नियमित कार्यसूचीमा प्रवेश नगरी प्रतिनिधिसभा बैठक स्थगित

नेपाल–भारत सीमा विवादमा प्रधानमन्त्रीको जवाफ माग गर्दै विपक्षी दलहरूले अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नै नगरी बुधबारसम्मका लागि स्थगित भएको छ।

 

काठमाडौँ– प्रमुख प्रतिपक्षी दललगायतका विपक्षी दलहरूको विरोधका कारण प्रतिनिधिसभाको आजको बैठक नियमित कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ।

बैठकमा विपक्षी दलहरूले नेपाल–भारत सीमाका सम्बन्धमा प्रधानमन्त्रीले दिनुभएको धारणाको सम्बन्धमा जवाफ माग गर्दै अवरोध गरेका थिए। सभामुख डोलप्रसाद अर्यालले पटक–पटक आसनग्रहण गरी बैठक सञ्चालनमा सहजीकरण गर्न विपक्षी दललाई आग्रह गरे। सभामुखको सो आग्रहलाई विपक्षी दलहरूले अस्वीकार गर्दै विरोध जारी राखे।

त्यसपछि सभामुख अर्यालले बैठक बुधबार बिहान ११:०० बजे बस्नेगरी स्थगित भएको जानकारी गराए। आजको बैठकमा सभामुख अर्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची थियो।

त्यस्तै, सभामुख अर्यालले कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरूको नाम मनोनयन गरेको व्यहोरा जानकारी गराउनुका साथै ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ राष्ट्रियसभाबाट अवधिभित्र फिर्ता नभएको जानकारी गराउने कार्यक्रम थियो।

यस्तै, अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वक्तव्यसहित आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो।

साथै आव २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने र अर्थमन्त्री डा वाग्लेले छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची थियो।

त्यसैगरी, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’, ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यक्रम थियो।

बैठकमा सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले ‘राष्ट्रियसभामा उत्पत्ति भएको चलचित्र विधेयक, २०८२’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो।