प्रस्तावित प्रधानन्यायाधीश शर्माको नाम अनुमोदन

संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको नाम मंगलबार सर्वसम्मतिले अनुमोदन गरेको छ।

काठमाडौँ– संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ। सिंहदरबारमा मंगलबार बसेको समितिको बैठकले प्रस्तावित प्रधानन्यायाधीश शर्मालाई सर्वसम्मतिले अनुमोदन गरेको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए।

मंगलबार बिहान बसेको समितिको बैठक विशेष गरी प्रस्तावित प्रधानन्यायाधीश शर्माको कार्ययोजना र उनीविरुद्ध परेका उजुरीहरूको अध्ययन तथा छलफलका लागि बोलाइएको थियो। शर्माविरुद्ध समितिमा १६ वटा उजुरी परेका थिए। सुनुवाइको क्रममा उनले आफ्नो भावी कार्ययोजना प्रस्तुत गरेका थिए भने उक्त कार्ययोजनामाथि सांसदहरूबीच विस्तृत छलफल भएको थियो।

संवैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि अब राष्ट्रपतिले प्रधानन्यायाधीश पदमा नियुक्ति गर्ने संवैधानिक व्यवस्था रहेको छ।