बजेटको आकार २ खर्ब ४४ अर्ब घट्यो

अर्थमन्त्री पौडेलले प्रतिनिधिसभामा बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन प्रस्तुत गर्दै १५ खर्ब ४९ अर्ब ९९ करोड मात्र खर्च हुन सक्ने जनाएका छन्।

काठमाडौँ– सरकारले चालु आर्थिक वर्षको बजेटको आकार २ खर्ब ४४ अर्बले घटाएको छ। निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट पेस गरेका थिए।

तर, बजेटको मध्यावधि समीक्षा गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले बजेटको आकार १५ खर्ब ४९ अर्ब ९९ करोडमा झारेका हुन्। जुन शुरूमा विनियोजन गरिएको भन्दा २ खर्ब ४४ अर्ब अर्थात् १४ प्रतिशतले कम हो।

चालु खर्चतर्फ ११ खर्ब ८३ अर्ब २३ करोड छुटाइएकोमा १० खर्ब २१ अर्ब ९२ करोड खर्च हुने संशोधित अनुमान छ। शुरूको बजेटको तुलनामा यो ८६. ३७ प्रतिशत हो।

यस्तै, पुँजीगत खर्चतर्फ ३ खर्ब ८० अर्ब ३८ करोडबाट घटाएर ३ खर्ब १३ अर्ब ८५ करोडमा झारिएको छ। जुन शुरूमा छुटाएको तुलनामा ८२.५१ प्रतिशत हो। वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब २१ करोड छुटाइएकोमा २ खर्ब १४ अर्ब २१ करोड हुने संशोधित अनुमान छ।

प्रतिनिधिसभामा बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले राजश्वको लक्ष्य पनि घटाइएको जानकारी दिए। गत जेठ १५ मा प्रस्तुत गरिएको बजेटमा चालु आर्थिक वर्षमा १४ खर्ब ३ अर्ब १४ करोड राजस्व संकलन गर्ने लक्ष्य लिइएकोमा १२ खर्ब ४४ अर्ब ७५ करोडमा झारिएको छ।

संशोधित अनुमान गरिएको राजस्वमध्ये सरकारबाट ११ खर्ब १ अर्ब परिचालन हुने र १ खर्ब ४३ अर्ब ७५ करोड प्रदेश र स्थानीय तहलाई बाँडफाँट हुने अनुमान छ।

बजेटको स्रोतमध्ये ५५ अर्ब ४५ करोड वैदेशिक अनुदान परिचालन हुने अनुमान गरिएकोमा ३८ अर्ब ४५ करोडमा झारिएको छ।

यस्तै, वैदेशिक ऋणबाट २ खर्ब ४२ अर्ब २६ करोड जुटाउने लक्ष्य राखिएकोमा १ खर्ब ७० अर्ब ५३ करोडको संशोधित अनुमान छ। आन्तरिक ऋणतर्फ पनि २ खर्ब ५६ अर्बको शुरूआती लक्ष्य रहे पनि २ खर्ब ४० अर्ब परिचालन गर्नुपर्ने संशोधित अनुमान छ।

बजेटमा व्यवस्था नगरिएको दायित्व व्यवस्थापनको दबाब र अर्कोतर्फ लामो समयदेखि लयमा रहेको राजश्व संकलनको वृद्धिदर नकारात्मक हुँदा सरकारी वित्त व्यवस्थापनमा दोहोरो चुनौती थपिएको अर्थमन्त्री पौडेलले बताए।


अर्धवार्षिक समीक्षा प्रतिवेदनको पूर्णपाठ