५ महिनामा सवा लाख विदेशी नागरिक ‘ट्र्याकिङ’मा

अध्यागमन विभागले कार्यान्वयनमा ल्याएको अनुगमन प्रणालीमार्फत पाँच महिनामा सवा लाख विदेशी नागरिकको अभिलेख संकलन भएको छ।

काठमाडौँ– अध्यागमन विभागले विदेशी नागरिक अनुगमन प्रणाली (एफएनएमआइएस) कार्यान्वयनको प्रगतिबारे समीक्षा गरेको छ।

मंगलबार आयोजित छलफलमा हालसम्म होटल, एजेन्सी, आन्तरिक विमान कम्पनी र विदेशी नागरिकलाई सेवा प्रवाह गर्ने १ हजार ५४३ वटा सेवा प्रदायक यस प्रणालीमा आबद्ध भएको विभागले जानकारी दिएको छ। प्रणालीमा ९४ वटा होटल मात्र आबद्ध भएको पनि जानकारी दिइयो।

यसैगरी प्रणालीमार्फत करिब १ लाख २५ हजार यात्रुको अभिलेख संकलन भएको जनाइएको छ। उक्त प्रणाली सन् २०२६ जनवरी १ देखि काठमाडौँका तारे होटल र मार्च १ देखि विदेशी नागरिकलाई सेवा प्रवाह गर्ने सबै सेवा प्रदायकमा लागू भएको छ।

विदेशी नागरिकको सुरक्षा, राष्ट्रिय सुरक्षा, गतिविधिको अनुगमन तथा अपराध नियन्त्रणका साथै, मुलुक पर्यटकीय दृष्टिकोणले सुरक्षित छ भन्ने सन्देश दिने उद्देश्यले यो प्रणाली लागू गरिएको विभागका प्रवक्ता टीकाराम ढकालले जानकारी दिए। सबै होटल संघ र एसोसिएसनसँग नजोडिएका कारण प्रणालीमा आबद्ध हुने होटलको संख्या कम भएको, सचेतनाको कमी र साना होटल आबद्ध हुन नसकेका विषयमा पनि गम्भीर छलफल भएको उनले बताए।

आजको छलफलमा होटलको अनुगमन गर्ने पर्यटन विभाग र अन्य अनुगमनकारी निकायले अनुगमनमा तीव्रता दिने निर्णय भएको प्रवक्ता ढकालले जानकारी दिए। “होटल लगायत अन्य प्रकृतिका सेवा प्रदायकहरूलाई प्रणालीमा आबद्ध गर्न विभिन्न स्थानमा सचेतना कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ”, उनले भने, “यो प्रणाली राष्ट्रिय सुरक्षाको विषय पनि भएकाले यसमा सबैलाई आबद्ध गराउन विभागले अन्य उपायको खोजी गरिरहेको छ।”

छलफलमा गृह मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटन विभाग, आन्तरिक राजस्व विभाग, होटल एसोसिएसन नेपाल, होटल व्यवसायी महासंघ, पर्यटक प्रहरीलगायत निकायको सहभागिता थियो। त्यस क्रममा आन्तरिक राजस्व र पर्यटन विभागबाट होटललाई प्रवाह हुने सेवासँग प्रणालीलाई आबद्ध गर्ने र भिसा आवेदनकै समयमा होटल छनोट गर्ने व्यवस्था लागू गर्ने विकल्पमा समेत छलफल भइरहेको जानकारी दिइयो।