मेक्सिकोको बारमा आगलागी, ११ जनाको मृत्यु

मदिरा सेवन गरेको अपरिचित व्यक्तिले आफूलाई बारका कर्मचारीले निकालेको झोकमा आगो लगाएको सोनोरा महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ। 

तस्वीर: एएफपी

उत्तरी मेक्सिकोस्थित एक बारमा आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ।

उत्तरी राज्य सोनोराको सान लुइस रियो कोलोराडोको बारमा शनिबार उक्त घटना  भएको स्थानीय अधिकारीले बताएका छन्। आगलागीमा सात पुरुष र चार महिलाले ज्यान गुमाएका छन्।

मदिरा सेवन गरेको अपरिचित व्यक्तिले आफूलाई बारका कर्मचारीले निकालेको झोकमा आगो लगाएको सोनोरा महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ। बारमा रहेका महिलामाथि अभद्र व्यवहार गरेपछि उनलाई बारबाट निष्कासन गरिएको थियो। आगो लगाएर फरार उनको खोजी भइरहेको छ। 

सान लुइस रियो कोलोराडोका मेयर सान्तोस गोन्जालेज येस्कासले आक्रमणलाई दुःखद घटना भन्दै अनुसन्धानमा सहयोग गरिरहेको बताएका छन्।