लुम्बिनीका तराई क्षेत्रमा धेरै भारी वर्षाको सम्भावना

लुम्बिनी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौँ– देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरतिर नेपालको नजिक रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशभर साधारणतया बादल लागेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका धेरै स्थान तथा कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थान तथा मधेश प्रदेशसहित कोशी र बागमती प्रदेशका तराई भूभागका थोरै स्थानमा पनि मध्यमसम्मको वर्षा हुने सम्भावना छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेश प्रदेशका तराई भूभागका थोरै स्थानमा पनि मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ।