Wednesday, May 08, 2024

-->

चुनावमा उम्मेदवार
जित्ने क्षेत्रमा पुरुष, समानुपातिकमा व्यापारी र आफन्त

सोच र चिन्तन नबदलिएसम्म, पूर्ण समानुपातिक प्रणाली हुँदा पनि विनोद चौधरीहरूजस्ता पैसावाला व्यापारीहरूलाई पार्टीले फ्याट्टै एक नम्बरमा ल्याइदिने खतरा छ।

जित्ने क्षेत्रमा पुरुष समानुपातिकमा व्यापारी र आफन्त

समाजमा महिला र पुरुष समान हुन् भन्ने चेतना अझै पूर्ण रूपमा पुर्‍याउन सकिएको छैन। विगतमा पितृसत्तावादी सोच र चिन्तनलाई अन्त्य गर्ने, महिला र पुरुष समान ढंगले अघि बढ्ने, दुईबीच समान व्यावहार गर्ने सिद्धान्तद्वारा निर्देशित भएर हामीले राजनीतिक आन्दोलनहरू गर्यौं। व्यवहारमा भने अझै राम्रोसँग लागू भएको छैन।

लामो समय यता निरन्तर राजनीतिमा लागेका महिलाहरूलाई समेत यसपटक पनि सम्मानजनक रूपमा संघीय तथा प्रदेश चुनावमा पार्टीहरूले उम्मेदवार बनाएनन्। पार्टीहरूको जनमत राम्रो भएका ठाउँमा छानीछानी पुरुषलाई मात्रै टिकट दिइयो। यद्यपि, मैले निकालेको निचोड चुनावबाट प्रमाणित हुन भने बाँकी नै छ।

अविश्वासको संस्कृति
‘पार्टीका तर्फबाट प्रतक्ष्यतर्फ चुनाव लड्छु’ भनेर मैले धेरै पहल गरेँ। तर, पार्टीले यसपटक पत्याएन। टिकट पाएको भए अवश्य नै आफ्नो क्षेत्रमा जित्थेँ। महिलालाई दोस्रो दर्जाको नागरिक ठान्ने, ‘महिलाहरूले चुनाव लड्न र जित्न सक्दैनन्’ भन्ने सोचको परिणामस्वरूप नै मैले टिकट पाइनँ। यसलाई महिलाहरूको ‘फेस भ्यालु’ मात्र देखाउने र केही महिलालाई प्रदर्शन गरेर समताको नाटक गर्ने अभ्यासका रूपमा बुझेको छु। 

यत्रा आन्दोलन, संघर्ष र केही हदसम्म प्रगतिशील संविधान बनिसक्दा पनि हाम्रो सोचमा परिवर्तन आउन नसक्नुकै परिणाम हो यो। तर, समाजमा महिलाहरूप्रति हेर्ने दृष्टिकोणमा ठूलो परिवर्तन ल्याउने पार्टी माओवादी हो। जनयुद्धको जगमा टेकेरै नै केही अग्रगामी परिवर्तनहरू सम्भव भएका हुन्। महिला, उत्पीडित जाति, वर्ग र क्षेत्रको संवेदनशीलता र आत्मसम्मानलाई स्थापित गर्न माओवादी एक हदसम्म सफल भएको हो। युद्धबाट संसदीय मोर्चामा आएलगत्तै, पहिलो संविधानसभाको निर्वाचनमा माओवादीका तर्फबाट २४ महिलाहरूले प्रतक्ष्य निर्वाचनमा जितेरै आए। उतिखेर म माओवादीको महिला संगठनको अध्यक्ष पनि थिएँ। तर, अहिले सर्वत्र महिला सहभागिता कम हुँदै गएको छ। 

