प्राकृतिक विज्ञान संग्रहालयमा दुर्लभ वन्यजन्तुका नमुना डिजिटाइजेसन गरिँदै

प्राकृतिक विज्ञान संग्रहालयले विभिन्न प्रजातिका जीवजन्तुका अवशेष तथा नमुनालाई डिजिटल स्वरूपमा सुरक्षित गर्ने कामलाई तीव्रता दिएको छ।

काठमाडौँ– प्राकृतिक विज्ञान संग्रहालयले विभिन्न प्रजातिका जीवजन्तुका अवशेष तथा नमुनालाई डिजिटल स्वरूपमा सुरक्षित गर्ने कामलाई तीव्रता दिएको छ। संग्रहालयले हालसम्म दुर्लभ, लोप भइसकेका तथा लोपोन्मुख ५४ प्रजातिका नमुना डिजिटाइज गरिसकेको जनाएको छ।

वातावरण कानून समाजले संग्रहालयसँगको समन्वयमा डिजिटाइजेसनको काम अघि बढाएको हो। संग्रहालयमा करिब ५५ हजार प्रजातिका अवशेष तथा नमुना रहेको बताइएको छ।

प्राकृतिक विज्ञान संग्रहालयका प्रमुख डा. इशान गौतमले डिजिटाइजेसनको कामलाई शुरूआती चरणका रूपमा व्याख्या गरेका छन्। “हामीसँग ५५ हजार प्रजातिका अवशेष छन्। यो केवल शुरूआत हो, हामी लामो यात्रामा छौँ,” गौतमले भने।

null

डिजिटाइजेसनको नेतृत्व गरेका वातावरण इन्जिनियर सुरज श्रेष्ठका अनुसार संग्रहालयमा रहेका बहुमूल्य प्रजाति र नमुनालाई डिजिटल अभिलेखमा सुरक्षित गर्ने यो पहिलो महत्त्वपूर्ण पाइला हो। “हाललाई हामीले साइटिस (लोपोन्मुख प्रजातिको अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी महासन्धि) मा सूचीकृत प्रजातिका नमुनालाई प्राथमिकतामा राखेर डिजिटाइज गरेका छौँ,” श्रेष्ठले भने।

डिजिटाइजेसनको पहिलो चरणअन्तर्गत पछिल्लो ६ महिनामा ५४ प्रजातिका नमुनालाई डिजिटल स्वरूपमा अभिलेखीकरण गरिएको हो।

संग्रहालयमा रहेका लोपोन्मुख तथा लोप भइसकेका प्रजातिका अवशेषलाई आगामी पुस्ताका लागि सुरक्षित राख्न डिजिटाइजेसन आवश्यक रहेको गौतमले बताए। “यी अवशेष केवल संग्रहालयमा राखिएका वस्तु मात्र होइनन्, भावी पुस्ताका लागि महत्त्वपूर्ण वैज्ञानिक सम्पत्ति हुन्,” उनले भने।

“वन्यजन्तुको संरक्षण र पहिचानका लागि प्रविधिको ठूलो महत्त्व हुन्छ,” वातावरण कानून समाज नेपालका अध्यक्ष पदमबहादुर श्रेष्ठले भने, “त्यसैले डिजिटाइजेसन अबको आवश्यकता हो।” संग्रहालयले आगामी चरणमा थप प्रजातिका नमुना डिजिटाइज गर्दै डिजिटल अभिलेखलाई विस्तार गर्ने तयारी गरेको जनाएको छ।

null