्दे छैनन् कि भनेर छिनछिनमा हेर्न जानुपर्ने मानबहादुर बताउँछन्। उनी अहिले चाहिँ क्षतिपूर्तिका लागि सरकारी कार्यालय धाइरहेका छन्।
“क्षतिपूर्तिले मात्रै त मान्छे फिर्ता आउने हैन। सरकारले यस्तो उद्दण्ड बाघलाई निकुञ्जबाहिर निस्कन नदिई तत्काल नियन्त्रणमा लिनुपर्यो। सकेसम्म त्यसलाई मार्नुपर्यो। नत्र गाउँमा बस्नै नसकिने भयो,” उनले भने।
बस्ती नजिक तारजाली लगाएर स्थानीयलाई सुरक्षित गराउनुपर्ने र त्यसो गर्दा पनि भएन भने बस्ती अन्यत्र व्यवस्थापन गर्दिनुपर्ने मानबहादुरको माग छ। निकुञ्जमा पटकपटक भन्दा पनि सरकारलाई देखाएर पन्छिरहेको उनी बताउँछन्।
बाघले आक्रमण गरेको यो एउटा मात्रै घटना होइन।
एक हप्तामा तीन जनाको लियो ज्यान
सल्यान र सुर्खेतका सीमामा एक हप्तामा बाघले तीनजनाको ज्यान लिएको छ। गत पुस २३ गते सल्यानको कालिमाटी गाउँपालिका–७ र सुर्खेतको सिमानामा पर्ने जंगलमा घाँस काटन गएकी सुर्खेतको भेरीगंगा नगरपालिका–५ की गंगादेवी सारुमगर बाघको आक्रमणमा परिन्। उनको घटनास्थलमै मृत्यु भयो।
त्यसको तीन दिनपछि पुस २६ गते सल्यानको कालिमाटी–७ की धनसरीले ज्यान गुमाइन्। पुस २८ गते कालिमाटी—६ का ६५ वर्षीय चन्द्रबहादुर खप्तडी बाघको आक्रमणमा परे।
खप्तडी त्यो दिन दिउँसो १२ बजेतिर घर नजिकैको घट्ट गएका थिए। साँझसम्म पिठो लिएर नफर्किएपछि परिवार र स्थानीयले खोजी शुरू गरे। अर्को दिन प्रहरीले खोजतलास गर्दा बाघकै आक्रमणबाट मृत्यु भएको पत्ता लागेको वडा नं. ६ का अध्यक्ष टेकराज पुलामीले जानकारी दिए।
पुलामीका अनुसार, उनको घर नजिकै सामुदायिक वन छ। उक्त वन कटेपछि हात्तीढुंगा खोला छ। “खोला सकिने बित्तिकै उहाँलाई बाघले आक्रमण गरेछ। हाम्रो त बफर जोनमा पनि पर्दैन, त्यहाँसम्म बाघ आएर मान्छे मार्यो। हामी सबै त्रसित छौँ,” उनले भने।
बाघले मान्छे मात्र नभई स्थानीयका गाईवस्तुलाई पनि आक्रमण गरी मारेको छ। उक्त बाघ बाँके वा बर्दियाको निकुञ्जबाट निस्केर स्थानीय सामुदायिक वन र बस्तीमा पुगी आक्रमण गरिरहेको अनुमान छ।
स्थानीयलाई घर बाहिर निस्किनै त्रास
बाँके र बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएका बस्तीका मानिस आफ्नै बारीमा जान पनि डराउने अवस्था भएको मध्यवर्ती क्षेत्रमा पर्ने सल्यानको कालिमाटी गाउँपालिका—७ का वडाध्यक्ष मित्रलाल रिजालको भनाइ छ। बाघकै डरले स्थानीयले बाली गोडमेल गर्न र पानी लगाउन पाएका छैनन्। “नजिकै जंगल छ, घेराबारा केही छैन। कतिबेला कहाँबाट बाघ आउला भनेर मान्छे सधैँ डराउँछन्,” उनी भन्छन्।
