प्रतिपक्षी दलको विरोधबीच प्रतिनिधिसभाबाट तीन विधेयक स्वीकृत

प्रतिनिधिसभाको बिहीबारको बैठकले प्रमुख प्रतिपक्षी दलको अवरोधबीच निर्वाचन, मतदाता नामावली र विधि विज्ञान प्रयोगशालासँग सम्बन्धित तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ।

काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकबाट तीनवटा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ।

प्रमुख प्रतिपक्षी दलको विरोधबीच ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’, ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको हो।

प्रधानमन्त्री तथा गृहमन्त्री एवं विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले तीनवटै प्रस्ताव सदनसमक्ष प्रस्तुत गरेकी थिइन्। प्रस्तावहरू प्रस्तुत भएपछि सभामुख डोलप्रसाद अर्यालले छलफलमा भाग लिन सांसदहरूको नाम माग गरे पनि कसैको नाम प्राप्त नभएको जनाउँदै स्वीकृतिका लागि निर्णयार्थ प्रस्तुत गरेका थिए।

बैठक चल्दै गर्दा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले आफ्नै स्थानमा उभिएर विरोध जनाएका थिए भने प्रतिपक्षी दल एमाले तथा नेकपाका सांसदहरूले रोस्ट्रम अघि पुगेर नाराबाजीसहित जुलुस गरेका थिए।