महोत्तरीमा डुबेर चार बालिकाको मृत्यु

महोत्तरीका छुट्टाछुट्टै दुई स्थानमा नदी र खेतको पानीमा डुबेर चार बालिकाको ज्यान गएको छ।

महोत्तरी– महोत्तरीमा डुबेर चार बालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार आज जिल्लाको मनरासिस्वा नगरपालिका–७ सरपल्लो गाउँको नदीमा तीन बालिका र गौशाला नगरपालिका–४ रजखोर गाउँमा एक बालिकाको डुबेर मृत्यु भएको हो।

मनरासिस्वा नगरपालिका–७ सरपल्लोका वीरेन्द्र भण्डारीका १२ वर्षीया छोरी स्नेहाकुमारी र ६ वर्षीया छोरी शिवानीकुमारी तथा अजिज नदाफकी १२ वर्षीया छोरी अफसाना खातुनको डुबेर मृत्यु भएको हो। सरपल्लो गाउँका ती तीनै जना बालिका आज दिउँसो अङ्कुशी र जङ्घा नदीको दोभानमा नुहाउन गएका थिए। नुहाउने क्रममा खुट्टा चिप्लिएर नदीमा डुब्दा उनीहरूको मृत्यु भएको प्रहरीले जनायो।

प्रहरीका अनुसार गौशाला नगरपालिका–४ रजखोर गाउँ बस्ने नरेश महतोकी दुई वर्षीया छोरी दीपिकाकुमारीको घर नजिकै रहेको खेतमा जमेको पानीमा डुबेर मृत्यु भएको प्रहरी निरीक्षक रमेश लामाले बताए।

मृतक चारै बालिकाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वरमा पठाइएको छ। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।