पूर्वदेखि पश्चिमतर्फ मनसुन विस्तार हुँदै, कोशीमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशका केही क्षेत्र तथा लुम्बिनी प्रदेशको पूर्वी भागका थोरै स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ।

फाइल तस्वीर

काठमाडौँ– नेपालमा मनसुन क्रमशः पश्चिमतर्फ विस्तार भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशका केही क्षेत्र तथा लुम्बिनी प्रदेशको पूर्वी भागका थोरै स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ।

महाशाखाले गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भूभाग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा आगामी चारदेखि पाँच दिनभित्र मनसुन फैलिने सम्भावना रहेको जनाएको छ। ती क्षेत्रमा हाल पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम छ।

हाल देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने तराईमा आंशिक बदली छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा पनि आंशिक बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

शनिबार दिउँसो देशका हिमाली तथा पहाडी भूभाग तथा कोशी र मधेश प्रदेशका तराई क्षेत्रमा सामान्य बदली रहने पूर्वानुमान छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने महाशाखाको अनुमान छ।

त्यस्तै, कोशी प्रदेशको तराई, मधेश प्रदेशका थोरै स्थान तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने जनाइएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा तातो लहरको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।

आज राति  कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ।

यस्तै, कोशी प्रदेशको तराई, मधेश प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। कोशी प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।