'अव्यवस्थित बसोबासीलाई ७ दिनभित्र हटाउने भनेर कुलमानजी र बालेनजी मिलेर अल्टिमेटम जारी गर्नुभएको छ, त्यसमा जेनजी अभियन्ताहरू कहाँ उभिनुहुन्छ?'
यत्राे आन्दोलन भयो। तर सुशासन, जनजीविका र निमुखाको पक्षमा बोल्ने तपाईं सार्वजनिक रूपमा कतै पनि देखिनुभएन नि?
काठमाडौँमा भदौ २३ र २४ को आन्दोलन भइरहँदा म मनाङमा थिएँ। साथीहरूको होमस्टेमा बसेर केही समययता लेखपढ गरिराखेको थिएँ। त्यसकारण आन्दोलनमा मेरो प्रत्यक्ष उपस्थिति भएन। तर आन्दोलनले सकारात्मक दिशा पाओस्, त्यो सुगठित होस् र दुर्घटनातर्फ नजाओस् भनेर त्यहीँ बसेर भए पनि सक्दो प्रयास गरिराखेको थिएँ।
सामाजिक सञ्जाल बन्द भएपछि युवाहरूको आक्रोश बढ्दै गइरहेको थियो। सामाजिक सञ्जाल बन्दको विषयले मनाङमा पनि समस्या सिर्जना गरेको थियो। म जहाँ बसिराखेको थिएँ, त्यहाँ मोबाइलको नेटवर्क थिएन, वाइफाइचाहिँ थियो। त्यहाँका अधिकांश मान्छे सञ्चारका लागि इन्टरनेटमै आश्रित थिए। मुख्यतः मेसेन्जर र ह्वाट्सएप सञ्चारको माध्यम बनेको थियो। त्यहाँ सञ्चार बन्द भएपछि सामाजिक सञ्जालमार्फत सो विषय मैले उठाएको थिएँ। यावत् हिसाबले जेनजी आन्दोलनलाई सल्लाह दिने हिसाबले काम गरिराखेकै थिएँ।
त्यसको मतलब जेनजी विद्रोहका आयोजकहरूसँग प्रत्यक्ष कुराकानीमा हुनुहुन्थ्यो?
थिएँ, तर के भन्नुपर्छ भने आन्दोलन सुगठित होस्, राम्रो निष्कर्षमा पुगोस् र दुर्घटना नहोस् भनेर मैले गरेको प्रयासमा असफल भएँ। टाढा बसेर प्रक्रियालाई प्रभावित गर्न नसकेको महसुस गरेको छु।
जेनजी आन्दोलनका मुख्य आयोजक को हुन्? प्रायोजक थिए भने ती को हुन्?
आन्दोलन स्वतःस्फूर्त सुरु भएको हो। जसरी म गाउँमा बस्दा सामाजिक सञ्जाल-बन्दका कारण प्रभावित भएको थिएँ, त्यसरी नै व्यवसाय गर्ने र दैनिक सञ्चारका लागि सामाजिक सञ्जालका प्लेटफर्महरू प्रयोग गर्नेहरू स्वाभाविक रूपले प्रभावित भएका थिए। झ्याप्पै सञ्जाल बन्द हुँदा उनीहरू आक्रोशित हुनु स्वाभाविक थियो। त्यसमाथि, सञ्जाल बन्द भएपछि पनि भीपीएनको प्रयोगमार्फत युवाको आक्रोश नेपोबेबी ट्रेन्ड्समार्फत अभिव्यक्त भई नै रहेको थियो।
मलाई जहाँसम्म लाग्छ, जसजसले आन्दोलन सुरु गर्नुभएको थियो, डिस्कोर्ड सर्भर सुरु गर्नुभएको थियो, उहाँहरू अहिलेसम्म सार्वजनिक हुनुभएको छैन। तर त्यही सर्भरबाट विभिन्न अभियन्ता र पात्रहरू आन्दोलनको फ्रन्टलाइनमा आउनुभयो।
जेनजी विद्रोहमा युएसएम्बेसी युथ काउन्सिलमा आबद्ध उल्लेख्य युवाहरू सक्रिय देखिए। याे संयोग हो या अरू केही?
