देशभर मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

फाइल तस्वीर

काठमाडौँ– देशभर मनसुन सक्रिय भएसँगै बुधबार अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मंगलबार गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भूभाग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै क्षेत्रमा पनि मनसुन फैलिएको छ। यससँगै देशभर मनसुनी वायुको प्रभाव कायम भएको विभागले जनाएको छ।

हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश स्थानमा बादल लागेको छ भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रहेको छ। बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा कोशी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।

विभागका अनुसार बुधबार दिउँसो देशभर पूर्णतया बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। तराईका केही स्थानमा पनि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

त्यस्तै, आज राति पनि देशभर पूर्णतया बदली रहने अनुमान छ। हिमाली भूभागका थोरै स्थान, पहाडी भूभागका केही स्थान तथा तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। साथै कोशी, बागमती र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ।