यी प्रदेशमा आज भारी वर्षाको सम्भावना

मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी र पश्चिमी दुवै भूभागतर्फ सरदर स्थानकै आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यी प्रदेशमा आज भारी वर्षाको सम्भावना
फाइल तस्वीर

काठमाडौँ– देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी र पश्चिमी दुवै भूभागतर्फ सरदर स्थानकै आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा अन्य प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। देशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेश र कोशी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

त्यस्तै, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा हावाहुरी चल्ने सम्भावना पनि रहेको महाशाखाको पूर्वानुमान छ।

महाशाखाका अनुसार आज राति देशभर अधिकांश स्थानमा बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

यस्तै, मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा, साथै कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

महाशाखाले कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। साथै कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान छ।