सत्य कुरा गर्नुपर्छ। शहरी क्षेत्र र काठमाडौँका कुनै पनि क्षेत्रमा कोही युवा सक्रिय छ भने उस/उनलाई युएसएम्बेसी युथ काउन्सिलमा तान्नुपर्छ भन्ने छ। त्यस संस्थामा 'अप्लाइ' गर्न उहाँहरू (एम्बसी पक्ष) ले प्रत्यक्ष/परोक्ष प्रेरित गर्नुहुन्छ। यो भनेको उहाँहरूको सफ्टपावर एक्सरसाइज हो, कोही १८-२० वर्षको मान्छे छ भने कुनै स्वार्थले त्यस संस्थामा संलग्न हुने नै भए। किनकि विदेश पढ्ने सपना पूरा गर्न, व्यवसायका लागि नेटवर्क बनाउन या समाजमा नाम कमाउन त्यस संस्थासँगको संलग्नताले भोलि कुनै खालको सहयोग पुग्ला भन्ने स्वार्थले मान्छेहरू संलग्न हुनु अनौठो भएन।
यद्यपि, मेरो हकमा पहिलेदेखि नै यसबारे वैचारिक रूपमा प्रस्ट थिएँ। कुनै पनि एम्बेसी, एनजिओ र आइएनजिओमा आश्रित हुन्नँ र तिनको सहयोग पनि लिन्नँ। त्यसो हुँदा मजस्ता मान्छेचाहिँ त्यहाँ कहिल्यै पुगेनन्। तर के देख्छु भने म पनि १८-२० वर्षको हुन्थें, कुनै व्यवसाय या उद्यम गर्ने उद्देश्य लिएको हुन्थें र सामाजिक रूपमा संलग्न हुने इच्छा मसँग हुन्थ्यो भने मैले पनि युथ काउन्सिलमा संलग्न हुनेबारे विचार गर्थेँ होला। त्यो स्वाभाविक कुरा नै हो।
‘इनफ इज् इनफ’कै निरन्तरता थियो जेनजी प्रदर्शन?
जनस्वास्थ्य र मान्छेको आत्मसम्मानको मुद्दालाई लिएर उठाइएको थियो इनफ इज् इनफ आन्दोलन। कोरोना महामारीमा जनताले भोगेको कष्टको परिदृश्यबाट जनताले निकास पाउनुपर्नेमा त्यसतर्फ सरकार गम्भीर भइरहेको छैन भन्दै हामीले सो अभियान थालेका थियौँ फेसबुक ग्रुपमार्फत। तर आन्दोलन सकिँदै गर्दा समाजमा कस्तो बुझाइ स्थापित भयो भने–अब युवाहरू राजनीतिमा आउनुपर्छ। राजनीतिमा परिवर्तन चाहिएको छ। राजनीतिक दलको यही पुस्ताले निकास दिन सक्दैन।
त्यही धारणाको बलमा र त्यो बेला अभियानमा सक्रिय भएकाहरूकै बलमा बालेनजी पछि गएर काठमाडौँको मेयर पदमा चुनिन पुग्नुभयो। त्यो सेन्टिमेन्ट देशभर फैलियो। अरूअरू स्वतन्त्र उम्मेदवारहरूले पनि चुनाव जित्नुभयो। त्यहीँबाट रास्वपा जन्मको पृष्ठभूमि तयार भएको हो। त्यसैका निरन्तरताका हिसाबले, राजनीतिमा पुस्तान्तरण नभएको भएर, पार्टीहरूमा संशोधन नभएको भएर, राजनीतिमा इमानदारीको खोज भइरहँदा दलहरूले दिन नसकेका कारणलगायत पृष्ठभूमिमा जेनजी आन्दोलन हुन पुगेको हो।
जेनजी आन्दोलनमा जेन्युन लाग्ने र अवसर छोप्न हतारिनेहरू छन्। तपाईँले दुईबीच भेद छुट्टाउनुभएको छ? तिनीहरू कोको हुन्?
यस प्रश्नको एक किसिमले सार्वजनिक हिसाबले सुनुवाइ पनि भइसक्यो। विभिन्न पात्र र विभिन्न रूपले संलग्न मान्छे र तिनका पृष्ठभूमिबारे मैले थपिराख्नुपर्छजस्तो लाग्दैन।
विवेकशील नेपाली दलबाट राजनीतिक दीक्षा लिएकाहरूकै धेरै संलग्नता थियो होइन जेनजी आन्दोलनमा?
फेसबुकमा भदौ २२ गते दिउसै मैले लेखेको थिएँ–यो असंगठित आन्दोलन हो। यहाँ विभिन्न स्टेकहोल्डरहरू छन्। घुसपैठ भएको तथ्य पनि डिस्कर्डमै रजिस्टर भइसक्यो। विभिन्न हिसाबले आन्दोलन गलत दिशामा गइरहेको छ। यसबारे सरकार सजग हुन जरुरी छ। त्यसो गरिएन भने नेपाली राजनीतिकै ठूलो गल्ती हुनेछ।
त्यही बुझेर नै त्यसलाई मैले प्रत्यक्ष समर्थन गरिनँ। त्यसपछि चाहिँ एक्कासि सेनाले आन्दोलनको नेतृत्व को हो, अगाडि आउनुहोस् भनेर आह्वान गर्यो। निश्चित नेटवर्कबाट आएको भएर त्यहाँ विवेकशीलकै उपस्थिति एक किसिमले देखियो। वैकल्पिक राजनीतिको चाहना राख्ने धेरै जना र स्थापित दलहरूसँग असन्तुष्ट मान्छेहरू आउने मूल थलो आखिर विवेकशील थियो। तर आन्दोलनमा विवेकशीलसँग जोडिएकादेखि अन्य धेरै मान्छे पनि आए।
फेरि भ्याक्युमको बेला जो अगाडि सर्यो, जसले अरूलाई अगाडि सार्न सक्यो, उनीहरूकै नियन्त्रणमा स्थिति जाने रहेछ। हाम्रोमा अहिले त्यही भएको त हो नि!
