कर्णाली र सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

काठमाडौँ– देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरतिर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लागेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादलदेखि मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका धेरै स्थान तथा कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थान तथा मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा पनि मध्यमसम्मको वर्षा हुन सक्नेछ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली, पहाडी तथा तराई भूभागका थोरै स्थान तथा बागमती प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ भने तराई भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा हुन सक्नेछ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।