महोत्तरीको चुरे क्षेत्रमा बाघ आतंक, गोठमै पशुवस्तु मारिएपछि गाउँले रातभर पहरा दिँदै

महोत्तरीको चुरे क्षेत्रअन्तर्गत बर्दिबास नगरका काछ बस्तीहरूमा विगत एक सातादेखि पाटेबाघले गोठमै पसेर घरपालुवा पशुवस्तु मार्न थालेपछि स्थानीय त्रासमा छन्।

महोत्तरी– महोत्तरीको चुरेकाछका बस्तीमा बाघको आतङ्क बढेको छ। जिल्लाको पूरै चुरे क्षेत्र ओगटेको बर्दिबास नगर क्षेत्रका काछ बस्तीमा पछिल्लो साता बाघको आतङ्क बढेको हो।

गत आइतबार बर्दिबास–५ टुटेश्वर सिरानको वरडाँडा बस्तीमा राति गोठ पसेर घरपालुवा पशुवस्तु मारेको बाघ अहिले नगरको पूर्वी काछ बस्तीमा आइपुगेको छ। गोठ पसेर गाईगोरु, बोका, बाख्रा र सुँगुर मार्ने वन्यजन्तु पाटेबाघ भएको शुक्रबार राति पहिचान भएको छ।

"लगातार चार दिनदेखि बर्दिबास–३ को रातु नदीको पश्चिमतिरको पाटु डाँडामा राति बोका, बाख्रा र सुँगुर मारेको थियो, कुन जन्तु हो भन्ने यकिन हुन सकेको थिएन", बर्दिबास–३ का वडाध्यक्ष विराट विष्टले भने, "शुक्रबार राति भने पहरा दिएर बसेका गाउँलेले सानो बच्चा (डमरु) सहित पाटेबाघ देखेका हुन्।"

राँको बालेर टिन ठटाएपछि बाघ घना जङ्गलभित्र पसेको पाटुकै बासिन्दा कारेभोगटे सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रमेश पौडेल खत्रीले बताए।

"हाम्रो बस्तीमा बुधबार रातिदेखि लगातार सुँगुर, बोका र बाख्रा खोरबाटै थुतेर मारेको थियो, कहिले मार्यो भन्ने चिनिएको थिएन", खत्रीले भने, "हिजो शुक्रबार साँझैदेखि पहरा दिएर बस्यौँ, बच्चासहितको पाटेबाघ देखियो।"

शुक्रबार राति बाघ जङ्गल पसे पनि स्थानीय बासिन्दाहरू आतङ्कित भएका छन्।

बाघले बुधबार राति पाटु डाँडाका कृष्णबहादुर मगरको सुँगुरको चार-पाँच धार्नीको पाठो र बिहीबार राति रूपमाया खड्काको आठ-नौ धार्नीको बोका र गर्भिणी बाख्रा खोरबाटै थुतेर लगेर मारेको थियो।

यसअघि करिब १५ किलोमिटर पश्चिमको बर्दिबास–५ वरडाँडामा बाघले साताको प्रारम्भमा सो बस्तीका प्रेमबहादुर थिङको लैनो गाई र वृजबहादुर थिङको बाछो मारेको थियो। वरडाँडाका बासिन्दाले पनि मङ्गलबार राति राँको बालेर होहल्ला गरेपछि बाघ पूर्वतर्फ लागेको थियो।

बाघको आतङ्क बढेपछि बस्ती वरपर खेतबारीमा हिँडडुल गर्न पनि डर भएको पाटुकै बासिन्दा ओमबहादुर खड्का बताउँछन्। अहिले चुरे काछका बासिन्दाहरू बाघ बस्ती पस्न नदिन वनसम्बद्ध अधिकारीहरूसँग गुहार लगाइरहेका छन्।

यसैबीच, चुरे क्षेत्रका सामुदायिक वन उपभोक्ता समिति र वनसम्बद्ध यस क्षेत्रका कार्यालयले साँझपख हिँडडुल नगर्न, बस्ती वरपर चनाखो भएर रहन र घरपालुवा पशुवस्तु खोर वा गोठमा बन्दिलो गरी सुरक्षित राख्न अपिल गरेका छन्।