वडा नं. ५ र ७ का विभिन्न भाग निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्छन्। यो बबईको किनार आसपास क्षेत्र हो। यहाँ ठूला फाँट पनि छन्, जहाँ पानीलगायत अन्य आहारा मिल्ने हुँदा बाघ आइरहने रिजालको बुझाइ छ।
अहिले स्थानीयले संघर्ष समिति बनाएर बाँके राष्ट्रिय निकुञ्जसँग विभिन्न माग राखेका छन्। “बाघको आक्रमण एकदमै धेरै भएपछि हामीले संघर्ष समिति बनाएका छौँ। निकुञ्ज आसपास बस्न सक्ने स्थिति छैन, बस्ती स्थानान्तरण गरिदिनुपर्यो,” उनले भने।
स्थानान्तरण सम्भव नभए मध्यवर्ती क्षेत्रलाई स्थानीय सरकारको मातहतमा दिनुपर्ने उनीहरूको माग छ। त्यस्तै, छाडा बाघ तत्काल नियन्त्रणमा लिनुपर्ने, तारबारको व्यवस्था, पीडित परिवारलाई राहत र रोजगारीको माग पनि राखेका छन्।
संघर्ष समिति सदस्य अनिता बस्नेत निकुञ्जको लापरबाहीका कारण समस्या निम्तिएको दाबी गर्छिन्। बाघलाई निकुञ्जभित्रै पुग्दो खाना दिए ननिस्किने उनको भनाइ छ। “बस्तीमा आएको बाघ यत्रो दिनमा पनि नियन्त्रणमा लिनुहुन्न। उहाँहरूलाई खेलाँची छ, तर हामीलाई बाहिर–भित्र गर्नै गाह्रो छ,” उनले भनिन्।
निकुञ्जसमक्ष माग बुझाए पनि केही गर्न नसक्ने जनाएको बस्नेत बताउँछिन्। “कुरो केन्द्रमै पुग्नुपर्छ भन्नुहुन्छ। केन्द्रबाट न सरकार आउँछ, न हामीलाई सुनिदिने सञ्चारकर्मी। उस्तैपरे अब हामी आफै सिंहदरबार घेर्न जान्छौँ,” उनले भनिन्।
बाघ मार्ने आदेश भयो, तर कसले मार्ने?
पुस अन्तिम सातादेखि निस्किएको बाघले चौपाया मात्रै नभई मान्छे नै मार्न थालेपछि स्थानीयले डिभिजन वन कार्यालयसँग गुहार मागे। डिभिजन वन कार्यालयले उक्त बाघलाई नियन्त्रण गर्न वा मार्न पुस ३० गते आदेश जारी गर्यो। तर आदेश कार्यान्वय कसले गर्ने भन्ने अन्योल हुँदा बाघ मार्न नसकेको डिभिजन वन कार्यालय सल्यानका प्रमुख टेकबहादुर रावलले बताए।
राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा १०(क) मा ‘बौलाएको जंगली हात्ती, मानिस खान पल्किएको बाघ र नबाँच्ने किसिमले रोगग्रस्त भएका वा अंगभंग भएका वन्यजन्तुलाई तोकिएको अधिकारीको आदेशले मार्न वा पक्रन सकिने’ व्यवस्था छ। दफा १०(ख) मा ‘वनक्षेत्र बाहिर आई मानिस वा घर पालुवा पशुपक्षीलाई धेरै नोक्सान गर्ने वन्यजन्तुलाई मार्नु पर्ने ठहराएमा तोकिएको अधिकारीको आदेशले मार्न, पक्रन वा लखेट्न सकिने’ व्यवस्था छ।
राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०३० को नियम ३६(क) मा ‘वन्यजन्तुलाई मार्न, पक्रन वा लखेट्न निकुञ्ज वा आरक्षको कार्यालय रहेको जिल्लामा संरक्षकले वा त्यस्तो कार्यालय नभएको जिल्लामा डिभिजनल वन अधिकृतले आदेश दिन सक्ने’ व्यवस्था छ। तर उक्त आदेश कसलाई दिने र कार्यान्वयनको जिम्मेवार को भन्ने नियमावलीमा नहुँदा अन्योल भएको रावलले बताए। “हामीले जिल्ला प्रशासन र निकुञ्जलाई अनुरोध गर्ने हो, कुन ऐनमा टेकेर बाघ मार्ने भन्ने अन्योल भयो भन्नुभयो,” उनले भने।