भदौ २३ र २४ एउटै हुन् वा अलग?
यसलाई ब्रोडर टाइमलाइनमा हेर्नुपर्छ। सोसल मिडियालाई नियमन गर्ने नाममा सोसल मिडियालाई पूर्वाग्रही रूपमा प्रतिबन्ध लगायो तत्कालिन् सरकारले। सञ्जालमा प्रतिबन्ध नलगाएको भए डिस्कोर्डमा ती सर्भर बन्थेनन् होला, त्यो नबनेको भए घुसपैठको आधार पनि तय हुन्थेन होला। आक्रोश र र्याडिकलाइजेसनको आधार बन्थेन होला। कोशी प्रदेशको मन्त्रीको गाडीले कुनै सर्वसाधारणलाई ठक्कर दिने घटनाको सन्दर्भमा संघीय सरकार र उतिखेरका प्रधानमन्त्रीको संवेदनशीलता देखिएको भए, आम मानिसलाई यस्ता घटनापछि जुन कानुनी प्रक्रियामा जानुपर्थ्यो–उहाँ पनि जानु परेको भए २३ र २४ को अवस्था त आउँदै आउँथेन।
भदौ २३ गते केपी ओली एकतिर र सारा देश अर्कोतिर थियो। तर त्यस दिन आन्दोलनमा सामेलहरूका अनुहार हेर्ने हो भने त्यहाँ सबै देखिन्थे। विद्यादेवी भण्डारी पक्षका युवा विद्यार्थी, माओवादी समर्थक, रास्वपा आबद्ध सबै मान्छे थिए! राजावादीदेखि बालेनका मान्छेहरू पनि थिए। आक्रोशका कारण बाहिर आए ती सबै। तर त्यसमा आउनुभएका बाँकी मान्छेहरू त मुलुकमा भ्रष्टाचारको अन्त्य हुनुपर्छ, स्वतन्त्रताको वातावरण हुनुपर्छ, स्वतन्त्र वातावरण हुनुपर्छ र राजनीतिमा पुस्तान्तरण हुनुपर्छ भन्ने युवा विद्यार्थी नै त हुन् नि!
फेरि त्यहाँ त विगतमा कहिल्यै आन्दोलनमा भाग नलिएका युवाहरू पनि थिए। त्यसमाथि, डिस्कोर्ड ग्रुपमा त पेट्रोल बम यसरी बनाउनुपर्छ भन्दै सिकाइयो। मान्छेलाई र्याडिकलाइज गरियो। मोलटोभ ककटेल (पेट्रोल हालिएको बोतलमा आगो लगाएर कुनै साधनमा आगजनी गर्ने साधन), प्रेसर कुकुर बम बनाउने तरिकादेखि टियर ग्यास यसरी फिर्ता फ्याँक्ने हो भन्दैसमेत सिकाइयो। स्कुलको पोसाकमा आयो भने केही पनि हुँदैन भन्दै प्रशिक्षित गरियो। हुनलाई आन्दोलन अर्ग्यानिक हिसाबमै सुरु भयो, तर त्यसलाई बिस्तार गर्ने काम धेरै भयो। त्यो पनि एक किसिमले घुसपैठ नै हो।
२१ र २२ गते नै डिस्कोर्डमा विभिन्न रङका राजनीतिक मान्छे प्रवेश गरिसकेका थिए। डिस्कोर्ड त्यस्तो प्लेटफर्म हो, जहाँ मान्छेको पहिचान पनि लुक्छ। त्यहाँ बहस गर्न आउने मान्छे देशमै छ कि, विदेशमा छ कि महिला हो कि पुरुष के हो भन्ने पनि थाहा हुन्न। ४० वर्षको मान्छे त्यहाँ जेनजी बनेर आएको छ कि भन्ने पनि थाहा हुँदैन।
तर इनफ इज् इनफमा त हामी कसैले हिंस्रक कुरा गर्ने बित्तिकै सामाजिक सञ्जालको ग्रुपबाट तिनलाई हटाउँथ्यौँ। यसरी डिस्कोर्ड सर्भर चलाउने युवाहरूबाट कमजोरी भयो। त्यस्ता कुराहरूलाई उहाँहरूले सेन्सर गर्नुपर्थ्यो। विभिन्न राजनीतिक पात्रहरूलाई युवाहरूले चिन्न सक्नुभएन, तिनका स्वार्थ के हो भन्नेबारे बुझ्न सक्नुभएन।
तर यी सबै घटनाक्रमबारे म एक आम मान्छे अवगत थिएँ र मजस्ता हजारौँ अवगत थिए भने सरकार कसरी त्यसबारे अवगत हुन सकेन? प्रधानमन्त्रीलाई त्यसबारे जानकारी किन पुग्न सकेन? उहाँले किन त्यस कुरालाई गम्भीरतापूर्वक लिनुभएन? हामीजस्तो मान्छेले यी सारा कुरा थाहा पाउने र त्यत्रो इन्टेलिजेन्सको फिडब्याक पाउने मान्छेलाई भने केही थाहा नहुने भन्ने पनि हुन्छ? चरम पटमूर्खता अनि गैरजिम्मेवारपन भयो त्यो बेलाको सरकारी नेतृत्वको। २३ गतेको दुर्घटना नभएको भए त २४ गते हुँदैनथ्यो नि! खेल्ने चाहिरहेकाहरूले खेल्ने ठाउँ पाउँदैनथे।
त्यस्तो अवसर तत्कालीन प्रधानमन्त्रीले वा गृहमन्त्रीले दिए। अथवा काँग्रेस र एमाले नै दिए। हामीले त हरसम्भव सबैलाई सजग गराउन खोजेको हो। सार्वजनिक र व्यक्तिगत रूपले पनि ठीक भइरहेको छैन भनेकै हो नि!

जेनजीकाे प्रशस्त ग्लाेरिफाइ गरियाे। तर यसबीचका हरकत हेर्दा तिनको अभ्यास पनि पुराना दलकाे भन्दा फरक रहेन नि!
एकैचाेटी उहाँहरूलाई नेतृत्वको भूमिकामा आउनुपरेको छ। कुनै किसिमको तयारी र राजनीतिक अभ्यास नभईकन आन्दोलनको बलमा एकैचोटी राजनीतिक भूमिकामा पुग्नुभएको छ कति जना। त्यो भएपछि त प्रणाली कसरी चल्छ र के गर्ने भनेर सिक्न नै समय लाग्छ नि!
मन्त्री बन्नेलगायत पदलोलुपता देखिन्छ कतिपयमा। ठूलो महत्वाकांक्षा छ केहीमा। त्यो स्वाभाविक पनि होला तातो रगत भएको उमेरमा। राजनीतिक आकांक्षा हुनुलाई स्वाभाविक लिन्छु। तर केचाहिँ दुर्भाग्यपूर्ण भयो ने भने प्रधानमन्त्रीको पद सम्हाल्न सक्ने, सबै हिसाबले पोख्त २८ वर्षमुनिको कोही पनि अघि आएन। योचाहिँ कताकता आन्दोलनको असफलता पनि हो। आन्दोलनलाई जेनजी भनिसकेपछि कम्तीमा जेनजी पुस्ताकै एउटा व्यक्तिले सरकारको नेतृत्व गर्न सकेको भए धेरै राम्रो हुन्थ्यो। काबिल मान्छेहरूले सरकारमा उपस्थिति जनाउने परिस्थिति अझै सिर्जना भएको छैन।
अर्को त्रुटिचाहिँ प्रधानमन्त्रीज्यूकै भूमिकामा पनि देख्छु। उहाँले २८ वर्षमुनिका युवाको हकमा मन्त्रीपरिषद्लाई जुन किसिमले समावेशी बनाउनुपर्थ्यो, त्यसमा स्वविवेक प्रयोग गर्नुपर्थ्यो, सो गरिराख्न सक्नुभएको छैन। के कारणले त्यसो गर्न नसक्नुभएको हो थाहा भएन, तर उहाँको ठाउँमा म भएको भए बलियो मूल्यांकन प्रक्रिया अपनाउँदै त्यसबाट आउने नामहरूमध्ये चाँडोभन्दा चाँडो मन्त्रीपरिषद्लाई पूर्णता दिन्थेँ होला। एउटा शुभेच्छुकका रूपमा पनि उहाँबाट सो चाहना राखेको छु।
तपाईँ बाहिर बसेर आन्दोलन मात्रै गर्ने कि कुनै जिम्मेवारी पनि लिने? बालेनले मिलेर आए आफू कार्यकर्ता मात्रै रहेर तपाईँलाई पार्टी अध्यक्ष मान्न तयार रहेको कुरा गरे नि! नेतृत्वको यो संकटमा नेतृत्व सम्हाल्न तपाईँ हच्किरहनुभएको छ?
त्यस्तो कुरा बालेनजीले आन्तरिक रूपमा धेरैलाई भन्नुभएको छ। नाम नलिऊँ तर धेरै मान्छेलाई अघि बढ भन्नुभएको छ बालेनजीले। दल गठन गर र अघि बढ भन्नुहुन्छ बालेनजी धेरैलाई। तर सबैको गुनासो के छ भने–बालेनले अघि बढबढ भन्छन्, पछाडि फर्केर हेर्दा बालेन नै हुँदैनन्।
मैले त सार्वजनिक रूपमै भनेको छु। बालेन एउटा ब्रान्ड हो। एउटा पीआर क्रिएसन हो। यसमा उहाँको मार्गदर्शक र आर्किटेक्ट कुमार बेन हुनुहुन्छ। र, उहाँको टिमको सक्षम सचिवालय भुपदेव शाहको नेतृत्वमा छ। उहाँहरूले नै बालेन ब्रान्डलाई टिकाइराखेको हो। उहाँहरूले नै महानगर चलाइराखेको हो।
बालेनलाई सुसज्जित रूपले प्रस्तुत गरिन्छ। केही दिन पहिले राती उहाँको फेसबुक स्ट्याटस आयो। बालेनको वास्तविक स्वभाव त त्यही नै हो। उहाँको इमानदार प्रस्तुति त्यही नै हो। जुन दिन बालेनले दोहोरो अन्तर्वार्ता दिनुहुन्छ, बालेनको छवि त्यही दिन ध्वस्त हुन्छ।
त्यो सन्दर्भमा उहाँको प्रस्तावलाई कसरी गम्भीरतासाथ लिने? दोस्रो, नीति, कार्यक्रम र न्यायलाई हेर्ने उहाँको दृष्टिकोण के हो? यस्ता गम्भीर विषयहरूमा उहाँ प्रस्ट हुनुहुन्न। यसबीचमा उहाँकै समर्थनमा एउटा वैकल्पिक दल बन्ने भन्दै प्रक्रिया अघि बढेको थियो। त्यसमा पनि उहाँको 'अगाडि बढ' भन्ने आश्वासन मात्रै थियो। तर उहाँको सैद्धान्तिक अडान प्रस्ट छैन। यी तमाम विषयमा उहाँको स्पष्टता नहुँदा नहुँदै "नयाँ नयाँ मिल, देश त म एक्लै बनाइदिन सक्छु" भन्ने कुरालाई मैले गम्भीरतापूर्वक लिने कुरा भएन।
तपाईँका कुरा सुनिसकेपछि त बालेन त केबल फुकेको बेलुनझैँ पो प्रतीत हुन्छन् त!
बालेनलाई लिएर लुसिफर आदि भनेर गरिने व्यक्तिगत टिप्पणीप्रति मेरो असहमति छ। तर उहाँको विचार र व्यवहारमा के फरक छ त? त्यसको चाहिँ तर्कसङ्गत प्रतिवाद हुनुपर्यो। मैले त अहिलेसम्म उहाँका कर्मबारे टिप्पणी मात्रै गरेको छु। उहाँको व्यक्तिगत विरोध गरेको छैन। यो कुरा ठीक छैन र सच्याउन सकिन्छ मात्रै भनेको छु।
तपाईँकै प्रश्नमा जाँदा मैले आफ्नो सबैभन्दा उत्तम भूमिका यही किसिमले पाउँछु। जेनजी आन्दोलनकै अग्रभागमा रहेका र यो प्रक्रियामा प्रवेश गरेपछि जुन रूपले उहाँहरू सामाजिक आन्दोलन या अन्य मुद्दामा बलियो गरी प्रस्तुत हुन सक्नुहुन्थ्यो, उहाँहरूको त्यो क्षमतामै आज र्हास आएको छ। म पनि कुनै किसिमले शक्ति समीकरणमा गएँ भने म पनि अनुबन्धित हुनेछु। मेरो स्वतन्त्रता या कम्फर्ट जोन भनेकै अहिले रहेको स्वतन्त्र भूमिका हो। एउटा नागरिकको भूमिका हो।
'केपी, बालेन, दुर्गाजस्ता पात्रहरूबिच फेस भ्याल्यूमा वैचारिक भिन्नता होला तर राजव्यवहारिक रूपमा धेरै अन्तर छैन। तिनीहरू आफ्नो अटलता र वर्चस्व कायम गर्न जुनै पनि हदसम्म जान तयार हुन सक्छन्' भन्नुभयो। केपी बालेनजस्ता अन्य पात्रहरू पनि होलान् नि त्यस्ता?