माओवादीले त्यति ठूलो जनयुद्ध गरेर राज्यसत्ता परिवर्तन गर्यो। महिला–पुरुषलाई समान ढंगले अघि बढाउने गरी हाम्रो पार्टीले नीतिसमेत बनायो। त्यसलाई कार्यान्वयन गर्ने प्रक्रियामा समस्या आए। पछिल्लो चरणमा माओवादी केन्द्रले समेत जनतासँग जोडिएका, जित्न सक्ने र कार्यकर्तामा स्थापित, स्वच्छ तथा इमान्दार नेतृत्वप्रति विश्वास गरेको देखिएन। त्यसो हुँदाहुँदै पनि माओवादी पार्टी अन्य दलहरूभन्दा महिलाका सवालमा संवेदनशील छ भन्ने ठान्छु।

सैद्धान्तिक स्खलन
महिलामाथि विश्वास नगरिनुको कारण सामन्ती सोच र संस्कृति हो। संस्कृतिले नै सोचाइ निर्माण गर्ने हो। पितृसत्तावादी सोच र चिन्तन अझै पनि जब्बर छ। आर्थिकलगायत अन्य विषयको पनि त्यसमा प्रभाव हुन्छ। यदि माओवादी केन्द्रले पूर्णरूपमा राज्यसत्ता कब्जा गर्न पाउँथ्यो भने यीलगायत अन्य मुद्दामा आमूल परिवर्तनहरू हुन्थे भन्ने लाग्छ। 

चुनावको मुखमा, पार्टीले उम्मेदवारबारे निर्णय गरिसकेपछि पार्टीभित्र हंगामा मच्चाएर अहिले केही गर्न सकिन्नँ। त्यसो गर्नु उचित होइन पनि। अब हाम्रा पार्टीका उम्मेदवारहरूलाई जिताउन लाग्छौँ। यसपछि भने हामी समताका बारे गम्भीर बहस र छलफलमा जानुपर्छ। यसबारे मैले पार्टीभित्र बहस उठाउनेछु, आन्तरिक बैठकमा कुरा राख्नेछु। 

तर अर्को सत्य के हो भने, हाम्रो पार्टीले मात्र प्रयत्न गरेर सामाजिक न्यायका विषयहरू हल हुने देखिँदैन। सिंगो राज्य नै संविधानमा भएका अधिकारहरूलाई कार्यान्वयन गर्न लाग्नुपर्छ। आउँदो चुनावको परिणाम आएपछि त्यसलाई विश्लेषण गरेर नेपाली महिला आन्दोलन, महिला नेतृत्व र महिला प्रतिनिधित्वबारे फेरि पनि छलफल गर्नेछौँ। 

सैद्धान्तिक प्रशिक्षण
आन्दोलन र पार्टीमात्रै होइन, जीवन या परिवार चलाउन आदर्श र सिद्धान्त आवश्यक पर्छ। बाहिर घोषणा नगरिए पनि व्यक्ति वा परिवारको जीवनको अन्तर्यमा कुनै दर्शन, प्रेरणा वा सिद्धान्त लुकेकै हुन्छ। पार्टीको जीवनमा त त्यस्ता सिद्धान्त वा दर्शनहरू सार्वजनिक रूपमै हुन्छन्। हाम्रो पार्टीको पनि दर्शन र विचार छ। तर, सिद्धान्तका आधारमा राजनीतिक कार्यदिशा नबढ्दा यो संकट आएको हो। 

अहिले राजनीतिक विचारभन्दा पनि पैसा र पदको मात्रै हिसाब छ सर्वत्र। हाम्रो पार्टीमा पनि त्यो छिरेझैँ लाग्छ। कसरी आफ्ना मान्छे ‘ठाउँ’मा पुर्‍याउने, कसरी सम्पत्ति हडप्ने र पदमा पुग्नेजस्ता कुरामा सबैजसो पार्टीहरू लागेका कारण तिनका विचार र सिद्धान्त कमजोर हुँदै गए। त्यसो भएपछि स्वत: वैचारिक प्रशिक्षणलाई बेवास्ता गर्न थालियो। सिंगो राज्यलाई सम्मुन्नत र न्यायपूर्ण कसरी बनाउने भन्ने चिन्तन हामीमा भएको भए पार्टीमा विचार र प्रशिक्षणहरू नियमित हुन्थ्यो होला। त्यसअनुसार पार्टी अघि पनि बढ्थ्यो होला। 

