दिल्ली कार बम विस्फोट : ५ डाक्टरसहित १० जनाविरुद्ध मुद्दा दायर

११ जनाको ज्यान लिने गरी दिल्लीमा भएको कार बम विस्फोटमा संलग्न रहेको आरोपमा एनआईएले काश्मीर क्षेत्रका ५ जना डाक्टरसहित १० जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ।

भारतको राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले सन् २०२५ मा दिल्लीमा भएको घातक कार बम विस्फोट प्रकरणमा १० जनाविरुद्ध औपचारिक आरोप दायर गरेको छ। ऐतिहासिक लाल किल्लानजिकै भएको उक्त विस्फोटमा कम्तीमा ११ जनाको मृत्यु भएको थियो। अनुसन्धान एजेन्सीले अभियुक्तहरू अल–कायदा प्रेरित समूहसँग सम्बन्धित रहेको दाबी गरेको छ।

गत वर्ष नोभेम्बर १० मा दिल्लीको पुरानो क्षेत्रमा पर्ने अत्यधिक भीडभाड हुने मेट्रो स्टेसननजिक उक्त विस्फोट भएको थियो। राजधानीको संवेदनशील तथा पर्यटकीय क्षेत्रमै विस्फोट भएपछि यसले देशभर सुरक्षा चिन्ता बढाएको थियो।

एनआईएका अनुसार घटनामा संलग्न भनिएका १० जनामध्ये एक जना कार चालक भनिएका मेडिकल डाक्टर उमर उन नबी पनि छन्, जसको विस्फोटकै क्रममा मृत्यु भएको थियो। जलेको अवस्थामा फेला परेको उनको शवलाई डीएनए परीक्षणमार्फत पहिचान गरिएको अनुसन्धानकर्ताहरूले बताएका छन्।

अधिकारीहरूका अनुसार मुख्य अभियुक्त डा. नबीको मृत्यु भइसकेकाले उनीविरुद्धको मुद्दा स्वतः खारेज हुनेछ। बाँकी नौ जना अभियुक्त भने हाल हिरासतमा छन्।

चार भारतीय राज्य र भारत प्रशासित काश्मीरमा महिनौँ लामो अनुसन्धानपछि एनआईएले बिहीबार नयाँ दिल्लीस्थित अदालतमा ७ हजार ५०० पृष्ठ लामो आरोपपत्र दर्ता गरेको छ।

एजेन्सीले जारी गरेको वक्तव्यमा मुख्य अभियुक्त डा. नबीसहित सबै १० जना ‘अन्सार गजवत–उल–हिन्द’ नामक समूहसँग आबद्ध रहेको दाबी गरिएको छ। उक्त समूहलाई भारतीय उपमहाद्वीपमा सक्रिय अल–कायदाको शाखा ‘अल–कायदा इन द इन्डियन सबकन्टिनेन्ट’ (एक्यूआईएस)सँग जोडिएको बताइएको छ।

विस्फोटमा मृत्यु हुनेको संख्याबारे शुरूआती चरणमा केही अन्योल देखिएको थियो। अस्पताल स्रोतहरूले १२ जनाको मृत्यु भएको बताए पनि आधिकारिक रूपमा ११ जनाको मृत्यु भएको पुष्टि गरिएको छ।

एनआईएका अनुसार अभियुक्तहरू प्रतिबन्धित हतियारको अवैध खरिद र ओसारपसारमा समेत संलग्न थिए। उनीहरूले एसल्ट राइफलजस्ता घातक हतियारहरू जम्मा गरेको र सुरक्षा निकायलाई लक्षित गरी रकेट तथा ड्रोनमार्फत इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस (आइइडी) प्रयोग गर्ने योजना बुनेको आरोप लगाइएको छ।

अनुसन्धानमा संलग्न अधिकारीहरूले आरोपितमध्ये केही ‘कट्टरपन्थी सोचबाट प्रभावित चिकित्सा व्यवसायी’ रहेको खुलासा गरेका छन्। आरोपपत्रअनुसार पक्राउ परेकामध्ये कम्तीमा पाँच जना डाक्टर छन्, जसमा धेरैजसो काश्मीर क्षेत्रका हुन्।

आरोपितहरू जोडिएको उक्त काश्मीर क्षेत्र सन् १९४७ मा ब्रिटिस शासनबाट भारत स्वतन्त्र भएपछि भारत र पाकिस्तानबीच विभाजित रहँदै आएको छ। दुवै देशले यो हिमाली क्षेत्रमाथि पूर्ण दाबी गर्दै आएका छन्।

त्यहाँ दशकौँदेखि विद्रोही गतिविधि र सुरक्षा कारबाही चल्दै आएको छ। भारतीय प्रशासनविरुद्ध सक्रिय विभिन्न सशस्त्र समूहसँग भएको द्वन्द्वमा हजारौँ सैनिक, लडाकु र सर्वसाधारणको ज्यान गइसकेको छ। यद्यपि, पछिल्ला वर्षहरूमा विद्रोही गतिविधि उल्लेखनीय रूपमा कमजोर बनाइएको भारतको दाबी छ।

भारत र पाकिस्तानले एकअर्कामाथि विभिन्न सशस्त्र समूहलाई समर्थन गरेको आरोप लगाउँदै आएका छन्। संयुक्त राष्ट्रसङ्घद्वारा आतङ्कवादी सूचीमा राखिएका केही समूहलाई लिएर पनि दुई देशबीच लामो समयदेखि आरोप–प्रत्यारोप हुँदै आएको छ।

तर, भारतीय पक्षले यस घटनासँग जोडिएको ‘अन्सार गजवत–उल–हिन्द’ समूहलाई प्रत्यक्ष रूपमा पाकिस्तान समर्थित समूहका रूपमा भने सार्वजनिक आरोप लगाएको छैन।