राष्ट्रसेवक कर्मचारीको तलब २१ प्रतिशतसम्म वृद्धि

सरकारले सरकारी सेवामा कार्यरत राष्ट्रसेवक कर्मचारीको तलब वृद्धि गरेको छ।

काठमाडौँ– सरकारले सरकारी सेवामा कार्यरत राष्ट्रसेवक कर्मचारीको तलब वृद्धि गरेको छ। 

संघीय संसद्को संयुक्त बैठकमा शुक्रबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हाल खाईपाई आएको पारिश्रमिकमा करिब २१ प्रतिशत खुद वृद्धि हुने घोषणा गरेका हुन्। यससँगै ग्रेडसहित अब कर्मचारीको न्यूनतम पारिश्रमिक ४० हजार रुपैयाँदेखि अधिकतम १ लाख रुपैयाँभन्दा माथि कायम हुने भएको छ।

बजेट भाषणका क्रममा उनले भने, “कर्मचारीले हाल प्राप्त गरिरहेको महँगी भत्तालाई निरन्तरता दिँदै सुरु स्केलमा १० प्रतिशत तलब वृद्धि गरिएको छ। कार्यसम्पादनमा आधारित पारिश्रमिक प्रणालीको सुरुवात गर्न नयाँ तलबमानको १० प्रतिशत मासिक प्रोत्साहन भत्ताको समेत व्यवस्था गरेको छु।”

पछिल्लो चार वर्षदेखि राष्ट्रसेवक कर्मचारीको तलब वृद्धि नभएको र यस अवधिमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित महँगी १७.३ प्रतिशत पुगेकाले मर्यादित जीवनयापनका लागि पारिश्रमिक सुविधा पुनर्स्थापना गर्नुपर्ने महसुस गरी तलब वृद्धि गरिएको अर्थमन्त्री वाग्लेले बताए।