मेरो स्टेटमेन्ट आफै स्पष्ट छ। अधिनायकवादी, अति राष्ट्रवादी र आफू प्रश्नभन्दा माथि हुने, आफ्नो गल्तीबारे आत्मालोचना नगर्ने, आफ्नो अडानमा मात्रै कायम भइराख्ने, संशोधित हुँदा पनि चुपचाप हुने, दुई कदम पछाडि गयो भने हामी कमजोर हुन्छौँ भन्ने प्रवृत्तिसँग जोडेर मैले सो कुरा गरेको हुँ।

बालेनले समर्थन गरेको आन्दोलनले सत्ता बदल्यो, तर बालेन स्वंयकाे लोकप्रियता घट्दो देखियो। उनका पछिल्ला प्रतिक्रियाले त उनी राजनीतिको पछिल्लो विकाश क्रमबाट बेखुस र आक्रोशित पो देखिन्छन्, किन होला?
भदौ २४ गते उहाँलाई देशको नेतृत्व लिने अवसर थियो। शक्ति समीकरण पनि उहाँलाई पायक थियो। सोचेभन्दा स्थिति विकराल भएपछि उहाँले खुट्टा कमाउनुभयो। मेयरमै सीमित हुने उहाँको चाहना देखियो। हुन त यो सरकार बालेन र विभिन्न पक्षप्रति अनुबन्धित छ। तर कतिपय कानुनी सन्दर्भमा सरकारले 'ब्ल्याकमा जान मिल्दैन, ग्रेमा जानुपर्छ' भन्दा उहाँ आक्रोशित भएको देखिन्छ।
अहिले त्यस्तो लाग्नुथियो भने २४ गते नै देशको नेतृत्व लिएको भए भइहाल्थ्यो नि बालेनजीले। तर मेरो चाहना त त्यो थिएन। मलाई त डर छ, उहाँको एकदमै अधिनायकवादी प्रस्तुतीकरण हुन्छ भन्ने थाहा छ। लोकतन्त्रको आधारभूत तत्त्वबारे नै उहाँ प्रस्ट हुनुहुन्न। त्यसो हुँदा उहाँ त कसैप्रति पनि उत्तरदायी हुनुहुन्न भन्नेमा मलाई डर छ। तर त्यस दिन प्रधानमन्त्री बन्न चाहनुभएको भए उहाँलाई कसैले रोक्न सक्दैनथ्यो। अहिले आएर कचमच गरेर, बच्चाजस्तो व्यवहार गर्नु नै थियो भने त्यही दिन नेतृत्व गरेको भए भइहाल्थ्यो नि!
तपाईँ नेता बनेर, सबैका सामु देखिएरै जान किन तयार हुनुहुन्न? कि आउँदो काठमाडौँ महानगरको चुनावमा बालेनसँग भिड्ने योजनामा हो तपाईँ? कतिपयले त्यस्तो आशंकासमेत व्यक्त गर्छन् नि?
के कुरामा म स्पष्ट छु भने मेरो सबैभन्दा ठूलो शक्ति र प्राकृतिक प्रस्तुति नै एउटा नागरिकका रूपमा हो। एउटा स्वतन्त्र आवाजका रूपमा हो। भोलि गएर मैले कुनै समूह गठन गर्ने, जनप्रतिनिधि हुने आकांक्षा राखेँ भने अहिलेको भूमिकाबाट वर्जित हुन्छु। म पनि कोही कसैप्रति उत्तरदायी हुन्छु । कोही कसैप्रति अनुबन्धित हुन्छु होला। त्यस्तो बेलामा अहिलेझैँ प्रभावकारी भूमिका खेल्न सक्दिनँ होला।
प्रतिकुल अवस्थामा नै सही, सत्य बोल्ने जुन ल्याकत राखेको छु, राजनीतिमा संलग्न भएपछि त्यो ल्याकत नै कमजोर हुन्छ भन्ने मेरो बुझाइ छ। त्यसकारण कुनै दल, समूह वा एनजिओ गठन गर्ने इच्छा तत्कालको समय या आउँदो दशकमा नै समेत मलाई जागृत हुन्छजस्तो लाग्दैन।
'तपाईँ पनि आखिर राजनीतिलाई फोहोरी खेल नै ठान्नुरहेछ' भनेर नयाँ जेनरेसनले तपाईँलाई आरोप लगायो भने के भन्नुहुन्छ?
