आज बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागमा भारी वर्षाको सम्भावना

देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ।

काठमाडौँ- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भूभाग तथा लुम्बिनी प्रदेशको पहाडी भूभागमा साधारणतया बादल लागेको छ। मधेश प्रदेश र लुम्बिनी प्रदेशको तराई भूभागमा आंशिक बादल लागेको छ। कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ। तराई भूभागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ। मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षा हुने सम्भावना छ। कोशी प्रदेशको पहाडी र तराई भूभाग तथा बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।