कंगोमा इबोलाबाट एक महिनामै १०० भन्दा बढीको मृत्यु

पूर्वी कंगोमा दुर्लभ 'बुन्डिबुग्यो' प्रकारको इबोला भाइरस फैलिएको एक महिनाभित्रै कम्तीमा १०० जनाको मृत्यु भएको छ।

पूर्वी कंगोमा इबोला भाइरसको प्रकोप घोषणा भएको एक महिनाभन्दा कम समयमा कम्तीमा १०० जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। पछिल्लो तथ्यांकले संक्रमण तीव्र रूपमा फैलिरहेको संकेत गरे पनि वास्तविक संख्या अझै बढी हुन सक्ने आशंका गरिएको छ।

स्थानीय स्वास्थ्य निकायका अनुसार आइतबारसम्म ५५० जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये १०१ जनाको मृत्यु भइसकेको र १९ जना निको भएको सोमबार सार्वजनिक पछिल्लो वस्तुस्थिति प्रतिवेदनमा उल्लेख छ।

यसअघि प्रकोप घोषणा भएको केही हप्तामै संक्रमण फैलिन थाले पनि औपचारिक पुष्टि ढिलो भएको अधिकारीहरूले बताए। त्यही कारण रोग नियन्त्रण र रोकथामका प्रयासहरू थप जटिल बनेका छन्।

स्वास्थ्यकर्मीहरूका अनुसार प्रभावित क्षेत्रमा स्थानीय बासिन्दाको आक्रोश, स्वास्थ्यकर्मीमाथि आक्रमणका घटना तथा सशस्त्र समूहको सक्रियताले नियन्त्रण अभियानलाई चुनौती दिएको छ। धेरै क्षेत्रमा अविश्वासका कारण परीक्षण, उपचार र कन्ट्याक्ट ट्रेसिङको कार्य प्रभावित भएको छ।

विशेषज्ञहरूले सङ्क्रमणको वास्तविक संख्या आधिकारिक तथ्यांकभन्दा धेरै बढी हुन सक्ने चेतावनी दिएका छन्। प्रभावित क्षेत्रमा समयमै रोग पहिचान नहुनु र असुरक्षाका कारण स्वास्थ्य सेवाको पहुँच सीमित भएकाले अवस्था नियन्त्रणबाहिर जान सक्ने जोखिम बढेको छ।

यो पछिल्लो प्रकोप दुर्लभ ‘बुन्डिबुग्यो’ प्रकारको इबोला भाइरसका कारण भएको हो। यो प्रकारको भाइरस कंगोमा पहिले देखिने ‘जाइर’ प्रकारभन्दा फरक छ। जाइर प्रकारका लागि खोप र उपचार उपलब्ध छ।

तर बुन्डिबुग्यो प्रकारका लागि हालसम्म कुनै स्वीकृत खोप वा विशेष उपचार उपलब्ध नभएकाले रोकथाम र नियन्त्रण कार्य अझ कठिन बनेको स्वास्थ्य अधिकारीहरूले उल्लेख गरे।

विश्लेषकहरूका अनुसार लामो समयदेखिको सशस्त्र द्वन्द्व, कमजोर स्वास्थ्य पूर्वाधार र जनविश्वासको कमीका कारण कंगोमा इबोला नियन्त्रण अभियान पटक–पटक चुनौतीमा पर्ने गरेको छ। यसपटक पनि त्यही अवस्थाले महामारी नियन्त्रणको प्रयासलाई गम्भीर रूपमा प्रभावित गरेको देखिन्छ।