बेनी–जोमसोम सडक खण्ड पहिरोले अवरुद्ध

मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा पहिरो खस्दा यातायात प्रभावित भएको छ भने बीचमा फसेका यात्रुहरूलाई सुरक्षित स्थानमा सारिएको छ।

म्याग्दी– मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड अवरुद्ध भएको छ।

म्याग्दीको रघुगंगा गाउँपालिका–२ माथिल्लो बैसरीमा आज दिउँसो वर्षासँगै पहिरो खसेपछि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सम्पर्कविच्छेद भएको हो।

दुईतर्फको पहिरोको बीच भागमा चारवटा गाडी फसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले बताए।

सुरक्षाकर्मीको टोलीले पहिरोको बीचमा फसेका यात्रुहरूको उद्धार गरेर सुरक्षित ठाउँमा लगेको उनले बताए। सडक विभाग र बेनी–जोमसोम–कोरला सडक योजनासँग समन्वय गरेर पहिरोमा फसेका गाडी निकाल्न र अवरुद्ध सडक खुलाउन उपकरण परिचालन भएका छन्।

तर पानी परिरहेको र पहिरो निरन्तर खसिरहेकाले गाडी निकाल्ने र अवरुद्ध सडक खुलाउने कार्यमा जोखिम रहेको छ।

सडक अवरुद्ध हुँदा बेनीदेखि मुस्ताङ र जोमसोमदेखि बेनीतर्फ आउँदै गरेका सवारीसाधन बीच बाटोमै रोकिएका छन्। यसबाट स्थानीयका साथै मुस्ताङ घुम्न तथा मुक्तिनाथ दर्शनमा जाने–आउने पर्यटक र तीर्थयात्रीहरू प्रभावित भएका छन्।