पुष्पकमल दाहाल, माधव नेपाल र चन्दजीहरूले जवाफ दिनु पर्ने बेला आयो-भन्नुस् कमरेड, समाजवादको नाक कत्रो हुन्छ, हुनुपर्छ?
नेपाल यस्तो मुलुक हो, जहाँ कम्युनिस्ट ‘जार्गन’ र क्रान्तिकारी ढोँग ज्यादा बिक्ने गर्छ। अझ गएको ७० को दशकसम्म मनुवाद र मार्क्सवादको ‘फ्युजन’ अत्यन्तै रुचाइएको वैचारिकी बन्यो। त्यसैले नेपालका कम्युनिस्ट पार्टीको अविच्छिन्न नेतृत्वमा पण्डितहरू रहँदै आइरहेका छन्। अर्थात् कम्युनिस्ट पार्टीका अध्यक्ष र महासचिव बन्न ब्राह्मण कुलको हुनै पर्ने घोषित/अघोषित सर्त निर्लज्ज लागु गरिएको छ। त्यसो त लोकतन्त्रवादी भनिने दलहरूको अवस्था पनि कम्युनिस्टहरूभन्दा पृथक् छैन। यद्यपि यो आलेख कमरेडहरूप्रति लक्षित छ।
कम्युनिस्ट नामको पँण्डित्याई अन्त्येष्टिको कालखण्डमा पुगिसकेको वर्तमान अवस्थामा बाँकी रहेको जमिन हो, समाजवादीको। हाम्रो वर्तमान संविधानमा 'मुलुक समाजवाद उन्मुख' भन्ने शब्द प्रयोग गरिनु बेग्लै प्रसंग मान्न सकिएला, तथापि यो संविधान घोषणा भए यता समाजवादी दल निर्माणको होडबाजी नै चलेको छ। दलहरूको नाममा समाजवाद जोडिएकै छन्। पूर्व माओवादी नेता बाबुराम भट्टराईदेखि पूर्व एमाले नेता माधव नेपालसम्म, मधेसवादीको छवि बनाएका उपेन्द्र यादवदेखि पूर्व असन्तुष्ट कांग्रेसी महन्त ठाकुरसम्म समाजवादी।
एक दुई हप्ताअघि केही दिनअघि मात्रै माओवादी केन्द्र, जसपा, नेकपा एस र नेत्रविक्रम चन्दको नेकपासमेत समाजवादी मोर्चामा आबद्ध भएपछि कम्युनिष्ट पार्टी नामको ठगी धन्दाको अन्त्येष्टि गर्दै समाजवादीको नयाँ धन्दा सुरुवात भएको औपचारिक घोषणा भएको बुझ्नु जरुरी छ। कस्तो समाजवाद र को समाजवादी भन्ने सवाल गौण मान्ने गरिन्छ।
आजको सन्दर्भमा कांग्रेसलगायत लोकतन्त्रवादीको लोकतान्त्रिक समाजवाद र तत्कालीन विद्रोही माओवादीको कथित वैज्ञानिक (मार्क्सीय अर्थात् शास्त्रीय) समाजवादको औचित्य, व्याख्या र भाष्य समाप्त भइसक्यो। समाजवादी नामका दलहरूले कस्तो समाजवाद अंगिकार गर्ने हुन्, कहीँ कतै व्याख्या, संश्लेषण, विश्लेषण र परिभाषित गरेको देखिँदैन।
त्यस्तो स्पष्ट गर्नु पर्ने आवश्यक ठानिँदैन पनि। ती वैचारिक, सैद्धान्तिक बहसमा नअल्झी स्पष्ट विश्लेषण गर्न सकिन्छ। र, प्रश्न उठ्छ, समाजवादको नाक कत्रो हुन्छ कमरेड? किनभने समाजवादीको नेतृत्व पनि कम्युनिस्टहरूको ‘लिगेसी’मा ब्राह्मण अर्थात् नाक चुच्चो हुनेहरूकै छ। दलित र उत्पीडित समुदायको नेतृत्वको प्रश्न अहिले गर्ने बेला नभई सकेको सन्दर्भमा कम्तीमा गैरबाहुन र क्षत्री नेतृत्वसमेत विचारणीय हुन सकेन, सक्दैन। अर्थात् कम्तीमा थेप्चो नाक हुनेहरू समाजवादी बन्न सम्भव छैन, देखिएन। पुष्पकमल दाहाल, माधव नेपाल र चन्दजीहरूले जवाफ दिनु पर्ने बेला आयो-भन्नुस् कमरेड, समाजवादको नाक कत्रो हुन्छ, हुनुपर्छ? अब समाजवाद र समाजवादीको आधार तथा पहिचान नाककै आधारमा निर्धारण गरिनु पर्ने हो कि?
दाहाल : राख व्यापारी कि पुजारी ?