बाघ नियन्त्रणका लागि बाँके राष्ट्रिय निकुञ्जको तीन वटा टोली खटिएको छ। तर निकुञ्जबाहिरको बाघलाई उनीहरूले मार्न मिल्दैन। उक्त टोलीले बाघलाई ट्र्याकिङ गरेर नियन्त्रणमा लिन पनि सकेको छैन।
बाघका कारणले यस क्षेत्रका करिब ६०० घरधुरी प्रभावित भएको वडाध्यक्ष रिजालको दाबी छ। उनका अनुसार, करिब ३०० घर मध्यवर्ती क्षेत्रमा पर्छन्। निकुञ्जमा बाघको संख्या धेरै भएर आहाराका लागि बाहिर निस्केको स्थानीयको भनाइ छ। सरकारले पाल्न सक्ने संख्यामा मात्रै बाघ राख्नुपर्ने उनीहरू बताउँछन्।
डिभिजन वन कार्यालय प्रमुख रावल पनि निकुञ्जमा बाघको संख्या धेरै भएर समस्या निम्तिएको स्वीकार गर्छन्। यद्यपि, सुर्खेत र सल्यानमा देखिएका बाघ बाँके निकुञ्जबाटै गएका हुन् वा होइनन् निश्चित छैन।
बर्दियाको मध्यवर्ती क्षेत्रबाट गएको अनुमान पनि गरिएको रावलले बताए। उनले भने, “यहाँको निकुञ्जको क्षमताअनुसार बाघ छन् कि छैनन्, निकुञ्जभित्र पर्याप्त आहारा छ कि छैन अध्ययन हुन जरुरी छ। बाघको संख्या धेरै भए अर्को ठाउँमा स्थानान्तरण पनि गर्नुपर्छ।”
बाँके राष्ट्रिय निकुञ्जका प्रमुख वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका अनुसार, कुनै पनि जीवको जम्मा संख्याको करिब ५ प्रतिशत समस्याग्रस्त हुन्छन्। “बाघ बूढो हुने, घाइते वा शिकार गर्न नसक्ने वा तिनीहरूसँग बच्चा भएको बेलामा मान्छेसँगको द्वन्द्व बढ्न सक्छ,” कँडेलले भने।
सल्यानमा देखिएको बाघ २०२२ को गणनामा नदेखिएको उनको दाबी छ। यो बाघ भारतबाट आएको हुनसक्ने उनको प्रारम्भिक अनुमान छ। किनकि यसले पहिले बर्दियाको मध्यवर्तीमा मान्छे खायो, त्यसपछि बबईमा खायो, अनि सल्यानतिर छिरेको देखिन्छ।
सन् २०२२ मा बाँके बर्दियाको रेकर्डमा नदेखिएको बच्चा अहिले वयस्क भएको हुनसक्ने पनि कँडेल बताउँछन्। उनका अनुसार बाघको फोटो हेर्दा एकदमै बलियो, वयस्क अवस्थाको भाले छ। यसलाई नियन्त्रणमा लिन प्रयत्न गरिहेको उनले बताए।
बाघ समात्न पासो थापे पनि पासो राखेको ठाउँमा नआएको कँडेलले जानकारी दिए। “बाघ निकुन्जबाहिरै पल्किरहेको छ। त्यसैले हामीले स्थानीयसँग कम्तीमा दुईतीन दिन घरभित्रै सुरक्षित बस्न, गाईबस्तुलाई पनि गोठमै राख्न अनुरोध गरेका हौँ। तर उहाँहरू निकै आक्रोशित हुनुहुन्छ,” उनले भने।
किन निस्किन्छ निकुञ्जबाट बाघ?
