यी प्रदेशमा वर्षाको सम्भावना

पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

फाइल तस्वीर

काठमाडौँ– पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार अहिले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बदली रहेको छ। बाँकी भूभागमा आंशिक बदली रहेको छ भने गण्डकी र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा भइरहेको छ।

शुक्रबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। साथै मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभाग तथा लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा पनि थोरै स्थानमा वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ।

सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रमा तातो लहरको सम्भावना रहेको महाशाखाले जनाएको छ। लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागमा तातो दिनको अवस्था रहने सम्भावना पनि रहेको छ।

आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रहनेछ। ती प्रदेशका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।