…त्यसो हुँदाहुँदै पनि हामी बाँच्नुपर्छ

जीवन फालेपछि सुख र दुःख नै बाँकी नरहने हुँदा यही जीवनका सुख दुःख भोग्न, न्याय र अस्तित्वका लागि लड्नकै लागि पनि हामी बाँच्नुपर्छ।

मृत्यु एउटा मिठो सपना हो। शायद त्यसैले जीवनदेखि थाक्दाथाक्दै मान्छे अनन्तः विश्राम या लामो निद्रामा विलीन हुन खोज्छ। मिठो स्वप्नमा भएको मान्छे अचानक बिउँझिँदा वा कसैले बिउँझाइदिँदा विचलित हुन्छ। किनकि, ऊ अर्को विपना नामक दुःस्वप्नमा आइपुगेको हुन्छ। विपना पनि एक भयानक दुःस्वप्न या ‘नाइटमेयर’ हो बाँच्नेहरूका लागि। बाँच्नुको आम परिभाषा एउटा भएपनि प्रत्येक जीवनको भोगाइ बेग्लै हुन्छ। कतिका लागि जीवन निस्फिक्री उडानझैँ भए पनि कतिका लागि कटु हुनसक्छ। 

भन्नलाई हामी जीवनदेखि भागेर मरिरहेकाहरूलाई 'कायर' भनिदिन्छौँ। तर, कमसेकम स्वमरण गर्नेहरूका नजरमा मर्न डराउनेहरू पो बढी कायर हुन् कि! किनकि, प्रत्येक व्यक्तिका सत्य अलग हुन्छन्। मर्नेहरूको सत्य र बाच्नेहरूको सत्य एउटै हुँदैन। त्यसैले, बाच्नेहरूले मर्नेहरूको सत्य बुझ्दैनन् र बुझ्न खोज्दैनन्, नत मर्नेहरूले नै बाच्नेको। 

'आत्महत्या कायरता हो, भगौडा बन्नु हो किनकि जिउनु भनेकै सङ्घर्ष गर्नु हो', आम मानिसबीच यो एउटा 'क्लीसे' जस्तै बनिसकेको छ। कसैको मरणपछि हामी सहजै भनिदिन्छौँ, 'त्यो मरेछ। डिप्रेसन थियो क्यारे! अति महत्वाकांक्षा राखेपछि त्यस्तै हुन्छ। सक्ने काम गर्नुपर्छ, घाँटी हेरेर पो हाड निल्नुपर्छ।' तर बाँचेर हिँड्न पनि त कहाँ त्यति सहज छ जतिखेर आर्थिक र सामाजिक विसंगतिहरू बढिरहेका छन्। 

केही समय पहिले होनहार युवा प्रेमप्रसाद आचार्य बितेर गए। 'स्वमरण' गरेका आचार्य मूल धारका मिडियासँगै सामाजिक सञ्जालमा पर्याप्त छाए। लाखौँलाख मान्छेहरूको सम्झनामा शायद उनी बाँच्लान्, तर यो घटना एउटा विषम समयको आर्थिक तथा सामाजिक परिस्थितिहरूको विकराल उजागर  हो, 'मनिफेस्टेसन्' र चित्कार हो। सो घटना प्रेमप्रसाद र उनका आफन्तहरूको जीवनको त्रासदी मात्र होइन, वर्तमानको निर्मम नियतिको अभिव्यञ्जन पनि हो।

जाँदाजाँदै प्रेमप्रसादले उजागर गरेका विषयहरू गम्भीर छन्, तर दुःखको कुरा, समयले त्यसलाई छिट्टै नै गौण बनाइदिन्छ, हराएर जान्छ। घटनापछि न परिस्थितिजन्य विषमताको गहन अध्ययन, खोज र अनुसन्धान हुनेछ, न त सरकारको चासोको विषय हुनेछ नै हुनेछ। सरकारको सरोकार केबल औपचारिकता पूरा गर्नु हो। केही बोलेजस्तो, केही गर्न खोजेजस्तो अभिनय। आक्रोश र भावोत्तेजनामा एकैछिन् जनता उठ्छन्, तात्छन् अनि एकैछिनमा सेलाउँछन्। प्रेमको अग्निदहनको तस्वीर र भिडियोले तिलमिलाएका सर्वसाधारणमध्ये कतिले सम्भवतः उनलाई भुलिसके पनि होलान्। अग्नि लप्काको दृश्यले अत्तालिएका उनीहरू शायद आफ्नै जलनका धुवाँभित्र हराउन थालिसके। 

