हुरीले झापामा २ करोडभन्दा बढीको केराखेती नष्ट, बीमा नगर्दा किसान मर्कामा

झापामा हुरी र वर्षाका कारण झण्डै ३० हेक्टर क्षेत्रफलको केराखेती पूर्ण रूपमा नष्ट हुँदा दुई करोड १२ लाख रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको छ।

फाइल तस्वीर

झापा– गत हप्ता आएको हुरी वर्षाले झापाका विभिन्न स्थानमा गरिएको केराखेती नष्ट भएको छ। झापामा यस वर्ष एक हजार ९१८ हेक्टर क्षेत्रफलमा केराखेती गरिएको थियो। हावा र वर्षाका कारण दुई करोड १२ लाख ८६ हजार २९२ रुपैयाँ बराबर क्षति पुगेको प्रारम्भिक अनुमान छ। २९.९७ हेक्टर क्षेत्रफलमा लगाइएको केराखेती पूर्ण रूपमा नष्ट भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

झापा गाउँपालिका, बाह्रदशी गाउँपालिका र कनकाई नगरपालिकामा लगाइएको केराखेतीमा हुरी र वर्षाका कारण क्षति पुग्न गएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिए।

यहाँ झापा गाउँपालिका–३ र ६, बाह्रदशी गाउँपालिका–७ को बत्तीसबिघे क्षेत्र तथा कनकाई नगरपालिका–५ मा व्यावसायिक केराखेती गरिँदै आएको छ।

कृषि ज्ञान केन्द्रका अनुसार प्रभावित क्षेत्रमध्ये २९.९७ हेक्टर क्षेत्रफलमा लगाइएको केराखेती पूर्ण रूपमा नष्ट भएको छ। हुरीले केराका बोट ढालेपछि उत्पादनका लागि तयार भइसकेका बोटसमेत नष्ट हुँदा किसानले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको छ।

विष्टका अनुसार झापा गाउँपालिका–३ मा एक हेक्टर क्षेत्रफलमा गरिएको केराखेती पूर्ण रूपमा नष्ट भएको छ। त्यहाँ २०.१ मेट्रिक टन उत्पादनमा क्षति पुगेको छ।

सबैभन्दा बढी क्षति बाह्रदशी गाउँपालिका–७ को बत्तीसबिघे क्षेत्रमा भएको देखिएको छ। उक्त क्षेत्रमा २५.५ हेक्टर क्षेत्रफलमा लगाइएको केराखेती प्रभावित भएको छ भने ५१२.५५ मेट्रिक टन उत्पादनमा क्षति पुगेको प्रारम्भिक अनुमान छ।

कनकाई नगरपालिका–५ मा दुई हेक्टर क्षेत्रफलमा गरिएको केराखेतीमा हुरीले क्षति पुर्‍याएको छ। त्यस क्षेत्रबाट उत्पादन हुने ४०.२ मेट्रिक टन केरा नष्ट भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ।

झापा गाउँपालिका–३ मा कृषक चन्द्र बस्नेत र पूजा खनालले १२ बिघा क्षेत्रफलमा लगाएको व्यावसायिक केराखेतीमा मात्रै करिब ६० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान छ।

केराखेतीमा भएको क्षतिले किसानहरू थप समस्यामा परेका छन्। अधिकांश किसानले बाली बीमा नगरेकाले क्षतिपूर्ति पाउने सम्भावना न्यून रहेको कृषि ज्ञान केन्द्रको भनाइ छ।

आर्थिक वर्ष २०८२/८३ मा झापामा एक हजार ९१० हेक्टर क्षेत्रफलमा केराखेती गरिएको थियो। उक्त क्षेत्रबाट तीन लाख ८८ हजार ३१०.२ मेट्रिक टन केरा उत्पादन भएको थियो।