तेलको मूल्य बढ्दा विश्वभरका शेयर बजारमा गिरावट

तेलको मूल्य लगातार बढेपछि लगानीकर्तामा आर्थिक चिन्ता थपिँदा अमेरिकीसहित विश्वका प्रमुख शेयर बजारहरू दबाबमा परेका छन्।

तेलको मूल्य लगातार बढेपछि लगानीकर्तामा आर्थिक चिन्ता थपिँदा अमेरिकीसहित विश्वका प्रमुख शेयर बजारहरू दबाबमा परेका छन्।

शुक्रबार विश्वभरका शेयर बजारमा ठूलो गिरावट आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। विशेषगरी कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिसँग सम्बन्धित कम्पनीहरूको शेयरमा उच्च गिरावट आएपछि बजारमा व्यापक असर देखिएको हो।

अमेरिकाको एस एन्ड पी ५०० सूचकांक अघिल्लो दिनको ऐतिहासिक उच्च विन्दुबाट करिब १.२ प्रतिशतले घटेको छ। त्यस्तै, डाउ जोन्स औद्योगिक सूचकांक ५३७ अंकले ओरालो लागेको छ भने नास्डाक सूचकांक करिब १.५ प्रतिशतले घटेको छ।

पछिल्ला महिनाहरूमा एआई प्रविधिप्रतिको उत्साहका कारण तीव्र गतिमा उकालो लागेका प्रविधि कम्पनीहरूको शेयरमा अचानक गिरावट आउँदा बजार अस्थिर बनेको हो।

एआई क्षेत्रको नेतृत्व गरिरहेको एनभिडिया कम्पनीको शेयर मात्रै ४.४ प्रतिशतले घटेको छ, यद्यपि यस वर्ष हालसम्म उक्त कम्पनीको शेयर मूल्य २६ प्रतिशतभन्दा बढीले बढिसकेको थियो।

त्यस्तै, माइक्रोन टेक्नोलोजीको शेयर ६.६ प्रतिशतले घटे पनि यस वर्ष कम्पनीको समग्र शेयर मूल्य अझै करिब १५४ प्रतिशत माथि नै रहेको बताइएको छ।

विश्लेषकहरूले बजार अत्यधिक बढेको अवस्थामा पुगेकाले केही समयको गिरावट स्वाभाविक भएको बताएका छन्। उनीहरूले बलियो अमेरिकी अर्थतन्त्र र कम्पनीहरूको राम्रो आम्दानीले बजारलाई उच्च विन्दुसम्म पुर्‍याए पनि आगामी दिन सहज नहुने चेतावनी दिएका छन्।

यसबीच, मध्यपूर्वमा जारी युद्धका कारण तेलको मूल्य निरन्तर बढिरहेको छ । विशेष गरी इरानसँगको द्वन्द्व लम्बिँदै जाँदा विश्वकै महत्त्वपूर्ण तेल आपूर्ति मार्ग स्टेट अफ हर्मुज बन्द रहेकाले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल आपूर्ति प्रभावित भएको छ।

तेल ट्यांकरहरू आवतजावत गर्न नसक्दा विश्वभर तेलको मूल्य बढेको र त्यसले मुद्रास्फीतिको दबाब थप बढाएको विश्लेषण गरिएको छ। तेलको मूल्य वृद्धिका कारण विश्व अर्थतन्त्रमा थप अनिश्चितता बढेको र त्यसको प्रत्यक्ष असर शेयर बजारमा देखिएको जनाइएको छ।