प्रेमप्रसादको स्वमरण पहिलो होइन, न त अन्तिम नै। कर्जा तिर्न नसकेका कारण खासगरी तराई क्षेत्रमा प्रेमलाल र प्रेममतीहरूका दुखद खबरहरू आइरहेका छन्। कति प्रेमप्रसादहरू मरे, कतिपय बाँचेरै मरिरहेका छन्। प्रेमप्रसादको आगोको लप्का हामीले देख्यौँ तर झण्डै हरेक दिनजसो बाकसभित्र बन्द भएर अन्ततः आगोमै समाहित हुन आउने प्रेमप्रसाद र प्रणयकुमारीहरूको हामीले विरलै चर्चा गर्‍यौँ। 

स्वप्न बोकेर खाडीतिर गएका सन्तान बन्द बाकसमा लास भएर आउँदा तिनका आमाप्रति देश चलाउने जिम्मा लिएकाहरूको थोरै पनि जबाफदेहिता देखाएनन्। हवाईजहाज चढेर विदेश गएका युवाहरू हरेक वर्ष बाकसमा बन्द भएर आउने क्रम किन बढिरहेको छ? यसमा जनप्रतिनिधिहरूको ओठे र चुनावी चासो देखिन्छ तर गम्भीर चासो किन छैन? समग्रमा भन्ने हो भने नेपाली समाज आर्थिक, सामाजिक र सांस्कृतिक विषमताको चरम सीमामा पुगिसकेको छ। तीव्र प्रतिस्पर्धासँगै असमानता र असन्तोष बढेकै छ।  

शहरका युवा जमात ‘पढेर’ पनि बेकम्मा भइरहेछन्, गुणस्तरीय शिक्षाको अभावमा। गाउँघर उजाडउजाड भइसकेको छ। जमिन बाँझो छ, बालीनाली हुन छाडिसकेको छ। मूल, खोला र नालाहरू सुक्दैछन्। रासायनिक मलखाद र अन्न बीजका लागि पराश्रित भइरहेका नेपाली किसानका दुःख समस्या बुझ्न जनप्रतिनिधिहरूलाई फुर्सद छैन। गाउँमा राम्रो खेतीको सम्भावना र रोजगारी उपलब्ध भए जहान, लालावाला र वृद्ध बा आमा छाडेर बिरानो मुलुक जाने कसलाई पो रहर हुन्छ? 

विपन्नको हालत ‘आज बाँच्न पाए भो’ भन्ने छ। उनीहरू त्यति त्रस्त छैनन्, जति निम्न मध्यम वर्गका मान्छे छन्। निम्न मध्यम वर्गीयहरूका टाल्नु पर्ने धेरै ठाउँ छ, थोरै कमाइले पुग्ने स्थिति छैन। मध्यम वर्गीयहरू सम्भ्रान्तका जीवन अन्धानुकरणमा व्यस्त छन्। मध्यम वर्गको सामाजिक मूल्य/मान्यतामा आमूल परिवर्तन आइरहेको छ। कसैले यसलाई सामाजिक र सांस्कृतिक ह्रास पनि भन्लान् तर यो देखासिकी हो। पाश्चात्य उपभोगवादी समाजको अन्धानुकरण हो। छिमेकीले ठूलो पार्टी/भोज गरेपछि प्रतिस्पर्धा गर्ने, सकीनसकी महँगा स्कुलमा बालबच्चा पढाउनुपर्ने दबाब, ऋण लिएर भएपनि कर्मकाण्ड, पुराण, प्रवचन र पार्टी/भोज गर्नैपर्ने। रक्सी र बियर नभए पार्टी नचल्ने। 

तर, यस्ता भड्किलो अभ्यासले हामी कहाँ पुग्छौँ? उही तीव्र गतिमा कमाउनुपर्ने अनुचित दबाबमा, महँगा र आकर्षक भवनमा बस्ने र 'लक्जरी' गाडी चढ्ने दबाबमा, महँगा ग्याजेट बोक्नुपर्ने दबाबमा। थोरै पैसाले नपुग्ने, धेरै छिटो धनपति हुनुपर्ने अनि उसै गरी उडाउने! छिटो कमाउनुपर्ने दबाब र प्रतिस्पर्धामा युवाहरू जेसुकै गर्न तयार हुन्छन्, हुनेछन्। कमाउन नसक्दा तीव्र अवसादमा पुग्नेछन्। अनि तिनले प्रेमप्रसादले झैँ आगो र पानीमा उति फरक देख्ने छैनन्। 

