मौसम पूर्वानुमान: आइतबारपछि भारी वर्षाको संकेत छैन

शुक्रबार देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहे पनि शनिबारदेखि वर्षा घट्ने र आइतबारसम्म तराईमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

फाइल तस्वीर

काठमाडौँ- आगामी तीन दिन देशभरको मौसम क्रमशः सुधार हुँदै जाने देखिएको छ। शुक्रबार देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहे पनि शनिबारदेखि वर्षा घट्ने र आइतबारसम्म तराईमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार हिमाली र पहाडी भूभागमा सामान्यतया बादल लाग्नेछ। ती भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ। मधेशसहित कोशी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि मध्यमसम्मको वर्षा हुन सक्ने अनुमान छ।

शुक्रबार राति पनि हिमाली र पहाडी भूभागमा बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा र अन्य प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षा र हिमपातको सम्भावना छ। तराईका धेरै भूभागमा बिहानपख हुस्सु लाग्न सक्ने महाशाखाले जनाएको छ।

शनिबार कोशी प्रदेशसहित देशका हिमाली र पहाडी भूभागमा सामान्यतया बादल लाग्नेछ भने तराईमा आंशिक बादल रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा र लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा मध्यमसम्मको वर्षा हुन सक्नेछ। शनिबार रातिदेखि भने मौसम थप सुधार हुने देखिएको छ। हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा तराईमा मौसम मुख्यतया सफा रहनेछ।

आइतबार पनि देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने र एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ। तराईमा मौसम मुख्यतया सफा रहनेछ। आइतबार राति तराईका थोरै स्थानमा बिहानपख हुस्सु लाग्न सक्ने पूर्वानुमान छ।

मौसमविद् डा. विनोद पोखरेलका अनुसार अहिले सक्रिय मौसमी प्रणालीले शनिबारसम्म वर्षा गराउने देखिए पनि त्यसपछि सोमबारदेखि बिहीबारसम्म मौसम सामान्यतया राम्रो रहने सम्भावना छ। बिहीबार साँझदेखि शुक्रबारसम्म (असोज २९ र ३० गते) केही स्थानमा हल्का वर्षा हुन सक्ने भए पनि असोज २५ गते आइतबारपछि भारी वर्षाको संकेत नदेखिएको उनले बताएका छन्।