राष्ट्रियसभाबाट सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

राष्ट्रियसभाबाट आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ।

काठमाडौँ– राष्ट्रियसभाको बिहीबार बैठकले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ। 

नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले जवाफ दिएपछि निर्णयार्थ प्रस्तुत गरिएको थियो। संशोधनकर्ता सदस्यहरूले आफ्ना प्रस्ताव फिर्ता लिने प्रक्रिया पूरा भएपछि बैठकले बहुमतका आधारमा यसलाई पारित गरेको हो।

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा नेकपा(एमाले)ले मतदानमा भाग नलिने घोषणा गरेको थियो। एमाले बाहेकका अन्य दलका सदस्यहरूको ध्वनि मतका आधारमा नीति तथा कार्यक्रम पारित भएको हो।

यसअघि छलफलको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले विगतको आर्थिक आधार र समावेशी विकासलाई केन्द्रमा राखेर सरकार अगाडि बढ्न कटिबद्ध रहेको बताए। उनले १०० बुँदे शासकीय सुधारका कार्य र सदनमा आएका रचनात्मक सुझावहरूलाई आधार बनाएर आगामी बजेट निर्माण गरिने जानकारीसमेत दिए।

राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सम्बोधनमार्फत सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।