आज बुधबार, दिनको अन्त्यसम्ममा देशभर के-कस्ता खबरले हेडलाइन बनाए, छोटकरीमा हेरौँ।
निर्वाचन आयोगले सामाजिक सञ्जालमा व्यापकरूपमा फैलिएको 'नो, नट अगेन' नामक अभियानमाथि धावा बोलेको छ। विभिन्न दलका शीर्ष, पाका नेताहरू फेरि-फेरि कार्यकारी पदमा दोहोरिनु हुन्न भन्ने आशयका साथ गरिएका पोस्टले निर्वाचनको वातावरण बिथोल्ने, भ्रम सिर्जना गर्ने भन्दै आयोगले यस्तो 'प्रचार' रोक्ने निर्देशन दिएको छ।
मंगलबार अबेला जारी गरिएको विज्ञप्तिका अनुसार अब उपरान्त यस्तो प्रचार गर्नेलाई कानुनबमोजिम १ लाख रुपैयाँ जरिवानादेखि पाँच वर्ष कैद हुनसक्ने छ।
‘प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि दलहरूको उम्मेदवारी दर्ता भइसकेको सन्दर्भमा 'No, Not Again', 'NO NOT AGAIN' र 'No. Not again' समेतका फेसबुक पेज/ग्रुपहरूबाट निर्वाचनमा उम्मेदवार रहेका दलका नेताहरूबारे विभिन्न लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण श्रव्य/श्रव्यदृश्य सामग्री प्रकाशन गरेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ उक्त विज्ञप्तिमा भनिएको छ, 'उल्लेखित कसूर गर्ने व्यक्तिहरूलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको हुँदा झुठा फेसबुक पेज/ग्रुपहरू तत्काल हटाइ उप्रान्त यस किसिमका गतिविधि नगर्न सम्बन्धित सबैलाई जानकारी गराइन्छ।'
आयोगको यस्तो चेतावनी आएपछि विभिन्न सामाजिक सञ्जाल प्रयोगकर्ताले भने यो निर्देशन अभिव्यक्ति स्वतन्त्रताको विपरीत भएको जिकिर गरेका छन्। केहीले आयोगको यस्तो एकपछिको अर्को 'काम देखाउने हुटहुटी' लाई चुनौती दिँदै अझै 'नो! नट अगेन' का पोस्ट आफ्ना टाइमलाइनमा राखेका छन्।
यसका साथै कांग्रेस, एमालेलगायत दलका नेताले पनि आयोगको पछिल्लो विज्ञप्तिको औचित्यमाथि प्रश्न उठाएका थिए।
-----------------
बढ्दै बागी उम्मेदवार, कारबाही गर्दै गठबन्धन
असन्तुष्ट कार्यकर्ताको बढ्दो बागी उम्मेदवारी सत्ता गठबन्धनका लागि टाउको दुखाइको विषय बनेको छ। तसर्थ आफ्ना नेता 'बागी हुने' परिदृश्य, त्यसबाट दललाई पर्नसक्ने प्रत्यक्ष र अप्रत्यक्ष घाटा न्यूनीकरण गर्न चुनावी-साझेदार दलहरू कारबाही-रणनीतिको शरण परेका छन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको शीर्ष नेताहरूको बैठकमा कारबाहीबारे छलफल भएको र यो विषयमा सहमति भइसकेपछि १-२ दिनभित्र प्रक्रिया शुरु हुने भनिएको छ।
निर्वाचन आउन एक महिनाभन्दा कमको समय रहेको अवस्थामा शायद असन्तुष्ट पक्षलाई मनाउनुभन्दा कारबाही गरेर नै फाइदा हुने हिसाब शीर्षस्थ नेताहरूको हुनुपर्छ।
यसैगरी, चुनाव नजिकिँदै गर्दा स्थापित दलका नेताहरूका लागि आफ्ना रिसाएका कार्यकर्ताका साथै स्वतन्त्र उम्मेदवारी दिने चलनमा आएको ह्वात्तै बढोत्तरीले उत्तिकै चुनौती दिएको छ।
-----------------
एउटा कुरा ट्याउँ-ट्याउँको
