इरानसँगको तनावबीच ट्रम्पले लेखे –आँधी आउनुअघिको सन्नाटा !

अमेरिका र इजरायलले इरानमाथि फेरि आक्रमण गर्ने तयारी गरिरहेको समाचारकै बीच ट्रम्पको यस्तो पोस्ट आएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा आफ्नो एउटा तस्वीर पोस्ट गरेका छन्, जसमा उनी एक सैन्य कमाण्डरसँग देखिएका छन्। 

ट्रम्पले पोस्ट गरेको तस्वीरमा लेखिएको छ, "यो आँधी आउनुभन्दा अगाडिको सन्नाटा हो।" इरानको सहयोगी मानिने चीन भ्रमणबाट फर्किएलगत्तै ट्रम्पले यस्तो पोस्ट गरेका छन्।

एनिमेटेड तस्वीरमा ट्रम्प युद्धपोतको डेकमा उभिएका छन्। आँधीबेहरीपूर्ण वातावरणले घेरिएको र इस्लामिक गणतन्त्र- इरानको झण्डा फहराइरहेका डुब्दै गरेका जहाजहरू देखाइएको छ।

ट्रम्पले यो पोस्ट यस्तो समयमा गरेका छन् जब न्यूयोर्क टाइम्सले मध्यपूर्वका दुई अधिकारीहरूलाई उद्धृत गर्दै अमेरिका र इजरायलले इरानमाथि फेरि आक्रमण गर्ने तयारी गरिरहेको जनाएको थियो। 

रिपोर्टका अनुसार यी आक्रमणहरू अर्को हप्ताबाट पनि शुरू हुन सक्छन्।

इरानी अधिकारीहरूले देशमाथि आक्रमण भएमा अझ कडा प्रतिक्रिया दिने चेतावनी दिएका छन्।