सरुवा र अवकाश भइसकेका कर्मचारीका ४ हजार पास अझै सक्रिय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रतिबन्धित क्षेत्रमा कार्यरत नरहेका कर्मचारीका चार हजारभन्दा बढी प्रवेश पास अझै पनि प्रणालीमा सक्रिय रहेको पाइएपछि सरकारले तिनलाई निष्क्रिय बनाउन थालेको छ।

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रतिबन्धित क्षेत्रमा प्रवेशका लागि जारी गरिएका चार हजारभन्दा बढी प्रवेश पास कर्मचारीको सरुवा, अवकाश, राजीनामा वा सेवा छाडिसकेपछि पनि प्रणालीमा सक्रिय रहेको पाइएपछि सरकारले तिनलाई निष्क्रिय बनाउन थालेको छ।

विमानस्थलको सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनमा एक अध्ययन गरिएको थियो। उक्त अध्ययन प्रतिवेदनले हाल कार्यरत नरहेका कर्मचारीका ४ हजार ७२ वटा पास अझै पनि प्रणालीमा सक्रिय ('एक्टिभ') देखाएको प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन्।

उनका अनुसार प्रधानमन्त्री कार्यालयको निर्देशन र समन्वयमा नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिबन्धित क्षेत्रमा प्रवेशका लागि जारी गरिएका ती पुराना प्रवेश पासहरू निष्क्रिय गर्ने प्रक्रियालाई तीव्र बनाएको छ।

प्राधिकरणका महानिर्देशक मुकेश डङ्गोलका अनुसार हाल कार्यरत नरहेका तर प्रणालीमा सक्रिय देखिएका प्रवेश पासमध्ये हालसम्म नियमित प्रक्रियाअनुसार फोटोसहित र फोटोरहित गरी जम्मा ४ हजार ८१० वटा पास निष्क्रिय (नष्ट) पारिएको छ। साथै, बाँकी रहेका ४ हजार ७२ सक्रिय प्रवेश पासमध्ये प्रधानमन्त्री कार्यालयको निर्देशनपछि ५०७ वटा पास संकलन गरी प्वाल पारेर नष्ट गर्ने तथा प्रणालीबाटै निष्क्रिय गर्ने प्रक्रिया सुरु गरिएको छ।

सरुवा भएर गइसकेका कर्मचारीका पास फिर्ता गराउन सम्बन्धित निकायहरूलाई परिपत्र जारी गरिएको छ। केही पास कर्मचारीहरूले स्वेच्छाले फिर्ता गरेका छन् भने केहीलाई फोनमार्फत सम्पर्क गरी फिर्ता मागिएको महानिर्देशक डङ्गोलले जानकारी दिए।

प्रेस तथा अनुसन्धान विज्ञ दाहालका अनुसार सरकारले विमानस्थलको सुरक्षा र संवेदनशीलतालाई उच्च प्राथमिकतामा राखेर आवश्यक सुधारका कामहरू तत्काल कार्यान्वयन गरिरहेको छ।

प्रधानमन्त्री कार्यालयले यस प्रक्रियालाई अझ प्रभावकारी बनाउन सचिव गोविन्दबहादुर कार्कीलाई समन्वयको जिम्मेदारी दिएको छ। सोही समन्वयका आधारमा विमानस्थल सुरक्षासम्बन्धी अध्ययन, अनुगमन तथा सुधारका कामहरूसमेत अघि बढाइएका छन्। प्राधिकरणका अनुसार सन् २०२४ जनवरी १ देखि हालसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका लागि फोटोसहितका स्थायी प्रवेश पास १२ हजार ४०२ वटा र फोटोरहित अस्थायी पास १ हजार ४१३ वटा गरी कूल १३ हजार ८१५ थान पास जारी गरिएका छन्।

तीमध्ये फोटोसहितका ७ हजार ६७७ पास सक्रिय र ४ हजार ७२५ पास निष्क्रिय छन् भने फोटोरहित पासमध्ये १ एक ३२८ सक्रिय तथा ८५ वटा निष्क्रिय अवस्थामा छन्।

प्राधिकरणले 'त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निषेधित क्षेत्र प्रवेश अनुमति पत्र व्यवस्थापन कार्यविधि, २०८० (तेस्रो संशोधन)' अनुसार प्रवेश पास निष्क्रिय गर्ने प्रक्रिया नियमित रूपमा सञ्चालन हुँदै आएको जनाएको छ। कार्यविधिको नियम २० अनुसार कर्मचारी सरुवा, अवकाश, राजीनामा वा अन्य कुनै कारणले जिम्मेवारीमा नरहेमा तीन दिनभित्र प्रवेश पास फिर्ता गर्नुपर्ने अनिवार्य व्यवस्था छ।

प्राधिकरणका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका २०१ वटा संस्थाहरू आबद्ध छन्। प्रत्येक संस्थाले आफ्नै नियमअनुसार कर्मचारी नियुक्त गर्ने भएकाले स्थायी, अस्थायी तथा 'आउटसोर्सिङ' कर्मचारीको वर्गीकृत विवरण तत्काल उपलब्ध हुन नसकेको प्राधिकरणले जनाएको छ।

महानिर्देशक डंगोलका अनुसार यस्ता प्रवेश पास सामान्यतया दुई वर्षका लागि जारी हुने गर्छन्। प्रतिवेदनले पुराना पासहरू तत्काल निष्क्रिय नगरे विमानस्थल परिसर वा अन्यत्र दुरुपयोग हुन सक्ने उच्च जोखिम औँल्याएको छ। त्यसैले अभिलेख व्यवस्थापनमा एकरूपता कायम गर्न प्रतिवेदनको सुझाव र प्रधानमन्त्री कार्यालयको निर्देशनअनुसार पास निष्क्रिय बनाउने कामलाई तीव्रता दिइएको उनको भनाइ छ।

विमानस्थलजस्तो संवेदनशील क्षेत्रको सुरक्षा एवं चुस्तताका लागि प्रधानमन्त्री कार्यालयले विशेष ध्यान दिँदै आएको छ। सोहीबमोजिम विमानस्थल प्रवेश पासको दुरुपयोग हुन सक्ने आशंकालाई मध्यनजर गर्दै प्रधानमन्त्री कार्यालयले यो कदम चालेको हो।