भारतीय शिक्षामन्त्रीको राजीनामापछि पनि जन्तर मन्तरमा प्रदर्शन जारी

‘नीट–युजी २०२६’ परीक्षाको प्रश्नपत्र चुहावट विवाद र देशभर तीव्र बनेको आन्दोलनपछि भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन्, तर प्रदर्शन भने जारी रहने आन्दोलनकारी समूह सीजेपीका संस्थापक अभिजीत दीप्केले बताएका छन्।

नयाँ दिल्लीस्थित जन्तर मन्तरमा भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि खुशियाली मनाउँदै ‘कोकरोच जनता पार्टी’का समर्थकहरू। तस्वीर: सज्जाद हुसेन/एएफपी

‘नीट–यूजी २०२६’ परीक्षाको प्रश्नपत्र चुहावट विवाद र देशभर तीव्र बनेको आन्दोलनपछि भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएका छन्। युवा नेतृत्वको ‘ककरोच जनता पार्टी’ (सीजेपी)ले चलाएको हप्ता लामो अनलाइन तथा सडक आन्दोलन र चौतर्फी दबाबपछि शिक्षामन्त्री प्रधानले प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष आफ्नो राजीनामा पेस गरेका हुन्।

राजीनामाको खबर सार्वजनिक भएसँगै नयाँ दिल्लीको जन्तरमन्तरमा प्रदर्शनरत ककरोच जनता पार्टीका समर्थक तथा विद्यार्थीहरूले खुशियाली मनाएका छन्।

देशभर जारी विरोध प्रदर्शनबीच विद्यार्थीहरूको हितलाई ध्यानमा राख्दै र युवाहरूलाई भ्रममा पर्न नदिन आफूले राजीनामा दिएको प्रधानले बताएका छन्। प्रधानमन्त्री मोदीलाई बुझाइएको राजीनामा पत्रमा उनले चार दशकभन्दा बढी समयदेखि शिक्षा क्षेत्रमा सक्रिय रहेको उल्लेख गर्दै सशक्त, समावेशी र दूरदर्शी शिक्षा प्रणाली नै राष्ट्र निर्माणको आधार भएको बताएका छन्।

गत मे ३ मा सञ्चालित ‘नीट–युजी’ परीक्षामा अनियमितता देखिएपछि सरकारले तत्काल केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) लाई अनुसन्धानको जिम्मेवारी दिएको थियो। त्यसपछि परीक्षा रद्द गरी पुनः परीक्षा गराइएको र आगामी वर्षदेखि कम्प्युटरमा आधारित प्रणालीमार्फत परीक्षा सञ्चालन गर्ने निर्णय भइसकेको जानकारी पनि उनले पत्रमा दिएका छन्।

सम्बलपुरबाट निर्वाचित सांसदसमेत रहेका प्रधानले पुनः परीक्षामा सहभागी २० लाखभन्दा बढी विद्यार्थीको हित संरक्षण गर्नु सरकारको मुख्य प्राथमिकता रहेको बताए। परीक्षा विवादका कारण कुनै पनि योग्य विद्यार्थीको भविष्य प्रभावित हुन नदिने प्रतिबद्धता पनि उनले व्यक्त गरे। उनका अनुसार जुलाई १६ मा सार्वजनिक ‘नीट–युजी २०२६’ को नतिजामा आर्थिक रूपमा कमजोर पृष्ठभूमिका धेरै योग्य विद्यार्थीहरूले सफलता हासिल गरेका छन्।

राजीनामा पत्रमा केही जिम्मेवार व्यक्तिहरूले विद्यार्थीहरूलाई भ्रममा पार्ने प्रयास गरेको भन्दै उनले असन्तुष्टि जनाएका छन्। पछिल्ला घटनाक्रमले आफूलाई दुःखी बनाएको भन्दै उनले जन्तर मन्तरलगायतका स्थानमा जारी आन्दोलनको फाइदा राष्ट्रविरोधी शक्तिहरूले उठाउन नपाउन् भनेर राजीनामा दिएको दाबी गरेका छन्।

शिक्षामन्त्रीको राजीनामापछि सीजेपीका संस्थापक अभिजीत दीप्केले यो जनताको जित भएको प्रतिक्रिया दिएका छन्।

दीप्केले भने, "धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन्, यो मुख्य कुरा हो। यदि तपाईँ डराउनुभएन र सरकारलाई झुकाउन सक्नुभयो भने कसैलाई पनि राजीनामा दिन बाध्य पार्न सकिन्छ। लोकतन्त्रमा डराउनुपर्ने कुनै आवश्यकता छैन।"

शिक्षामन्त्रीले राजीनामा दिए पनि जन्तर मन्तरमा जारी प्रदर्शन तत्काल नसकिने दीप्केले स्पष्ट पारेका छन्। सीजेपीको पहिलो माग (शिक्षामन्त्रीको राजीनामा) पूरा भए पनि बाँकी दुई माग पूरा नभएसम्म आन्दोलन जारी रहने उनले बताए।

"हामी सजिलै पछि हट्ने छैनौँ। धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन्, तर नीट प्रश्नपत्र चुहावटका कारण ज्यान गुमाएका/आत्महत्या गरेका विद्यार्थीका परिवारलाई सरकारले १ करोड रुपैयाँ क्षतिपूर्ति दिनुपर्छ," दीप्केले भने।

त्यस्तै, दोस्रो मागबारे बोल्दै उनले जुलाई २० मा प्रदर्शनकारी विद्यार्थीहरूमाथि लाठीचार्ज गर्ने प्रहरी अधिकारीहरू (डीसीपी सन्दीप लाम्बा, एसीपी अजय शर्मा, सचिन शर्मा लगायत) माथि कारबाही हुनुपर्ने र सो दिनपछि विद्यार्थीहरू विरुद्ध दायर गरिएका सबै मुद्दा फिर्ता लिनुपर्ने बताएका छन्।

यसअघि भारतीय राष्ट्रिय कांग्रेससहितका विपक्षी दलहरूले प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर शिक्षामन्त्रीको राजीनामा माग गर्दै आएका थिए। विपक्षीहरूको निरन्तर दबाब र देशव्यापी आन्दोलनपछि अन्ततः मन्त्री प्रधानले पद छाड्नुपरेको हो। ‘नीट–युजी’ विवादलाई लिएर भारतभर विरोध प्रदर्शन जारी छ। आन्दोलनका क्रममा सामाजिक अभियन्ता सोनम वाङचुकले जन्तर मन्तरमा २६ दिन लामो अनशनसमेत गरेका थिए।

उता, भारत सरकारले प्रश्नपत्र चुहावट रोक्न विशेष फास्ट–ट्र्याक अदालत र विशेष कार्यदल (एसटीएफ) गठनसहित कडा कानुन ल्याउने तयारी गरिरहेको जनाएको छ।