बारामा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने चर्चा लगभग पूरै सेलाइसक्यो। बारा, पर्साकै पारिपट्टि रक्सौलमा भने भारतले नेपाली यात्रुलाई केन्द्रमा राखेर सुविधासम्पन्न विमानस्थल बनाइरहेको छ।
काठमाडौँ– २०७६ भदौमा काठमाडौँमा नेपाल पूर्वाधार सम्मेलन चलिरहँदा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भनेका थिए– “अबको पाँच वर्षभित्र कुनै पनि हालतमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल तयार हुनेछ। त्यसका लागि ठोस रूपमा प्रक्रिया अघि बढिसकेको छ।”
भट्टराईले घोषणा गरे झैँ भएको भए यतिबेला निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सकिएर पनि सञ्चालनमा आइसकेको हुनुपर्थ्यो। धेरै वर्षदेखि चर्चा चलिरहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विषय भट्टराईअघि पर्यटनमन्त्री बनेका रवीन्द्र अधिकारीका पालामा धेरै चर्चामा आएको थियो। त्यसबेला सरकारले विमानस्थल निर्माणको काम अघि बढाउने घोषणा गरेको थियो। काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा निकै ठूलो विमानस्थल बनाउन लागिएको चर्चापछि त्यो क्षेत्रमा अरू धेरै आर्थिक गतिविधि पनि शुरू भएका थिए।
त्यहीबीच अधिकारीले हवाई दुर्घटनामा ज्यान गुमाएपछि मन्त्री बनेका भट्टराईले समयसीमा नै तोकेर विमानस्थल तयार हुने अवधि घोषणा गरे। तर आर्थिक सम्भाव्यतालाई लिएर प्रश्न उठिरहेको यो विमानस्थलसँग जोडिएको पर्यावरणको विषय यति गम्भीर बन्यो कि प्रक्रिया शुरु नहुँदै निजगढ विमानस्थलको विषय सामसुम हुनपुग्यो। २०८३ सालमा आइपुग्दा अब यो विमानस्थल परियोजना अगाडि बढ्छ कि बढ्दैन भन्ने नै टुंगो छैन। यही विमानस्थलसँग जोडेर चर्चा गरिएको काठमाडौँ–तराई द्रुतमार्ग निर्माणको काम यतिबेला धमाधम चलिरहेको छ, तर विमानस्थलको विषय भने गुमनाम बनेको छ।
यद्यपि, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्ने क्रममा निजगढ विमानस्थलको निर्माण मोडालिटी ६ महिनाभित्र तय गरिने बताएका छन्।
सरकारले यता मोडालिटी तय गर्ने घोषणा गरिरहँदा निजगढभन्दा करिब ५० किलोमिटर दूरीमा पर्सासँग जोडिएको सीमावर्ती भारतीय बजार रक्सौलमा सुविधासम्पन्न ठूलो विमानस्थल तयार भइरहेको छ। खासमा यो विमानस्थल भारतका विभिन्न शहरमा हवाई उडानका लागि तयार गरिँदै छ। तर अबको दुई वर्षमा तयार हुने यो विमानस्थलको मुख्य लाभ भने नेपालीलाई हुने चर्चा चलिरहेको छ।
कारण व्यावसायिक–व्यापारिक प्रयोजन, स्वास्थ्य उपचार, अध्ययन, रोजगारी, पर्यटन, तीर्थाटन, आफन्त भेटघाट र तेस्रो मुलुक जाने ट्रान्जिटका रूपमा थुप्रै नेपाली भारतका विभिन्न शहर पुगिरहेका हुन्छन्। अब सीमानामै सुविधासम्पन्न विमानस्थल सञ्चालनमा आउने भएपछि त्यसका प्रमुख लाभग्राही पनि नेपाली नै हुने चर्चा हुन थालेको छ।
सिमानाबाट ५ किलोमिटर