केही वर्षअघि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले महिला नेतृहरूले समानता, सहभागिता र प्रतिनिधित्वको कुरा उठाउँदा यसलाई एनजीओले सिकाएको 'ट्याउँ-ट्याउँ'को संज्ञा दिएको थिए। जुटेको नेकपा फुटेर फेरि नेकपा (एमाले) भइसक्दा पनि त्यो 'ट्याउँ-ट्याउँ' यथावत छ।
दिपा दाहालले ukaalo.com का लागि तयार पारेको रिपोर्ट (एमालेमा महिला : अघि बढ्ने बाटै ‘बन्द’) मा लेखिएको छ 'संसदीय राजनीतिमा सबभन्दा धेरै समावेशी अभ्यास आफूले गरेको दाबी गर्ने एमालेमा महिलालाई प्रतिस्पर्धाकै लागि योग्य नठान्ने सोच हावी भएको गुनासो चुलिँदो छ।'
यो समस्या एमाले-एक्स्क्लुसिभ भने पटक्कै होइन।
उदाहरणका लागि, नयाँ पत्रिकाको हालसालैको रिपोर्ट अनुसार,
• संघीय निर्वाचनमा २२६९ पुरुष र २३२ महिला उम्मेदवार छन्,
• प्रदेशसभामा ३१३९ पुरुष र १९७ महिलाको उम्मेदवारी परेको छ।
प्रत्यक्षतर्फ एमालेले जम्मा १४४ जना उम्मेदवार उठाउँदा १२ जना महिलाको उम्मेदवारी दर्ता गराएको थियो भने नेपाली कांग्रेसले ९२ जना उम्मेदवार उठाउँदा ५ जना महिला मात्रै उम्मेदवार उठाएको छ।
नेकपा (माओवादी केन्द्र) ४७ जनाले उम्मेदवारी दिँदा ८ जना महिला उम्मेदवारको मनोनयन गरेको थियो।
महिला नेतृहरूले समावेशीताको मुद्दा उठाउँदा 'ट्याउँ-ट्याउँ नगर्न' अथवा 'बढ्ता नबोल्न' भन्दै पन्छ्याउने नेताहरूको रवैया अझै केही वर्ष 'काग कराउँदै गर्छ पीना सुक्दै गर्छ' भन्दा माथि उठ्न सक्ने देखिएको छैन।
-----------------
नेपाल संवत् ११४३ को आगमन, म्ह: पुजा गरिँदै
नेपाल संवत् ११४३को शुरुवात भएको छ। नेपालका विभिन्न स्थान, खासगरी काठमाडौँ उपत्यकामा रहेका नेवा: हरूले नयाँ संवत्को आगमन हर्षोल्लासका साथ मनाउँदैछन्। उपत्यकाका केही स्थानमा भने हिजै नेपाल संवत् मनाइएको थियो।
राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ (इ.सं ८८०) मा गरीब जनताको ऋण मोचन गराएसँगै नेपाल संवत्को शुरुवात भएको थियो।
कात्तिक शुक्ल प्रतिपदाका दिन आज म्ह: पुजा पनि गरिँदैछ। यस महिना प्रतिपदा तिथी दुई दिन - मंगलबार र बुधबार - परेको कारण एकथरीले हिजै म्ह: (आत्म) पूजा गरेका थिए।
आत्मा नै परम र सबैभन्दा महत्त्वपूर्ण भएकाले यसै तत्त्वको ससम्मान पूजा गर्ने चलन रहेको जानकारहरू बताउँछन्। यही 'स्व:' सन्तुष्ट रहे देवी-देवता पनि प्रसन्न हुने विश्वास रहिआएको छ।
-----------------
विचार
'महिलाहरूले चुनाव लड्न र जित्न सक्दैनन्’ भन्ने सोचको परिणामस्वरूप नै मैले टिकट पाइनँ। यसलाई महिलाहरूको ‘फेस भ्यालु’ मात्र देखाउने र केही महिलालाई प्रदर्शन गरेर समताको नाटक गर्ने अभ्यासका रूपमा बुझेको छु।
चुनावमा महिला प्रतिनिधित्व र सहभागितामूलक समावेशीताबारे जयपुरी घर्तीको टिप्पणी: विस्तृतमा पढ्नुहोस् : जित्ने क्षेत्रमा पुरुष, समानुपातिकमा व्यापारी र आफन्त
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
