भोटेकोशी बाढी: मृतकको संख्या ४६९ पुग्यो, ९७७ अझै बेपत्ता

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परि ज्यान गुमाउनेको संख्या ४६९ पुगेको छ।

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परि ज्यान गुमाउनेको संख्या ४६९ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको अद्यावधिक स्थिति प्रतिवेदन अनुसार बिहान ८:३० बजेसम्म फेला परेका शवहरूमध्ये धादिङमा ३३, नुवाकोटमा ३७, रसुवामा १२, गोरखामा ४४ (विभिन्न मानव अङ्गसहित), नवलपरासी पूर्वमा ११०, नवलपरासी पश्चिममा २७, तनहुँमा २८ र चितवनमा १७८ जना रहेका छन्।

बाढीपछि हालसम्म ९७७ जना सम्पर्कविहीन रहेका छन्। बेपत्ता हुनेहरूमा नेपाल प्रहरीका २८, नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५ र अध्यागमन कार्यालयका ४ जना कर्मचारी छन्। यस्तै, जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रको तथ्यांक अनुसार रसुवामा १६१, मकवानपुरमा ६६ र नुवाकोटमा १ जना बेपत्ता छन्। यसका साथै ५१७ जना विदेशी नागरिक र विदेशमा बस्ने १२७ जना नेपाली नागरिकसमेत अझै सम्पर्कविहीन छन्। बाढीमा घाइते भएका ७३ जना (रसुवामा ४३, धादिङमा ३ र नुवाकोटमा २७) को विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि १३,२९५ जना सुरक्षाकर्मी (नेपाल प्रहरी ७,२५०, नेपाली सेना ४,२०० र सशस्त्र प्रहरी बल १,८४५) परिचालन गरिएको छ। नेपाली सेनाका ६ वटा र निजी क्षेत्रका ९ वटा गरी कुल १५ वटा हेलिकप्टरमार्फत उद्धार कार्य जारी राखिएको छ, जसबाट हालसम्म ३,२५३ जनाको सकुशल उद्धार गरिएको छ।