फिलिपिन्स भूकम्पमा ३१ जनाको मृत्यु, दर्जनौँ बेपत्ता

फिलिपिन्सको दक्षिणी क्षेत्रमा सोमबार गएको शक्तिशाली भूकम्प र त्यसपछिका पराकम्पका कारण कम्तीमा ३१ जनाको मृत्यु हुनुका साथै व्यापक भौतिक क्षति भएको छ।

फिलिपिन्सको दक्षिणी क्षेत्रमा सोमबार गएको ७.८ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको प्रान्तीय अधिकारीहरूले बताएका छन्। राष्ट्रिय प्रकोप व्यवस्थापन अधिकारीहरूका अनुसार कम्तीमा एक दर्जन व्यक्ति अझै हराइरहेका छन् भने १३४ जना घाइते भएका छन्।

करिब ७ लाख २० हजार जनसंख्या रहेको जनरल सान्तोसको दक्षिणमा केन्द्रविन्दु बनाएर गएको भूकम्पले तटीय क्षेत्रमा बढी क्षति पुर्‍याएपछि अधिकारीहरूले नागरिकलाई उच्च स्थानमा जान आग्रह गरेका छन्। अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (यूएसजीएस) का अनुसार मुख्य भूकम्प गएको करिब दुई घण्टापछि ६.५ म्याग्निच्युडको शक्तिशाली पराकम्पसमेत गएको थियो।

जनरल सान्तोसमा रहेका एएफपीका एक पत्रकारका अनुसार सोमबार दिउँसो उद्धारकर्मीहरूले एउटा व्यस्त किराना पसल भत्किँदा भग्नावशेषमा पुरिएका दुई कर्मचारीको शव निकाल्ने प्रयास गरिरहेका थिए। अति प्रभावित सारङ्गानी प्रान्तका विपद् व्यवस्थापन प्रमुख रेने पुन्जालानले बताएअनुसार ग्लान नगरपालिकामा मात्रै पहाडको फेदमा पहिरोले घर पुरिँदा १४ जनाको मृत्यु भएको छ।

“भूकम्पलगत्तै पहिरो खसेका कारण धेरै मानिसको ज्यान गइसकेको छ,” पुन्जालानले भने, “केही दुर्गम क्षेत्रमा भएको क्षतिको पूर्ण विवरण आउन अझै बाँकी छ।” उनले थपे, “अहिले सबैभन्दा ठूलो चुनौती सञ्चारको रहेको छ। बिजुली काटिएकाले प्रभावित क्षेत्रबाट थप विवरण प्राप्त गर्न गाह्रो भइरहेको छ। हामी पराकम्पबाट हुनसक्ने थप क्षतिप्रति चिन्तित छौँ, बासिन्दाहरू त्रासबीच सहयोगको पर्खाइमा छन्।”

सामाजिक सञ्जालमा पोस्ट गरिएको र एएफपीले प्रमाणित गरेको भिडियोमा जनरल सान्तोस सिटीमा रहेको एक सपिङ सेन्टर र विद्यालयका भवनहरू भत्किएको देखिएको छ। एएफपीले प्राप्त गरेको अर्को भिडियोमा भूकम्पको कडा धक्काका कारण विद्यालयका साना बालबालिकाहरू त्रसित हुँदै रोइरहेको र शिक्षकहरूले उनीहरूलाई सम्हालिरहेको देखिन्छ। विद्यालयको आधिकारिक फेसबुक पेजमा राखिएको भिडियोमा खेलमैदानको एक धातुको संरचना भत्किएको देखिए पनि त्यहाँ कोही पनि घाइते नभएको उल्लेख छ।

विपद् प्रमुख पुन्जालानका अनुसार सुनामीको चेतावनीका कारण २ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ र उनीहरू घर फर्कनका लागि आधिकारिक सूचनाको पर्खाइमा छन्। प्रशान्त महासागरीय सुनामी चेतावनी केन्द्रले जारी गरेको प्रारम्भिक सूचनामा फिलिपिन्स, इन्डोनेसिया, पलाउ, ताइवान र पपुवा न्युगिनीको तटीय क्षेत्रमा सुनामीको लहर आउन सक्ने सम्भावना रहेको उल्लेख गरिएको थियो।