आजको मौसम : गण्डकी र कोशीमा भारी वर्षा हुन सक्ने

पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ।

फाइल तस्वीर

काठमाडौँ– पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहेको छ। मधेश प्रदेशमा आंशिक बदली रहेको छ भने बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशका थोरै स्थान तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा भइरहेको छ।

महाशाखाले शनिबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ। मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र तथा लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ।

त्यस्तै, गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी भूभागमा तातो दिन तथा तराई क्षेत्रमा तातो लहरको सम्भावना रहेको छ।

आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रहनेछ। कोशी र मधेश प्रदेशका केही स्थान तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान पनि गरिएको छ।