तर वर्षौंसम्म पार्टी बनाउन लागेकाहरूलाई भन्दा पैसा बुझाउने ‘नयाँ जोगी’हरूलाई पद बाँड्न थालियो। यसले हाम्रो आन्दोलन र राजनीति नै गलत ठाउँमा जाँदैछ। यसले न राष्ट्रियताको संरक्षण गर्छ, न त हाम्रो विचार, सिद्धान्त र जनहितको नै। यस्तो सोच र अभ्यास नबदलेसम्म न्यायपूर्ण परिवर्तन हुँदैन।

विचार र राजनीतिका हिसाबले नै पार्टी समस्यामा फसेपछि अन्य सामाजिक समस्या आउनु स्वभाविक हो। यी समस्याबारे कुरा उठाउँदा हाम्रो नेतृत्वले स्वीकार्दैन। लेख्नकै लागि राम्रा दस्तावेज र नीति लेखिन्छन्, तर कार्यान्वयन गर्ने बेला महत्व दिइँदैन। राष्ट्र, जनता, सिद्धान्त गौण तर पद–पैसा महत्वपूर्ण हुने भएपछि मुक्ति र न्यायका आन्दोलनबाट आएकाहरूसमेत बिस्तारै साँघुरो चेतनामा पुग्छन्। त्यसो भएपछि आखिर हामी पुग्ने विसर्जनतिर नै हो। विचारहिनताकै कारण अन्तत: पार्टीहरू कम्पनी प्रणालीमा जाने खतरा भयो। 

कहिलेकाहिँ त अहिलेका दलहरू नै किन बनेका छन् भन्ने लाग्छ मलाई। नेपालमा यति धेरै पार्टीहरू नै किन चाहिएको सोध्न मन लाग्छ। एकातिर एउटा गठबन्धन छ, अर्कोतर्फ अर्को गठबन्धन। यी दुबै गठवन्धन विचार र सिद्धान्तका आधारमा बनेका होइनन्। 

निर्वाचन प्रणाली 
अहिलेका बेथिति आउनुमा हाम्रो निर्वाचन प्रणाली पनि जिम्मेवार छ। अहिलेको निर्वाचन प्रणाली परिवर्तन गरेर पूर्ण समानुपातिक निर्वाचनमा जानुपर्छ भन्ने हाम्रो पार्टीको नीति नै हो। तर, पूर्ण समानुपातिक हुँदा मात्रै पनि अहिले बेथिति हट्छ नै भन्ने सुनिश्चितता छैन। सोच र चिन्तन त बदलिनैपर्छ।

यही निर्वाचनकै बेला सबैजसो पार्टीमा प्रदेश र संघको चुनावमा एक नम्बरमा समानुपातिकमा सिफारिस गरिएकाहरूलाई माथिको नेतृत्वले नाम हटाएर अन्त्यतिर राखेको छ, अन्त्यतिर नाम भएकालाई माथि तानेर एक या दुई नम्बरमा राखिएको छ। यस्तो सोच र चिन्तन नबदलिएसम्म, पूर्ण समानुपातिक प्रणाली हुँदा पनि विनोद चौधरीहरूजस्ता पैसावाला व्यापारीलाई पार्टीले फ्याट्टै एक नम्बरमा ल्याइदिने खतरा छ। 

छलफल, अन्तरसंघर्ष र प्रशिक्षण सबै हिसाबले चलाउनुपर्छ। तर, त्यसभन्दा पहिले सोच बदल्नुपर्छ। हामीलाई सत्ता, पद र पैसा सबै चाहिन्छ। तिनै विषयमात्र सबैथोक होइन। मुख्य कुरा विचार र सिद्धान्तअनुसारको पार्टी बनाउनुपर्‍यो। सिद्धान्तअनुसार पार्टी चल्नुपर्‍यो। सिद्धान्तकै आधारमा सत्ता, पद र पैसालाई चलाउनुपर्‍यो। 

(माओवादी नेता घर्तीसँग गरिएको कुराकानीमा आधारित। )


सम्बन्धित सामग्री