भारतको बिहार राज्य (प्रान्त) अन्तर्गत रक्सौलमा तयार हुने यो विमानस्थल केन्द्र सरकारले बनाइरहेको छ। भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेअनुसार यो विमानस्थल परियोजनाका लागि सन् २०१६ मा प्रधानमन्त्री नरेन्द्र मोदीले ‘पीएम प्याकेज’ अन्तर्गत २५० करोड भारतीय रुपैयाँको बजेट विनियोजन गरेका थिए।
खासमा यो ठाउँमा पहिल्यै हवाईअड्डा थियो। यो ठाउँमा सन् १९६२ मै भारतले सामरिक उद्देश्यले सानो आकारको सैन्य हवाईअड्डा निर्माण गरेको थियो। अहिले हवाई यातायातको बिस्तारका लागि त्यही ठाउँमा नयाँ सुविधासम्पन्न विमानस्थल निर्माण गर्न लागिएको हो। र नयाँ विमानस्थलका लागि पछिल्लो दुई दशकयता निरन्तर कुरा उठिरहेको थियो।
नयाँ विमानस्थल निर्माण–बिस्तार गर्ने भनिएको क्षेत्र शुरूमा साबिकको सैन्य हवाईअड्डा र त्यहाँ भन्दा पूर्वमा रहेको रक्सौल बजारको बीचको भूभागमा प्रस्ताव गरिएको थियो। तर पछि त्यो ठाउँमा एकीकृत जाँच चौकी (आइसीपी) र सुक्खा बन्दरगाह निर्माण भएर रेल्वे लाइन र सडक बनेको थियो। यी संरचना निर्माणपछि एक हिसाबले नयाँ विमानस्थल निर्माण–बिस्तारको सम्भावना नै सकिएको चर्चा चलेको थियो। त्यसमाथि प्रस्तावित विमानस्थलको क्षेत्र भन्दा पश्चिमतर्फ तिलावे नदीले गरिरहेको कटान विमानस्थल बिस्तारका लागि चुनौती बनेको थियो।
तिलावे नदी नेपालको चारकोशे झाडी (जंगल) भएर बग्ने नदी हो। यो पर्सा जिल्ला हुँदै भारतमा पस्छ। अहिले विमानस्थल निर्माण–बिस्तार योजना अघि बढेपछि तिलावे नदीमाथि पुल जस्तै संरचना बनाएर पश्चिमतिर धावनमार्ग बढाउने योजना बनाइएको बिहारको पश्चिम चम्पारण क्षेत्रका सांसद डा. सञ्जय जयसवाल बताउँछन्।
खासगरी भूमि अधिग्रहणको काम पूरा हुन नसक्दा यो विमानस्थल परियोजनाको निर्माणकार्य पछाडि धकेलिँदै गएको थियो। तीन वर्षअघि, सन् २०२३ मा राज्य (प्रान्तीय) सरकारबाट भूमि अधिग्रहणको अनुमति प्राप्त भएपछि परियोजना कार्यान्वयन हुने आशा पलाएको थियो। अब दुई वर्षभित्र निर्माण पूरा गर्ने लक्ष्यसहित टेन्डर आह्वान भइसकेको जायसवालले जनाएका छन्।

दुई वर्षको अवधिमध्ये विस्तृत डिजाइनका लागि चार महिना, निर्माणकार्यका लागि १८ महिना र अतिरिक्त परीक्षण समयका लागि दुई महिना लाग्ने उनले उल्लेख गरे। नेपाल–भारतको सीमाक्षेत्र नजिकै पर्ने रक्सौलको यो विमानस्थल बहुप्रतीक्षित रहेको, भर्खरै मात्र आफूले स्थानीय अधिकारीहरूसँगै प्रस्तावित निर्माणस्थलको अवलोकन गरेको उनले बताए।
यो विमानस्थल निर्माण भएपछि यहाँ एयरबस ए–३२० र बोइङ ७३७ लगायतका ठूला विमान सजिलै उडान र अवतरण गर्न सक्ने छन्। यो विमानस्थल २ हजार ७२ मिटर लामो धावनमार्ग रहेको पटनाको जयप्रकाश नारायण एयरपोर्ट भन्दा रक्सौल भन्दा धावनमार्गको हिसाबले ठूलो हुने छ। अर्थात् यसको धावनमार्ग पटनाको एयरपोर्ट भन्दा ३६० मिटर लामो अर्थात् २ हजार ४३२ मिटर लामो हुनेछ। त्यसमाथि यो विमानस्थल पटना भन्दा आधुनिक र सुविधासम्पन्न पनि भएकाले सुरक्षित अवतरणको लागि थप प्राविधिक सुविधायुक्त हुनेछ। प्राविधिकहरूका अनुसार आकस्मिक ब्रेकिङको आवश्यकता कमै पर्ने भएकोले यो विमानस्थल प्राविधिक रूपमा अझ बढी सुरक्षित र आधुनिक हुनेछ।
यो विमानस्थल निर्माण भएसँगै नेपाल र भारत दुवैका सीमावर्ती क्षेत्रमा व्यवसाय, रोजगारी र अरू धेरै आर्थिक अवसरहरू सिर्जना हुने जयसवालको दाबी छ। भारतीय अधिकारीहरूका अनुसार नयाँ विमानस्थल निर्माण–बिस्तारका लागि अहिले प्रस्तावित भन्दा थप १३९ एकड जमिन आवश्यक पर्नेछ। त्यसमध्ये ७० प्रतिशत जमिन अधिग्रहणको कार्य भइसकेको र बाँकी जमिनका लागि प्रक्रिया बढिरहेको उनीहरूले जानकारी दिए। विस्तृत डिजाइन र नक्सा तयार हुँदैगर्दा यता अधिग्रहण कार्य पनि पूरा हुने उनीहरूको दाबी छ।
केन्द्रमा नेपाली यात्रु
यो विमानस्थल बिहारको चम्पारण (पूर्वी र पश्चिमी) क्षेत्रका लागि जति महत्त्वपूर्ण छ, त्यो भन्दा धेरै महत्त्व नेपालीका लागि रहेको मुजफ्फरपुरस्थ्ति संस्था ‘मिडिया फर बोर्डर हार्मोनी’का अध्यक्ष अमरेन्द्र तिवारी बताउँछन्। “नेपाल र भारतको सिमानाले अरू देशका सिमाना जस्तो दुई देशको भूभाग मात्र विभाजित गर्दैन, बरु यसले सिमाना वारपारका जनतालाई जोड्ने काम पनि गर्छ,” उनले भने, “त्यसैले त यो सम्बन्ध विशिष्ट छ। रक्सौल एयरपोर्टबाट नेपालका जनता लाभान्वित हुनु यसैको एउटा कडी हुनेछ।”
खासमा यो विमानस्थलको आर्थिक सम्भाव्यता नेपाली यात्रुलाई नै हेरेर तय गरिएको धेरैको आकलन छ। हुन पनि भारतका विभिन्न शहरमा पुग्न वा भारत हुँदै तेस्रो मुलुकको यात्रा गर्न नेपालीहरू सीमाक्षेत्रबाट करिब २१० किलोमिटर रहेको पटना र करिब १९३ किलोमिटर टाढा पर्ने दरभंगाको विमानस्थलमा निर्भर रहँदै आएका छन्। अब सिमानाबाट ५ किलोमिटरभित्र पर्ने रक्सौलमै त्यही सुविधायुक्त विमानस्थल तयार हुनेछ।
नेपालको सिमानाबाट यति नजिकै सुविधासम्पन्न विमानस्थल निर्माण हुनु नेपालको पर्यटकीय विकासका लागिसमेत धेरै उपयोगी हुने वीरगन्जका पर्यटन व्यवसायी रचेन्द्र थापा बताउँछन्। “यो (वीरगन्ज–रक्सौल) नाका भारतीय पर्यटकका लागि ठूलो ट्रान्जिट बन्छ। यसले वीरगन्ज र मधेश प्रदेशको पर्यटनलाई प्रत्यक्ष लाभ दिन्छ नै, नेपाल घुम्न आउने पर्यटकको संख्या पनि बढ्छ,” होटल तथा पर्यटन व्यवसायी संघ पर्साका कार्यवाहक अध्यक्षसमेत रहेका थापाले भने, “ठाउँको विकासका लागि कनेक्टिभिटीले उसै पनि ठूलो अर्थ राख्छ।”
अहिले बनिरहेको काठमाडौँ–तराई द्रुतमार्ग सम्पन्न भएपछि काठमाडौँबाट जम्माजम्मी डेढ घण्टाको सडक यात्राबाट रक्सौल विमानस्थल पुग्न सकिनेछ। खासमा यो द्रुतमार्ग निर्माण शुरू हुँदा एक–डेढ घण्टामा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल पुग्न सकिने आकलन गरिएको थियो। यसपालिको बजेटमा समेटिए पनि तत्कालै निजगढ विमानस्थलको सम्भावना त देखिँदैन, यही द्रुतमार्गबाट रक्सौल पुग्नेहरूले भने भारत वा तेस्रो मुलुक यात्रा गर्न पहिलेभन्दा सुविधा पाउने छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