वरिष्ठ संरक्षण अधिकृत कँडेलका अनुसार, बाघलाई चाहिने आहार निकुञ्जभित्रै पुग्ने व्यवस्था मिलाउनु आवश्यक छ। नत्र बाघ शिकारको खोजीमा बाहिर निस्किन्छ। बाघको मुख्य आहार हरिण, चित्तललगायत जनावर हुन्।
ती जनवार पनि निकुञ्जमा प्रशस्त हुनुपर्छ। हरिणलगायत जनावर निकुञ्जमा हुन घाँस र पानीका क्षेत्र प्रशस्तै हुनुपर्छ। कुनै पनि निकुञ्ज वा आरक्षणको क्षेत्रफलको १० प्रतिशत भूभाग घाँसे मैदानले ओगटेको हुनुपर्ने कँडेल बताउँछन्। “तर कतिपयमा एक प्रतिशत पनि घाँसे मैदान छैन। भएको ठाउँमा व्यवस्थित गर्ने र नभएको ठाउँमा बनाउनुपर्ने हुन्छ,” उनी भन्छन्, “त्यसका लागि प्रशस्त बजेट चाहिन्छ। त्यसैले यो सरकारकै जिम्मेवारी हो।”
बाँके र बर्दियाका केही क्षेत्र एकदमै सुक्खाग्रस्त छन्। त्यसैले पानी पिउन पनि जनावर बाहिर निस्किने र मानिससँग द्वन्द्व बढ्ने कँडेल बताउँछन्। उनी भन्छन्, “त्यसैले घाँसे मैदान र पानी भित्रै व्यवस्थापन गर्नुपर्छ। यसको पर्याप्तता छैन। हामीबाट हुने इमानदार प्रयास त भएको छ, तर अझै गर्नुपर्छ।”
निकुञ्जबाट बाघ बाहिर निस्किन थालेपछि बाघको संख्या र क्षेत्रफलको अनुपात नमिलेको आवाज पनि उठिरहेको छ। बाँके राष्ट्रिय निकुञ्जको क्षेत्रफल ५५० वर्गकिमि र यसको मध्यवर्ती क्षेत्र ३४३ वर्गकिमि छ। सन् २०२२ को गणनाअनुसार बाँके राष्ट्रिय निकुञ्जमा २५ वटा बाघ थिए।
वरिष्ठ संरक्षण अधिकृत कँडेलका अनुसार, यो निकुञ्जमा क्षेत्रफलका हिसाबले बाघको संख्या धेरै होइन। “केही सयमअघि भएको एउटा अध्ययनले ३२ देखि ३५ वटा बाघ बाँकेमा पाल्न सकिन्छ भनेको छ। फेरि बाघ गणना हुँदै छ, अहिले कति पुग्छ थाहा छैन,” उनले भने।
हरेक बाघले आफ्ने क्षेत्र निर्धारण गरेका हुन्छन्। आफ्नो क्षेत्रमा अन्य बाघ छिर्न दिँदैनन्। भाले बाघलाई ५० र पोथीलाई ३० वर्गकिमि चाहिने विभिन्न अध्ययनले देखाएका छन्। तर यो पनि आहाराको उपलब्धताको हिसाबले निर्धारण हुने कँडेल बताउँछन्। “आहारा प्रशस्त भएको अवस्थामा १० वर्गकिमिमा पनि धेरै बाघ बसेको छ। कहिले धेरै ठूलो क्षेत्रफल पनि अपुग हुन्छ। त्यसैले यसको अझै गहन अध्ययन चाहिन्छ,” उनले भने।
एउटा बाघले एक हप्तामा ४० देखि ५० केजीको वयस्क चित्तल खान सक्छ। यस अनुसार, एउटा बाघले महिनामा चार वटा र १२ महिनामा ४८ वटासम्म चित्तल खान सक्छ। “त्यसैले बाघ पाल्न हामीले कम्तीमा सोहीअनुसार आहारा व्यवस्थापन गर्नुपर्छ। त्यो व्यवस्थापन गर्न सकिएको छ कि छैन मुख्य प्रश्न हो,” कँडेल भन्छन्।
