यी प्रदेशमा आज भारी वर्षाको सम्भावना

लुम्बिनी र सुदूरपश्चिमका तराईका थोरै स्थान तथा मधेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षा हुन सक्ने विभागले जनाएको छ।

फाइल तस्वीर

काठमाडौँ- देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले शनिबार पनि विभिन्न प्रदेशमा मेघगर्जन, चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि आंशिक बदली रहेको छ भने मधेश प्रदेशमा आंशिक बदली छ। बागमती र लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा भइरहेको छ।

शनिबार दिउँसो देशका हिमाली र पहाडी भू-भागमा सामान्यतया बदली रहने तथा तराईमा आंशिक बदली रहने विभागको पूर्वानुमान छ। हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपात हुन सक्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थान तथा कोशी र बागमती प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिमका तराईका थोरै स्थान तथा मधेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित वर्षा हुन सक्ने विभागले जनाएको छ।

त्यस्तै आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश स्थानमा बदली रहनेछ भने कोशी, मधेश र बागमती प्रदेशमा सामान्य बदली रहनेछ। हिमाली भू-भागका केही स्थानमा वर्षा वा हिमपात हुने सम्भावना रहेको छ। साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू-भागका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ। कोशी, मधेश र बागमती प्रदेशका पहाडी भू-भागका केही तथा तराईका थोरै स्थानमा पनि वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

विभागले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको जनाएको छ।