सम्भ्रान्त वर्गलाई भने यो मुलुक पहिलेदेखि नै स्वर्ग छ, जताबाट पनि लाभमै छन्। तर, मर्कामा छन् विपन्न र निम्न मध्यम वर्गीय। यसैबीच चली आएका मूल्य र पुरातन विचारबाट मान्छे स्वतन्त्र हुन खोज्दैछ। यो सामाजिक रूपान्तरण हो र हुनुपर्छ। निराधार विचार, परम्परा र प्रथाबाट मान्छे मुक्त हुनुपर्छ। नयाँ दौर र युगसँगै दौड्ने कुरा राम्रो हो। किनकि, हाम्रो समाज लामो समयसम्म मनोवैज्ञानिक र सामाजिक रूपमा पराधीन रह्यो। विशेष गरी महिलाहरू पुरुषको स्वामित्वका रूपमा घरमा पालेका पशुभन्दा पनि निम्न कोटीमा वर्गीकृत भए। त्यसैले अहिलेको महिलाहरूको उत्साह र अग्रता एउटा विस्फोट पनि हो। 

यता, अहिले पनि अपठितहरू झण्डै-झण्डै दशौँ हजार वर्षअघिकै अवस्थामा छन्। परजीवी र पराश्रित हैसियतमा छन्। तर, मुक्त हुने नाममा हामी बजार र बजारवादले ल्याएका नयाँ उपभोक्तावादी मन्त्रमा फसेका छौँ। जुन घातक छ। खासगरी मध्यम वर्गमा अन्धाधुन्ध उपभोग र उपभोक्तावादी संस्कृति बढेको छ। त्यसले फेरि हामीलाई जसरी भए पनि कमाउनतर्फ नै घच्घच्याउँछ। 

पैसाका अघि नैतिकता फिका हुने भएकाले 'नैतिकता' तल्लो र निम्छरो वर्गका लागि हो भन्ने मानसिकता बढिरहेछ। श्रमको संस्कृति या आचारसंहितामा बसेर काम गर्ने व्यक्ति सफलताको सिँढीको पुछारमा नै हुन्छ। ‘कर्पोरेट कल्चर’ व्यवहारमा निरर्थक देखिएको छ। आजका युवाको अन्तिम सत्य भनेकै आर्थिक उन्नति भएको छ। उनीहरू पैसालाई ईश्वर मान्न थालेका छन्। तर, पैसा नामको परमेश्वरसँग सबैको समान पहुँच छैन। सामाजिक र प्रशासनिक न्याय अहिले पनि सुकिलामुकिलाहरूको पहुँच मात्र छ। 

पहिलेदेखि नै सत्ता र शक्तिको निकट रहेकाहरूले नै आम रूपमा व्यापार हाँकेका छन्। उनीहरूले अगणित दाम कमाइरहेका छन्। पैसा कमाउने ‘महाकर्म’मा कुकर्म र सुकर्मबिच कुनै भेद देखिँदैन। त्यसकारण सबै पाप र पश्चात्तापबाट उन्मुक्तिका लागि पैसावालाहरू पशुपतिमा सुवर्ण भेटिदेखि दक्षिणकालीमा बोकोसमेत चढाउँछन्। यी तथाकथित सफलहरू बाँकीका लागि प्रेरणा स्रोत या मार्गदर्शक बन्छन्। आफूले कुस्त कमाउन नसकेकै कारण आफ्नो सामाजिक मर्यादा गिरेको ठान्नेहरू चाहिँ अन्ततः प्रेमप्रसाद बन्छन्। 

यिनै कारणले गर्दा युवामा मनोवैज्ञानिक समस्याहरू छन् र त्यसका लागि समाज, राज्य र हाम्रा कतिपय संस्कृतिसमेत दोषी देखिन्छन्। युवाले समाजका जटिलता नबुझ्दा, उपयुक्त शिक्षा नपाउँदा र  अन्धविश्वासहरूमा जकडिँदा पनि तिनले जीवन मूल्य बुझ्नसकेका छैनन्। विश्वविद्यालय र विद्यालयहरूले नै केबल कर्मकाण्डी र अवैज्ञानिक शिक्षा थोपरेपछि ती कसरी सिर्जनात्मक, सदाचारी र कर्तव्यपरायण हुन सक्लान्? त्यसकारण पनि असमानता र असन्तोष व्याप्त छन्।  

तर, त्यसो हुँदाहुँदै पनि हामीले जिउनुपर्छ। जीवन फालेपछि सुख र दुःख नै बाँकी नरहने हुँदा यही जीवनका सुख दुःख भोग्न, न्याय र अस्तित्वका लागि लड्नकै लागि पनि हामी बाँच्नुपर्छ। 'युगको उर्दी' शीर्षकको कवितामा सिद्धिचरण श्रेष्ठ लेख्छन्, 'संकट पर्छ मान्छेलाई, ढुंगालाई के पर्छ? असिना आई फूलबारीकै फूलहरू पहिले झार्छ।'