कोही कसैले आफ्नो भावना व्यक्त गर्दा पनि सो राजनीतिक हुनसक्छ। घरबाट समाजमा निस्कने बित्तिकै राजनीतिमा आइसक्यो मान्छे। पार्टीगत राजनीतिमा आउने नआउने आफ्नो ठाउँमा छ।
राजनीतिलाई दलगत रूपमा, भाषण गर्ने वा टेबल-कुर्सीमा बस्ने रूपमा मात्रै बुझ्नु हुन्न। यो संकुचित बुझाइ हो। कसैले जेनजी समूह बनाए या नागरिक समूह बनाए भने त्यहाँ पनि राजनीतिक भूमिका हुन्छ।
अहिले धेरै मान्छेहरू राजनीतिक भूमिकाको आकांक्षी देखिनुभएको छ। जेनजी मुभमेन्टको कहीँ कतै सिल्भर लाइनिङ छ भने यसले समाज र दलको नेतृत्वको यथास्थिति चिर्न खोजेको छ। नयाँ अनुहारहरू आउन खोजेका छन्। अहिले उहाँहरू अभ्यासमा हुनुहुन्छ, नेतृत्व विकास गरिराख्नुभएको छ। जसका कारण उहाँहरूले आउँदो १०/२०/३० वर्ष सबल नेतृत्व दिन सक्नुहुन्छ। मजस्तो मान्छेको भूमिका उहाँहरूलाई बिना कुनै पूर्वाग्रह सरसल्लाह दिनुमा पो हो कि! समाजमा ठूलो रिक्तता त्यहाँ पनि छ नि। समाजमा त्यस्ता मान्छे पनि आवश्यक छन् नि!
अब तपाईँले कुन दललाई समर्थन गर्नुहुन्छ?
सबै जेनजी नेतृ्त्वकर्तालाई मैल भेट्दा दिइराखेको एउटा मात्र सुझाव हो– उहाँहरू मन्त्री बन्ने या शक्तिको आकांक्षाबाट पर जानुपर्यो। उहाँहरूले अध्ययन गर्नुपर्यो, समाचार पढ्नुपर्यो। को कसको राजनीति के हो भनेर बुझ्नुपर्यो। निष्पक्ष स्वतन्त्रताको अभ्यास गर्नुपर्यो। पारदर्शी, जिम्मेवार र जबाफदेही हुनुपर्यो।
हिजो जेनजीमध्येकै कोहीले सुझाव माग्दा त्यही भनेँ–तपाईँहरूले क्याम्पेनमात्र गरेर पुग्दैन। जल्दोबल्दो विषयमा धारणा निर्माण गर्नुपर्यो। धारणा निर्माणकै आधारमा तपाईंहरूबीच एकता र ध्रुवीकरण दुवै हुन्छ। अव्यवस्थित बसोबासीलाई ७ दिनभित्र हटाउने भनेर कुलमानजी र बालेनजी मिलेर अल्टिमेटम जारी गर्नुभएको छ, त्यसमा जेनजी अभियन्ता कहाँ उभिनुहुन्छ? मधेसका केही जिल्लामा हैजा फैलिएको समाचार छ, त्यसमा विभिन्न सरकारको भूमिका के हो? त्यसमा जेनजीको भूमिका के हुनसक्छ?
बन्चरेडाँडाको वातावरणीय क्षयीकरणको जुन कुरा आयो, काठमाडौँको फोहर व्यवस्थापनको कुरा आयो, यस मुद्दामा जेनजी कहाँ उभिनुहुन्छ? देशका जल्दाबल्दा र तात्कालिक समस्याबारे जेनजीले धारणा निर्माण गर्न थाल्नुपर्यो। नत्र भने उहाँहरूको अस्तित्व त एउटा एनजिओका रूपमा सीमित हुने डर भयो।
स्वतन्त्रता भन्ने कुरा सित्तैमा आउँदैन र स्वतन्त्रताको लागि संघर्ष गर्नुपर्छ भन्नहुन्छ तपाईँ। के भोलिका दिन पपुलिस्टहरू उदाएर हाम्रा स्वतन्त्रता खोस्लान्? त्यो प्रयत्न गर्लान्? आउँदो चुनावमा पपुलिजम कति हाबी होला?
सडक व्यवसायीहरूको मुद्दामा या त्योभन्दा पहिले अन्य मुद्दामा धारणा राख्ने क्रममा म भनिरहेको थिएँ–आफ्नो सिद्धान्तप्रति व्यवहारिक इमानदारिता भएन दलहरूको। दलहरूको विशेष पहलकदमीमा सन् २०१५ मा संविधान आयो, जुन व्यवस्था आयो, त्यो नै कमजोर हुने अवस्था आउँछ भनेर निरन्तर भन्दै आएको थिएँ।
राजनीतिक र व्यवहारिक इमानदारिताको खडेरीको पृष्ठभूमिमा स्वाभाविक रूपमा पपुलिजमले वैधता पाउँथ्यो नै। त्यसले समस्या सिर्जना गरेर संविधानलाई कमजोर पार्नेछ भन्दै हामीले निरन्तर खबरदारी गरिराखेका थियौँ। त्यो नसुन्दा पनि आजको अवस्था आएको हो। अहिले सबैजसोका कुरा सुन्दा लाग्छ–हाम्रोमा पपुलिजम संस्थागत भइसक्यो। एक किसिमले हामीहरू दुई कदम पछाडि गइसकेका छौँ।
अब समयमा चुनाव भएन र व्यवहारिक परिवर्तनको अनुभूति जनताले पाएनन् भने त हामी अझै फासिवादतर्फै पुग्ने हो कि? फासिवाद नै संस्थागत हुने हो कि! अति राष्ट्रवाद संस्थागत हुने दिशामा हामी बढ्ने हो कि? त्यसको डर पो देखियो त!
