फ्रान्समा पीएसजीको विजयोत्सवका क्रममा झडप, ७८० जना पक्राउ

पीएसजीको विजयोत्सवका क्रममा भएको झडप र सडक दुर्घटनामा एक युवकको मृत्यु भएपछि सुरक्षा नियन्त्रणका लागि सुरक्षाकर्मीले ७८० जनालाई पक्राउ गरेका छन्।

पेरिस सेन्ट जर्मेन (पीएसजी)ले च्याम्पियन्स लिगमा आर्सनलमाथि जित हासिल गरेपछि भएको विजयोत्सव हिंसात्मक झडपमा परिणत भएको छ। 
सडक दुर्घटनामा एक युवकको मृत्यु हुनुका साथै विभिन्न स्थानमा भएका झडपपछि फ्रान्सका अधिकारीहरूले सुरक्षा नियन्त्रणका लागि देशभरिबाट ७८० जनालाई पक्राउ गरिएको घोषणा गरेका छन्।

पीएसजीको जितपछि खुसियाली मनाउन र खेलका लागि हजारौँ मानिस पेरिसको सडकमा उत्रिएका थिए। त्यस क्रममा सडकमा भेला भएका समर्थकका केही समूह र प्रहरीबीच भीड नियन्त्रण गर्ने क्रममा झडप भएको हो। प्रशासनले गत वर्षको विजयोत्सवपछिको अशान्तिलाई मध्यनजर गर्दै करिब २२ हजार सुरक्षाकर्मीलाई सडकमा उतारेको थियो।

सुरक्षाकर्मीलाई लक्षित गरी भएका आतिशबाजी र झडपका घटनाबारे प्रकाश पार्दै गृहमन्त्री लरेन्ट नुनेजले एक संक्षिप्त पत्रकार सम्मेलनमा भने, “फ्रान्समा ५७ सुरक्षाकर्मी र विजयोत्सवमा सहभागी २१९ जना घाइते भएका छन्, जसमध्ये आठ जनाको अवस्था गम्भीर छ।” नुनेजले गत वर्ष पीएसजीको च्याम्पियन्स लिग जितको खुसियालीका बेला भएको झडपको तुलनामा यो संख्या ३२ प्रतिशतले बढी भएको समेत बताए।

यसैगरी, पेरिसको सरकारी अभियोजनकर्ताको कार्यालयले पेरिसको रिङरोडमा ‘मोटोक्रस बाइक’ दुर्घटना हुँदा एक युवकको मृत्यु भएको घोषणा गरेको छ। राजधानीकै अर्को एक स्थानमा एक व्यक्ति धारिलो हतियारको आक्रमणबाट घाइते भएको र उनको अवस्था पनि गम्भीर रहेको अभियोजनकर्ताको कार्यालयले जनाएको छ।