एल निनो तीव्र बन्दै जाँदा ‘चरम मौसमी घटना’ बढ्ने डब्लूएमओको चेतावनी

डब्लूएमओले आगामी केही महिनाभित्र 'एल निनो' जलवायु प्रणाली तीव्र बन्ने चेतावनी दिँदै सम्भावित खडेरी, बाढी र गर्मीको लहर सामना गर्न विश्व समुदायलाई तत्काल तयारी थाल्न आग्रह गरेको छ।

संयुक्त राष्ट्रसंघको विश्व मौसम विज्ञान संगठन (डब्लूएमओ) ले आगामी केही महिनाभित्र 'एल निनो' जलवायु प्रणाली तीव्र रूपमा बलियो हुने चेतावनी दिएको छ। यसका कारण विश्वका धेरै क्षेत्रमा खडेरी, अत्यधिक वर्षा, गर्मीको लहर तथा अन्य चरम मौसमी घटनाको जोखिम उल्लेखनीय रूपमा बढ्ने संगठनले जनाएको छ। डब्लूएमओले सम्भावित प्रभाव न्यूनीकरणका लागि देशहरूलाई तत्काल तयारी गर्न आग्रहसमेत गरेको छ।

संगठनको मासिक विश्व मौसमी जलवायु अद्यावधिक अनुसार एल निनोको अवस्था अहिले नै शुरू भइसकेको छ। आगामी जुलाईदेखि सेप्टेम्बरसम्म यो ‘बलियो’ स्तरमा पुग्ने उच्च सम्भावना छ। एल निनो मध्य तथा पूर्वी भूमध्यरेखीय प्रशान्त महासागरको सतही तापक्रम असामान्य रूपमा बढ्दा उत्पन्न हुने प्राकृतिक जलवायु प्रणाली हो। यसका कारण विश्वभर हावाको बहाव, चाप र वर्षाको ढाँचामा व्यापक परिवर्तन देखापर्छ। यो घटना सामान्यतया दुईदेखि सात वर्षको अन्तरालमा देखापर्छ र नौदेखि १२ महिनासम्म सक्रिय रहन्छ। यसको विपरीत अवस्थालाई ‘ला निना’ भनिन्छ।

डब्लूएमओले एल निनोलाई कमजोर, मध्यम, बलियो र अत्यन्त बलियो गरी चार तहमा वर्गीकरण गर्ने गरेको छ। यसपटक जुलाईदेखि सेप्टेम्बरको अवधिमा यो तेस्रो अर्थात् ‘बलियो’ श्रेणीमा पुग्ने अनुमान गरिएको छ। विभिन्न अन्तर्राष्ट्रिय जलवायु केन्द्रहरूका मोडेलअनुसार मध्य तथा पूर्वी भूमध्यरेखीय प्रशान्त क्षेत्रमा समुद्री सतहको तापक्रम निरन्तर बढ्ने देखिन्छ। प्रमुख अनुगमन क्षेत्रहरूमा समुद्री सतहको तापक्रम औसतभन्दा दुई डिग्री सेल्सियसभन्दा बढी रहने अपेक्षा गरिएको छ। यसले पूर्वानुमानप्रति उच्च विश्वसनीयता देखाएको डब्लूएमओको भनाइ छ।

संगठनका अनुसार एल निनो उत्तरी गोलार्धको शरद ऋतुमा अझ बलियो हुँदै जानेछ र यसको प्रभाव विश्वका धेरै भागमा फैलिनेछ। साथै भूमध्यरेखीय एटलान्तिक महासागर पनि सामान्यभन्दा बढी तातो रहने अनुमान गरिएको छ। यसअघिको एल निनोले सन् २०२३ लाई इतिहासकै दोस्रो सबैभन्दा तातो वर्ष र २०२४ लाई पूर्वऔद्योगिक औसतभन्दा १.५५ डिग्री सेल्सियस बढी तापक्रमसहित अहिलेसम्मकै सबैभन्दा तातो वर्ष बनाउन महत्त्वपूर्ण योगदान दिएको थियो।

डब्लूएमओका महासचिव सेलेस्टे साउलोले एल निनोको तीव्रतासँगै धेरै क्षेत्रमा खडेरी, अत्यधिक वर्षा, स्थल तथा समुद्री गर्मीको लहरको जोखिम बढ्ने बताएकी छन्। "कृषि, स्वास्थ्यलगायत जलवायुसँग प्रत्यक्ष सम्बन्धित क्षेत्रमा प्रारम्भिक चेतावनी प्रणाली र मौसमी पूर्वानुमानलाई अझ प्रभावकारी बनाउन आवश्यक छ," उनले भनिन्, "समयमै सूचना प्रवाह गर्न सके जनधनको क्षति घटाउन महत्त्वपूर्ण भूमिका खेल्छ।"

नयाँ अद्यावधिक प्रतिवेदनले ६० डिग्री दक्षिणदेखि ६० डिग्री उत्तरसम्मका ध्रुवीय क्षेत्रबाहेक अधिकांश जनबसोबास भएका भूभागमा औसतभन्दा बढी तापक्रम रहने सम्भावना देखाएको छ। जुलाईदेखि सेप्टेम्बरसम्म केही क्षेत्रमा सामान्यभन्दा बढी वर्षा हुने अनुमान गरिए पनि नेपालसहितको भारतीय उपमहाद्वीप र अस्ट्रेलियाका धेरै भागमा भने औसतभन्दा कम वर्षा हुने सम्भावना छ।

डब्लूएमओले जलवायु परिवर्तनका कारण एल निनोको आवृत्ति वा तीव्रता बढेको ठोस प्रमाण नरहेको स्पष्ट पारेको छ। यद्यपि, तातो समुद्र र वातावरणका कारण गर्मीको लहर, भारी वर्षा तथा अन्य चरम मौसमी घटनाको प्रभाव भने अझ गम्भीर बन्न सक्ने चेतावनी दिइएको छ।

साथै, उत्तरी गोलार्धको गर्मीयाममा एल निनोसँग सम्बन्धित न्यानो समुद्री पानीले मध्य तथा पूर्वी प्रशान्त क्षेत्रमा आँधीबेहरीको गतिविधि बढाउन सक्ने, तर एटलान्तिक महासागरमा यस्ता प्रणालीको विकासलाई कमजोर पार्न सक्ने संगठनले जनाएको छ।