सन् २०२२ को गणनाअनुसार, नेपालमा बाघको संख्या ३५५ पुगेको थियो। त्यस गणनाले पछिल्लो चार वर्षमा १२० वटा बाघ बढेको देखाएको थियो। चितवन राष्ट्रिय निकुञ्जमा सबभन्दा धेरै १२८ वटा बाघ छन् भने, बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ वटा छन्। यसैगरी पर्सामा ४१, शुल्लाफाँटामा ३६ र बाँकेमा २५ वटा बाघ छन्।
गत पुस १ गतेबाट फेरि बाघको गणना भइरहेको छ। नेपालमा हरेक गणनामा बाघ बढ्ने ‘ट्रेन्ड’ देखिएको हुँदा यसपटक पनि बढेको हुनसक्ने कँडेल बताउँछन्। नेपालमा सन् २००९ को गणनामा बाघको संख्या १२१ थियो। त्यसपछि, २०१३ मा १९८, २०१८ मा २३५ र २०२२ मा ३५५ वटा बाघ थिए।
कसरी कम गर्ने मान्छेसँगको द्वन्द्व?
राष्ट्रिय प्रकृति संरक्षण कोषका निर्देशक तथा बाघविज्ञ डा. चिरञ्जीवी पोखरेलका अनुसार, बाघ संरक्षणसँगै मानव–बाघ द्वन्द्व घटाउन समानान्तर रूपमा काम गर्न जरुरी छ। बाघको बासस्थान वरिपरि गाउँबस्ती रहेकाले स्थानीयहरू जंगलमा निर्भर हुँदा द्वन्द्व बढ्ने गरेको छ।
पछिल्लो समय बाँके–बर्दिया क्षेत्रमा देखिएको द्वन्द्वका घटना भने नौलो खालका भएको डा. पोखरेलको भनाइ छ। पानीका स्रोत सुक्नु, बासस्थानमा चाप बढ्नु र आहारको कमी हुनु बाघका लागि समस्या हो। यसले नै बाघलाई बाहिर निस्कन बाध्य बनाएको हुनसक्ने उनी बताउँछन्।
समस्याग्रस्त र बूढा बाघलाई क्यामेरा ट्रयापमार्फत पहिचान गरेर छुट्टै ‘टाइगर सेन्चुरी’मा राख्ने व्यवस्था गर्नु पर्ने उनको भनाइ छ। यसबारे छलफल पनि चलिरहेको उनले बताए। “निकुञ्जभित्र बासस्थान सुधार, पानीका स्रोत र आहार व्यवस्थापन गर्न सके नेपालमा ३००–४०० बाघ पाल्न खासै समस्या हुँदैन,” उनी भन्छन्।
बाघ संरक्षणका लागि मानव–बाघ द्वन्द्व न्यूनीकरण गर्नु उत्तिकै महत्वपूर्ण हुने डा. पोखरेल बताउँछन्। स्थानीयले चौपाया छाडा छोड्ने, दाउरा वा निगुरो लिन एक्लै जंगल जाने जस्ता गतिविधिले द्वन्द्वको जोखिम बढाउँछ। यसलाई कम गर्न सरकारले एलपी ग्यास, सुधारिएको खोर, शौचालय निर्माण, बीमालगायत जीविकोपार्जनसँग जोडिएका अनुदान दिनुपर्ने उनी बताउँछन्।
स्रोत र बजेटको अभाव चुनौती भए पनि सरकार र संघसंस्थाले मिलेर जोखिमका क्षेत्र पहिचान गर्दै काम गर्नुपर्ने डा. पोखरेलको भनाइ छ। पहिले जोखिम भएका ठाउँहरूमा बाघ र मानिसको द्वन्द्व कम भए पनि नयाँ ठाउँमा समस्या देखिएको उनी बताउँछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||

Nice Nice
Ram thapa
5 months, 3 weeks ago