भदौ २४ गते नेताहरूका घर, विभिन्न व्यवसाय/सार्वजनिक सम्पत्तिको तोडफोड र आगजनी भयो। अब विरोध प्रदर्शनको यही तरिका नै संस्थागत हुने पो हो कि? शान्तिपूर्ण विरोध छाडेर सबै कुरालाई व्यक्तिगत बनाउँदै जाँदा त त्यसले अन्ततः देशलाई भँड्खालोमै हाल्ने हो। यसको एक मात्र निदान भनेको समयमै चुनाव हो।
कतिपय मान्छे ठान्छन् कि अब बालेन, हर्क या कुलमानहरूको साझा पार्टी आयो या नयाँ कुनै दल आयो भने देशले विकाश र सुशासनको तीव्र गति लिन्छ। समाज र सामाजिक सञ्जालतिर यस्ता कुरा सुनिन्छन् नि!
सामाजिक सञ्जाल निश्चित प्रिभिलेज भएका, विशेष गरी पुरुषहरूले हल्ला गर्ने थलो भएको छ। सेन्टिमेन्ट म्यानुफ्याक्चर निर्माण गर्ने विषय पनि खास वर्ग र समुदायको हातमा छ।
समय क्रममा संयुक्त परिवार विग्रह हुन थाले। मानिसहरू बिदेसिन थाले। समाजका विभिन्न संरचना कमजोर भएर नयाँ निर्माण हुन नसकेको चरणमा अहिले छौँ। त्योसँग पनि जोडेर हेर्न सकिन्छ यो कुरालाई। तर आक्रोशले मात्र निकास दिँदैन। आक्रोश अभिव्यक्त भएर अहिले हामी कहाँ आइपुगेका छौँ? त्यसलाई सम्बोधन गर्ने कार्यक्रम पनि चाहियो। त्यतातिर जानुपर्छ हामी।
पपुलिजमलाई रोक्न मिडिया, दल र युवाको भूमिका के हुनसक्छ?
समाजमा इमानदारिताकै खडेरी देखिन्छ। त्यो हिसाबले पहिलो कदम भनेकै अहिलेका सबै पार्टीको प्रथम पंक्तिको राजनीतिक नेतृत्वले आफ्नो असफलता/ सीमितताको बोध गर्दै पछाडि हट्ने बेला आयो। लामो समययता ती दलमा युवा प्रवेश र पुस्तान्तरण हुनुपर्ने थियो।
अहिले नेपालको मिडियन एज २६ वर्ष (नेपालको जनसंख्याको आधा भाग २६ वर्षभन्दा कान्छो र आधा भाग २६ वर्षभन्दा जेठो छ) र एभरेज एज लगभग ३० वर्ष (सबै नेपालीको उमेरको औसत निकाल्दा लगभग ३० वर्षजति हुन आउँछ) छ। यस्तो देशमा नेतृत्वमा हुने व्यक्ति ३५ देखि बढीमा ४५ वर्ष उमेर समूहको हुनुपर्ने हो। तर हाम्रोमा त्यसमा र्हास देखिन्छ। तर त्यो देखिएको र्हासमात्रै हो कि! किनकि देशमा ३६ हजार जनप्रतिनिधि हुनुहुन्छ। त्यसो हुँदा देशमा नेतृत्वकै रिक्तता त हुँदै होइन।
शायद युवा नेतृत्व आउने वातावरण नै नबनेको पो हो कि? त्यस विषयमा सचेत रहँदै अब अनिवार्य रूपले पुस्तान्तरणतर्फ अघि बढ्नुपर्ने देखिन्छ।
अर्कोचाहिँ, सरकार र राजनीतिक दलहरूबीच संवाद र समझदारी हुनुपर्यो। जेनजी मुभमेन्ट र अन्य स्टेकहोल्डरहरूबीच समन्वय हुनुपर्यो। राजनीतिक र सामाजिक संस्थाहरूमा नयाँ पुस्ताले छिर्न, हक दाबी गर्न र अपनत्व महसुस गर्न पाउने स्थिति सिर्जना गरे पपुलिजम संस्थागत भएको अहिलेको परिस्थितिबाट उन्मुक्ति पाउन सक्छौँ होला।
भिडियो
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
