हङ्कङलाई हराउँदै नेपाल बन्यो एशियन गेम्स छनोटको च्याम्पियन

एशियन गेम्स २०२६ को पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा हङ्कङलाई डीएलएस पद्धतिका आधारमा १९ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको छ।

काठमाडौँ– नेपालले एशियन गेम्स छनोट २०२६ को उपाधि जितेको छ। सोमबार सिङ्गापुर राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनल खेलमा हङ्कङलाई डीएलएस (डकवर्थ लुइस स्टर्न) मेथडमा १९ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो।

यसअघि नै प्रतियोगिताको सेमिफाइनलमा पुगेका नेपाल, हङ्कङ, मलेसिया र ओमान आगामी सेप्टेम्बरमा जापानमा आयोजना हुने एशियन खेलकुद (एशियन गेम्स)का लागि छनोट भइसकेका छन्।

फाइनल खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङ्कङले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८८ रनको योगफल खडा गरेको थियो। हङ्कङका लागि अंशुमन रथले सर्वाधिक ८० रनको योगदान दिए। उनले ४५ बलमा ६ चौका र ६ छक्काको सहयोगमा अर्धशतकीय इनिङ खेलेका हुन्। 

त्यस्तै सहिद वासिफले २८ बलमा ७ चौका र ३ छक्काका साथ ५५ रन जोडे भने शिव माथुरले २१ बलमा २६ रन बनाए। 

बलिङतर्फ नेपालका लागि शेर मल्लले ४ विकेट लिए भने करण केसीले २ र सन्दीप लामिछानेले १ विकेट झारे।

हङ्कङले दिएको १८९ रनको विजयी लक्ष्य पछ्याएर नेपालले ब्याटिङ गरिरहँदा खेल वर्षाले रोकिएको थियो। वर्षाले खेल रोकिनुअघि नेपालले ११.३ ओभरमा २ विकेट गुमाएर ११४ रन बनाएको थियो। त्यतिबेला नेपालका कप्तान दीपेन्द्रसिंह ऐरी ४ बलमा ९ रन र रोहितकुमार पौडेल २४ बलमा ३५ रन बनाएर खेलिरहेका थिए। 

त्यसअघि ओपनर कुशल भुर्तेलले ४० बलमा ८ चौका र ३ छक्काको मद्दतमा ६५ रनको उत्कृष्ट इनिङ खेलेका थिए भने अर्का ओपनर आसिफ शेख गोल्डेन डक (पहिलो बलमै आउट) भएका थिए। वर्षाका कारण थप खेल हुन नसकेपछि डीएलएस पद्धतिका आधारमा नेपाल विजयी घोषित भएको हो। नेपाल सेमिफाइनल खेलमा ओमानलाई र हङ्कङ मलेसियालाई पाखा लगाउँदै फाइनलमा पुगेका थिए।