देशका धेरै स्थानमा वर्षाको सम्भावना, तराई र पहाडी भूभागमा हावाहुरी चल्न सक्ने

कोशी प्रदेशका केही स्थान तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा भइरहेको छ।

फाइल तस्वीर

काठमाडौँ– हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार अहिले देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहेको छ भने बाँकी तराई क्षेत्रमा आंशिक बदली रहेको छ। कोशी प्रदेशका केही स्थान तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागका केही स्थान तथा मधेश प्रदेशसहित कोशी र बागमती प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराई तथा पहाडी भूभागका थोरै स्थानमा हावाहुरी चल्न सक्ने अनुमान गरिएको छ।

त्यस्तै, आज राति लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशसहित बागमती, गण्डकी र कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थान तथा मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

देशका तराई र पहाडी भूभागका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।