मनसुनजन्य विपद्का समयमा देशैभर तत्काल खोज तथा उद्धार कार्यमा खटिने गरी नेपाल प्रहरीले १० हजारभन्दा बढी जनशक्तिलाई आवश्यक उपकरणसहित तयारी अवस्थामा राखेको छ।
काठमाडौँ– नेपाल प्रहरीले मनसुनजन्य विपद्का घटनाहरूमा जनधनको क्षति हुन नदिन र उद्धार कार्यलाई प्रभावकारी बनाउन पूर्वतयारी सम्पन्न गरेको छ। विपद्को अवस्थामा तत्काल परिचालन हुने गरी प्रहरी प्रधान कार्यालय (हेडक्वार्टर्स) देखि चौकीस्तरसम्मका प्रहरी इकाईमा आवश्यक उपकरणसहितको जनशक्ति तयारी अवस्थामा राखिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ‘मनसुनजन्य विपद् पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३’ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ। सोही कार्ययोजना बमोजिम नेपाल प्रहरीले पनि ‘विपद् मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना, २०८३’ निर्माण गरी लागू गरेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबिनारायण काफ्लेले जानकारी दिए।
प्रवक्ता काफ्लेका अनुसार विपद् व्यवस्थापनमा प्रभावकारी जनशक्ति परिचालन र कुशल उद्धारका लागि आवश्यकता अनुसार अन्य सम्बन्धित निकायहरूसँग समेत समन्वय गरिएको छ। "विशेष गरी मनसुनजन्य विपद् हुन सक्ने जोखिमयुक्त क्षेत्र र सुरक्षित स्थानको जिल्लागत रूपमा पहिचान गरिएको छ," उनले भने, "विपद्को प्रकृति अनुसार उद्धार सामग्रीको मर्मतसम्भार गरी तत्काल परिचालन हुने गरी प्रहरी चौकीस्तरसम्मका प्रहरी इकाईहरू तयारी हालतमा राखिएका छन्।"
विपद्को अवस्थामा तत्काल परिचालन हुने गरी विपद् प्रतिकार्य तथा तालिम केन्द्रमा दुई प्लाटुन र प्रदेश प्रहरी विपद् व्यवस्थापन गुल्ममा एक–एक प्लाटुन उद्धार टोली २४सै घण्टा उपकरणसहित तैनाथ रहेको प्रहरीले जनाएको छ।
विपद् प्रतिकार्यका लागि कुल १० हजार ८५ जना प्रहरीलाई तत्काल परिचालित हुन सक्ने गरी तयारी हालतमा राखिएको छ। प्रभावकारी खोज, उद्धार एवं व्यवस्थापनका लागि नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्र र प्रदेश प्रहरी विपद् व्यवस्थापन गुल्महरूले आवश्यकता अनुसार तत्काल वा चरणबद्ध रूपमा प्रहरी परिचालन गर्नेछन्।
प्रवक्ता काफ्लेले मनसुन तथा भारी वर्षाको जोखिमलाई ध्यानमा राखी सबै सुरक्षा निकायहरूको सहभागितामा मनसुनजन्य उद्धार अभ्यासहरू गरिएको बताए। जनधनको क्षति न्यूनीकरणका लागि बृहत् रूपमा सामुदायिक सचेतना कार्यक्रमहरू समेत सञ्चालन गरिएको र विपद् व्यवस्थापनमा त्रुटिरहित कार्यसम्पादन गर्न प्रहरी कर्मचारीलाई विपद् उद्धारसम्बन्धी विशेष अभिमुखीकरण प्रदान गरिएको उनको भनाइ छ।
प्रहरी अस्पताल, प्रदेश प्रहरी अस्पताल, सूचना तथा प्रविधि निर्देशनालय, सवारी महाशाखा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालय र नेपाल प्रहरी केनाइन कार्यालयको जनशक्तिलाई पनि तयारी अवस्थामा राखिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।
प्रशिक्षण प्रदायक कार्यालय तथा विशिष्टिकृत इकाईको जनशक्ति विपद्को समयमा परिचालित हुँदा उद्धार सामग्री नभएको खण्डमा नजिकको प्रहरी गण वा विपद् विशिष्टिकृत कार्यालयबाट सामग्री लिई खटिनेछन्। विशेष परिस्थितिमा अपुग हुने उद्धार सामग्री आवश्यकता अनुसार स्थानीय तह र विभिन्न सङ्घसंस्थासँग समन्वय गरी व्यवस्थापन गरिने प्रवक्ता काफ्लेले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