राख अर्थात् खरानी। देशका प्रधानमन्त्री तथा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल चलायमान अर्थात् विवादित, चर्चित, चतुर र सत्ताभोगी व्यक्तित्व मात्रै नभई कला चेत समेत भएका नेता हुन्। कुनै बेला बहुदलीय लोकतन्त्र सिद्ध्याउन संसदवादीलाई सफाया गर्नु अनिवार्य ठान्ने पूर्व विद्रोही नेता दाहाल बेला बेला पुलकित भई जिब्रो चिप्लाएर बोलिदिने बानीका कारण आफैँ समस्यामा पर्ने गरेका छन्। उनको नेतृत्वमा भएको सशस्त्र विद्रोहमा मारिएका १७ हजार मानिसमध्ये ५ हजार मानिसको हत्याको जिम्मा आफूले लिने विवादित अभिव्यक्तिका कारण हाल अदालतमा मुद्दा खेपिरहेका दाहाल फेरि अर्को विवादित बोलीका कारण झमेलामा परे। कार्यकर्ताको ताली र हौसलामा अलि बढी हौसिएर र भावनात्मक हुन गई जिब्रो चिप्लिरहने उनको सदाबहार दुःख हो। नयाँ-नयाँ फन्डा र अजेन्डामा जनता झुलाउने उनको कला क्षमता भने अद्भुत नै मान्नुपर्छ।
समाजवादी मोर्चाको नाममा पूर्व माओवादी झुन्डहरू जोडेर शक्ति आर्जन गर्ने मनोकांक्षा उनको नयाँ जुक्तिमा पर्छ। रह्यो कुरा, जनता समाजवादी पार्टी अर्थात् जसपाको। उपेन्द्र यादव फुटेका माओवादी पो होइनन्, तर दाहालको साथ र इशाराविपरित उनले कहिल्यै आफ्नो स्वविवेक प्रयोग गरे र? गौर नरसंहार काण्ड बिर्सिदिने हो भने, दाहालको निर्देशनमा चलेर उनलाई सधैँ लाभ नै भएको छ। यसरी समाजवादी मोर्चाको रूपरेखा तयार पारिएको छ।
प्रधानमन्त्री पदको तेस्रो कार्यकाल प्रारम्भ भएको पनि अलि अबेर गरेर भएको दाहालको छिमेकी मुलुक भारत भ्रमण देशका निम्ति उपलब्धिमूलक भएको मान्न नसकिएला, तर मुर्रा भैंसी भने खूबै चर्चामा रह्यो। उन्नत जातको मुर्रा राँगो नेपाल ल्याउनु हितकर नै छ। त्यसलाई संसदमा र बाहिर विवाद तथा चर्चाको विषय बनाइनु नियोजित षड्यन्त्र मात्र हो। जनताको सार्वभौम संसद्, आम सञ्चार क्षेत्र र जनताबीच धर्मनिरपेक्ष मुलुक नेपालका सरकार प्रमुखले भारत उज्जैनस्थित महाकालेश्वर मन्दिरमा पूजाआजा मात्रै गरेको भए उति विवादास्पद हुँदैनथ्यो। तर दाहालले देशको धर्मसम्बन्धी वैधानिक व्यवस्था विपरीत जनै र गेरुवस्त्र धारण तथा प्रदर्शन गरेर आफूलाई हिन्दु प्रधानमन्त्रीको सन्देश दिने जुन चेष्टा गरे, त्यो मुलुकको नीति, उनी सम्बद्ध मार्क्स—माओवादी विचारको दलप्रतिको गद्दारी एवं घात हो।
विडम्बना, उनी स्वदेश फर्केपछि सार्वभौम संसद्, आम सञ्चार, नागरिक समाज कहीँ कतै यो विषय गम्भीरतापूर्वक उठाइएन। कतिपयले दाहालको सो अनुचित कार्यको मुग्धदिलले स्वागत गरे, उनी अब स्वीकार्य प्रधानमन्त्री भएको लेख प्रकाशित समेत गर्न भ्याए। केही वर्ष पूर्व नै चतराधामका मठाधीश सिद्धबाबा उर्फ कृष्णबहादुर गिरिले दाहाललाई भैंसी पूजा गराएका थिए। गिरी तिनै व्यक्ति हुन् जसमाथि उनकै अनुयायीले बलात्कारी आरोप लगाएको सम्बन्धमा मुद्दा अदालतमा विचाराधीन छ। त्यो घटना ठट्टाको विषय बनाइए पनि नेपाली समाजले गम्भीरतापूर्वक नलिनुको परिणाम दाहालको जनै र गेरुवस्त्र काण्ड हो।
