विश्वप्रसिद्ध नेपाली पर्वतारोही तथा 'एलिट एक्स्पेड'का संस्थापक निर्मल ‘निम्सदाई’ पुर्जाको पाकिस्तानस्थित ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा परी निधन भएको छ।
काठमाडौँ— विश्वप्रसिद्ध नेपाली पर्वतारोही तथा 'एलिट एक्स्पेड'का संस्थापक निर्मल ‘निम्सदाई’ पुर्जाको पाकिस्तानस्थित ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा परी निधन भएको छ। एलिट एक्स्पेडले शनिबार शोकवक्तव्य जारी गर्दै पुर्जासहित अन्य आरोहीहरूको निधन भएको पुष्टि गरेको हो।
एलिट एक्स्पेडले जारी गरेको वक्तव्यमा भनिएको छ, “गहिरो दुःख र अपार पीडाका साथ ब्रोड पिकमा गएको हिमपहिरोमा परी निर्मल ‘निम्सदाई’ पुर्जाको दुःखद निधन भएको पुष्टि गर्दछौँ। विश्व पर्वतारोहण क्षेत्रले आफ्ना महान् आरोहीहरूमध्ये एकलाई गुमाएको छ। उहाँको साहस, विनम्रता र मानिसहरूलाई ठूला सपना देख्न प्रेरित गर्ने विचारले विश्वभर लाखौँ मानिसलाई प्रेरित गरेको थियो।”
पाकिस्तानको कराकोरम पर्वत-शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो ब्रोड पिकमा गत बिहीबार मध्याह्नतिर हिमपहिरो गएको थियो। दुर्घटनामा पुर्जासहित छ जना नेपाली र चार जना विदेशी गरी कुल १० जना आरोही बेपत्ता भएका थिए। जसमध्ये चार नेपालीको शव शुक्रबार उद्धार गरिएको थियो भने दुई जनाको शनिबार उद्धार गरिएको हो।
ज्यान गुमाउने अन्य नेपाली आरोहीमा पुरबहादुर गुरुङ, निमा शेर्पा, किलीपेम्बा शेर्पा, ग्यालु शेर्पा र नवाङ थिन्डु शेर्पा रहेका छन्।
दुर्घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहले गहिरो दुःख व्यक्त गर्दै दिवङ्गत आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।
प्रधानमन्त्री शाहले भनेका छन्, “आरोहण केवल शिखर चुम्ने यात्रा होइन। यो साहस, अनुशासन, त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वासको सर्वोच्च अभिव्यक्ति हो। हिमालले धेरैलाई शिखरको गौरव दिन्छ, कहिलेकाहीँ आफ्नै काखमा सधैँका लागि अँगालेर पनि राख्छ। तर, हिमाल आरोहीहरू आफ्नो साहस र समर्पणका कारण इतिहासमा सधैँ अमर रहन्छन्।”
निर्मल पुर्जासहित सम्पूर्ण दिवङ्गत आरोहीहरूको भौतिक यात्रा रोकिए पनि उनीहरूको साहस, समर्पण र योगदानको इतिहास सधैँ प्रेरणायुक्त र जीवित रहने उल्लेख गर्दै प्रधानमन्त्री शाहले शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकहरूप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्।
म्याग्दीको दानामा जन्मिएका पूर्वगोर्खा सैनिक पुर्जाले सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल छ महिनाभन्दा केही बढी अवधिमा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए। उनले एलिट एक्स्पेड, निम्सदाई फाउन्डेसन, स्काइडाइभ निम्सदाई र निम्सदाई स्टोरजस्ता संस्थाहरू स्थापना गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
