वीरगन्जमा सामाजिक सद्भाव र शान्ति सुव्यवस्था कायम राख्न सर्वदलीय बैठकबाट चारबुँदे निर्णय हुनुका साथै सद्भाव र्यालीसमेत निकालिएको छ।
पर्सा– विभिन्न राजनीतिक दल सम्मिलित वीरगन्ज भएको सर्वदलीय बैठकले जिल्लामा शान्ति सुरक्षा, सामाजिक सद्भाव र अमनचयन कायम राख्ने सन्दर्भमा विभिन्न चारबुँदे निर्णय गरेको छ।
जिल्ला सुरक्षा समितिका अध्यक्षसमेत रहेका पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा भएको सर्वपक्षीय बैठकले शान्ति, सुव्यवस्था कायम राख्न सबै पक्षले सक्रिय भूमिका खेल्ने निर्णय गरेको प्रतिनिधिसभा सदस्य हरि पन्तले जानकारी दिए।
बैठकमा सुनसरी, सिरहालगायत देशका विभिन्न जिल्लामा हालै भएका घटना र पर्सा जिल्लाको वर्तमान सुरक्षा अवस्थाबारे विस्तृत रूपमा समीक्षा गरिएको उनले बताए।
बैठकले हिन्दू, मुस्लिम, बौद्ध, क्रिश्चियनलगायत सबै धर्मका गुरु, अगुवा तथा जिम्मेवार व्यक्ति एवं संस्थाहरूलाई आ–आफ्नो समुदायमा धैर्यता, सहिष्णुता, साम्प्रदायिक सद्भाव र शान्ति कायम राख्न सार्वजनिक आह्वान गर्न अपिल गर्ने निर्णय गरेको छ।
जिल्लाका सबै राजनीतिक दल, स्थानीय तह, नागरिक समाज तथा धार्मिक सङ्घसंस्थाको अगुवाइमा आपसी भाइचारा र सामाजिक सद्भाव प्रवर्द्धन गर्ने उद्देश्यले वीरगन्जमा शान्ति र्याली गर्नेसमेत निर्णय गरेको छ।
बैठकले स्थानीय सञ्चारमाध्यम, एफएम रेडियो, पत्रपत्रिका, सामाजिक सञ्जाल तथा विभिन्न सङ्घसंस्थालाई समाजमा नकारात्मक त्रास फैलाउने गरी कुनै पनि सामग्री प्रकाशन वा प्रसारण नगर्न आग्रह गरेको छ।
यसै सन्दर्भमा शान्ति र सामाजिक एकता कायम गर्ने तथा सामाजिक सद्भाव प्रवर्द्धन गर्ने समाचार तथा सन्देशलाई प्राथमिकता दिन नेपाल पत्रकार महासङ्घ पर्सामार्फत सम्पूर्ण सञ्चार क्षेत्रलाई अनुरोध गर्ने निर्णय गरिएको छ।
बैठकले मुलुकको विद्यमान विषम परिस्थितिमा जिल्लाको शान्ति, सुरक्षासहित सामाजिक सद्भाव कायम राख्न आ-आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्न सबैसँग अनुरोध गरेको छ।
सामाजिक सद्भाव कायम गर्न वीरगन्जमा सर्वदलीय, सर्वपक्षीय सद्भाव र्याली आयोजना पनि गरिएको छ। जिल्ला प्रशासन कार्यालय पर्साबाट निस्केको र्याली घण्टाघर पुगेर सम्पन्न भएको थियो।
सुनसरीको कप्तानगन्ज घटनापछि मधेस प्रदेशका विभिन्न जिल्लामा बढ्दो समस्याका बीच पर्सामा शान्ति, सुरक्षा र सद्भाव कायम राख्ने उद्देश्यले सद्भाव र्याली निस्केको पर्सा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य हरि पन्तले जानकारी दिए।
जिल्ला प्रशासन कार्यालय पर्साको आयोजनामा निस्केको सद्भाव र्यालीमा पर्सा १ का सांसद पन्तसहित क्षेत्र नं २ का सांसद सुशीलकुमार कानु, क्षेत्र नं ३ का सांसद रामाकान्त चौरसिया, वीरगन्ज महानगरपालिकाका कार्यवाहक मेयर इम्तियाज आलम तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो।
यसैबीच पर्साका प्रमुख जिल्ला अधिकारीले वीरगन्जमा आज साँझ ५ बजेदेखि शनिबार बिहान ६ बजेसम्म निषेधाज्ञासमेत जारी गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