नेपालीमा एउटा चर्चित उखान छ, घरमा आगो लगाएपछि खरानीको के दुःख ! यो उखान दाहालको राजनीतिक जीवनसँग मेल खान्छ। सशस्त्र द्वन्द्व, हत्याहिंसा, खतरा, विद्रोहबाट माओवादी पार्टीको ठूलो शक्ति आर्जन गर्नुमा उनी 'सुप्रिम कमान्डर' रहेका कारण दाहालको मुख्य भूमिका र योगदान छ। शान्तिपूर्ण राजनीतिमा पहिलो ठूलो दल बन्नु र त्यस लगत्तै पार्टीमा आएको विग्रह, विभाजन र वैचारिक स्खलनको श्रेय पनि स्वयं दाहालकै भागमा पर्छ। ज्ञातव्य छ, उनको दल माओवादी केन्द्र हाल ३२ सिटसहित कमजोर तेस्रो दल हो। किनभने उनले माओवादी पार्टीको तीन दशकभन्दा लामो एकल र अविच्छिन्न नेतृत्व गरेका छन्।
हिन्दु धर्म संस्कार र परम्परा बमोजिम राखको पूजा गरिन्छ। दाहालले मुक्ति संघर्ष, पार्टी, संगठन र शक्तिमाथि आगो झोसेका हुन्, र त्यसैको राख अर्थात् खरानीको व्यापार गर्दै सत्तारोहण गरिआएका छन्। अतः उनी खरानीको व्यापारी स्वतः भए। त्यति मात्रै होइन, उनले खरानीको पूजासमेत गरेका छन्। त्यसैको उदाहरण हुन्, उज्जैनको जनै तथा गेरु वस्त्र काण्ड, भैंसी पूजा, दौरा सुरुवालको प्रोपागान्डा, साइत हेराएर प्रधानमन्त्रीको सरकारी निवास प्रवेश र श्री पशुपतिनाथको क्याबिनेट दर्शन आदि काण्डहरू। अतः सिद्ध हुन्छ, दाहाल राख व्यापारी र पुजारी दुवै हुन्। उनको विचारमा कम्युनिस्ट वा समाजवादी साधन मात्रै हुन्, साध्य भने हिन्दु, पहाडे, पुरुष र बाहुन नेता।
समाजवादको काल्पनिकी
समाजवाद एक आर्थिक र सामाजिक दर्शन हो। समाजवादी व्यवस्थामा धन सम्पत्तिको स्वामित्व र वितरण समाज वा राज्यको नियन्त्रण/अधीनमा रहन्छ। अर्थात् समाजवाद निजी सम्पत्ति राख्ने व्यक्तिको अधिकारको विपरीत व्यवस्था हो। समाजवादले व्यक्तिगत सम्पत्तिको अधिकारलाई निषेध गर्छ। नेपालका कम्युनिस्टहरू भ्रष्ट, धनाढ्य, सामन्त र लोभी रहेको अनगिन्ती उदाहरण छन्। चरम उच्च जातिवादी, सम्पन्न, अझ शैक्षिक र मेडिकल माफियाहरू कम्युनिस्ट नेतृत्वमा पुग्नु उनीहरूको आन्दोलन सफल नहुनाका मुख्य कारण हुन्। त्यो हालत समाजवादी दलहरूको पनि उत्तिकै महत्त्वपूर्ण वा मुख्य समस्या हो, हुनेछ। तसर्थ समाजवादी मोर्चा वा दलको औचित्य र आवश्यकता छैन।
नेपाल, भारतलगायत हिन्दु धार्मिक अतिवादी राजनीतिका कारण विभेद, शोषण, उत्पीडनमा पारिएका समुदाय सदाबहार भोट बैंक र मामुली कार्यकर्ता मात्रै हुन्। वर्ण व्यवस्था हाम्रो मुख्य समस्या हो, त्यसपछि मात्रै वर्ग आउँछ। तर जातको कुरा गर्नै हुन्न, वर्गको राजनीति गर्नुपर्छ भनेर 'स्कूलिङ' चलाउनेहरूलाई कम्युनिस्ट भनिन्छ। कम्युनिष्ट नेताहरूले कार्यकर्तालाई मुठ्ठीभर सामन्त, नोकरशाही, दलाल र दलाल पुजीवादी भनेर अमुक दुस्मनप्रति आक्रामक र आक्रोशित गराउँदै ल्याए। ती भनिएका व्यक्ति वा शक्ति को हो कमरेड भनेर कसैले प्रश्न गर्यो भने तिनले के जवाफ देलान् ? कसलाई देखाउलान् ? किनभने प्रशिक्षण दिनेवालालाई ती भनिएका शक्ति वा व्यक्ति को हुन् भन्नेबारे ज्ञान छैन। कतै आफैँमध्ये पनि पर्छन् कि? यो अध्याय समाप्त गर्दै अब समाजवादको यात्रामा निस्किएका कमरेडहरूलाई भारतका विख्यात शायर डा. राहत इन्दौरीको एक सायरी स्मरण गर्न मन लाग्यो:
जुबा तो खोल नजर तो मिला जवाब तो दे,
मैं कितनी बार लुटा हुँ, मुझे हिसाब तो दे।
(मुख त खोल, आँखा त जुधाऊ, जवाफ त देऊ म कति पटक लुटिएँ, मलाई हिसाब त देऊ।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
