बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा

बेलायतका प्रधानमन्त्री किर स्टार्मरले पदबाट राजीनामा दिने घोषणा गरेका छन्।

बेलायतका प्रधानमन्त्री किर स्टार्मरले सोमबार राजीनामाको घोषणा गरेका छन्। उनी दुई वर्षभन्दा कम समय मात्र प्रधानमन्त्री पदमा रहे।

पार्टीभित्र बढ्दो अलोकप्रियता र नीतिगत परिवर्तनका कारण उनले लेबर पार्टीको नेताबाट राजीनामा दिनु परेको हो। लन्डनस्थित '१० डाउनिङ स्ट्रिट' बाहिर सम्बोधन गर्दै स्टार्मरले आफ्ना निर्णयहरू देशको हितका लागि भएको दाबी गरे।

"मैले हरेक निर्णय देशलाई पहिलो स्थानमा राखेर गरेँ। त्यसैले म लेबर पार्टीको नेता पदबाट राजीनामा दिन्छु," उनले भावुक हुँदै भने।

स्टार्मरका अनुसार नयाँ नेता चयनको प्रक्रिया आगामी जुलाईमा शुरू हुनेछ। नयाँ नेता छनोट नभएसम्म उनी प्रधानमन्त्रीकै जिम्मेवारीमा रहनेछन्। नयाँ नेता सेप्टेम्बरभित्र चयन हुने अपेक्षा गरिएको छ।

सन् २०२४ को आमनिर्वाचनमा लेबर पार्टीलाई विजयी गराएर स्टार्मर प्रधानमन्त्री बनेका थिए। तर, उनको कार्यकाल नीतिगत अस्थिरता र घट्दो जनसमर्थनका कारण चुनौतीपूर्ण रह्यो।